Sunday, September 29, 2024

दुई पटक किन भत्कियो सिक्टाको नहर ? ऊर्जा मन्त्रालयकाे छानबिन समिति गठन

काठमाडाैं–बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मुल नहर दोस्रो पटक भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

पछिल्लाे पटक भत्किएकाे सिक्टाकाे नहर।

नहर परीक्षणको क्रममा १४ असार २०७३ र पछ्ल्लोि पटक ७ साउन २०७५ मा  भत्किएपछि ऊर्जाले मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा मन्त्रालयका दुई र सिँचाइ विभागका दुई अधिकारी तथा एक जना विज्ञ रहेका छन्। समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

नहरको क्षमता ५० क्युबिट मिटर (क्युमेक्स) रहेको दाबी गरिए पनि पछिल्लो पटक ४ क्युमेक्स पानी छोड्दा भत्किएको थियो।

पढ्नुहोस् : किन भत्किन्छ सिक्टाको नहर?

परीक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि आयोजनाको गुणस्तर छानबिन गर्न माग भइरहेका बेला मन्त्रालयले समिति गठन गरेको हो। पछिल्लो पटक ढकेरी नजिकै नहर भत्किएको थियो।

दुई वर्षअघि परीक्षणको क्रममा नहर भत्किएपछि कालिका कन्स्ट्रक्सनले मर्मत गरेपनि हाल आएर हस्तान्तरण भइसकेकाले मर्मत नगर्ने बताउँदै आएको छ।  तर, हाल नहर हस्तान्तरण गरेको १८ महिना भइसकेपछि भत्किएकाले निर्माण कम्पनीलाई दोष दिन नमिल्ने कन्स्ट्रक्सनका निर्देशक युवराज कार्कीकाे तर्क छ।

फेरि नहर भत्किएपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्। नहरको संरचना कमजोर हुँदा ढकेरी, बालापुर, गुरुवागाउँमा नहर पस्न सक्ने जोखिम रहेको स्थानीय बासिन्दा बताउँछन्।

यसअघि १४ असार २०७३ ढकेरीस्थित झिझरी खोला नजिक मुल नहर भत्किएको थियो। हाल सिंचाइ विभागका महानिर्देशक रहेका सरोज पण्डित त्यति बेला सिक्टा आयोजनाका प्रमुख थिए। नहर भत्किए पछि सिंचाइ विभागबाट निरीक्षण टोली समेत पुगेकोे थियो। तर, नहर किन भत्किएको हो भनेर सार्वजनिक गरिएन।

करीब १२ अर्ब ८० करोडको लागतमा २०७० सालको माघसम्म नहरको मुख्य निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य लम्बिदा २०७५ असार मसान्तसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ।

लक्ष्य अनुसार काम नहुँदा लागत दोब्बर वृद्धि भइ २५ अर्ब २ करोड पुग्ने अनुमान गरिएको छ, भने आयोजना आर्थिक वर्ष २०७६-०७७ सम्म पूरा हुने लक्ष्य लिइएको छ।

पढ्नुहोस् : सिक्टामा १३ वर्षमा १४ अर्ब स्वाहा, निर्माण ५६ प्रतिशत मात्रै 

ताजा समाचार

सम्बन्धित समाचार