रत्ननगर – पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।
निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। बाघलाई अहिले निकुञ्जको खोरमा राखिएको छ।
भरतपुर महानगरपालिका–२५ राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार घाँस काट्न गएकी २५ वर्षीया शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो । उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको ढकालले बताए। अन्दाजी १०–१२ वर्ष उमेरको सोे बाघ आफ्नो क्षेत्र बनाएर बस्न नसकेकाले बाहिर आएको हुन सक्ने निकुञ्जले जनाएको छ।
यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि पूर्वी चितवनबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको एउटा बाघ केही दिनअघि घाउको संक्रमणबाट मरेको थियो। रासस