Sunday, September 29, 2024

नेपालगञ्जलार्इ हरियाली बनाउन अभियान

नेपालगञ्ज–नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ।

पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिनप्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ।

आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ। ‘सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरका टोलटोलका सडक किनारमा रुख रोप्न थालेका छौं,’ मेयर डा धवलशम्शेर राणा भन्छन्।

नगरलाई हरियाली बनाउन थुप्रै चुनौती छन्। अधिकांश साँघुरा बस्तीमा विरुवा रोप्ने ठाउँ बाँकी नराखी बनाइएका सडक र नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन। ‘त्यसको कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ, मेयर राणाको कथन छ।

शुरुवाती चरणमा नेपालगञ्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोप्न थालिएको छ। नगरपालिकालाई नेपालगञ्ज उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रपलगायतका संस्थाले सघाएका छन्।

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले यहाँको तापक्रम बढ्दै छ। जसका कारण नेपालगञ्जमा अहिले अत्यधिक गर्मी बढेको अनुभूति गरिएको छ। ‘हरियाली अभियानमा नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ,’ उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य भन्छन्।

नेपालगञ्ज नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था पनि गरेको छ। तर घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका लागि नगरपालिकाले पालना गराएको भने पाइँदैन। मेयर राणा भन्छन्, ‘यसको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौं। जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार