Wednesday, October 30, 2024

प्रदूषण नियन्त्रण शुल्कवापत पचास पैसा

इलाम – इलाम नगरपालिकाले डिजेल र पेट्रोल प्रयोग गरेबापत प्रतिलिटर ५० पैसा कर लगाएको छ। नगरपालिकाले डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको हो। नगरपालिकाले नेपाल आयल निगमलाई पत्र नै लेखेर त्यस्तो कर लिइने भएकाले सहयोग गरिदिन भनेर अनुरोध गरेको छ ।

इलाम नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ। नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदूषण नियन्त्रण शुल्क भनेको छ। नगरपालिकाको सचिवालय बैठकले ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने निर्णय गरेको हो।

नगरवासीले नगरपालिकालाई कर मात्र बढाउने नभई सुविधा पनि दिन माग गरेका छन्। इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले प्रदूषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा विरोध गर्नुपर्ने कारण नरहेको बताए। इलाम नगरपालिकाभित्र बिब्ल्याँटे र इलाम बजारमा गरी दुई पेट्रोल पम्प सञ्चालनमा छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार