Wednesday, October 30, 2024

पत्रपत्रिकामा आज : पहिरोको जोखिममा विद्यार्थी, नदीकिनारका बस्ती भयभीत

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयका समाचार छापेको छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा पहिरोको जोखिममा विद्यार्थी शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । अविरल वर्षाले तल्लो भूभाग भासिँदै गएको छ । धाँजा फाटेको र पहिरो गएको जमिन हेर्दै कलिला बालबालिका कक्षाकोठामा बस्छन् । थामी जातिको बाहुल्य दुर्गम कर्थली गाउँको बुदेपास्थित सुनकोसी माविमा दिनपिच्छै यस्तो दृश्य देखिन्छ ।

यहाँका ३ सय बालबालिका यस्तै जोखिम मोल्दै अध्ययन गर्न बाध्य छन् । प्रधानध्यापक कृष्णप्रसाद दंगालका अनुसार बालबालिकाले ढुक्कसँग बसेर पढ्ने अवस्था छैन । भवननजिक करिब एक किमि पहिरो झरेको छ । ‘विद्यालय अन्यत्र सार्न पनि गाह्रो छ, पहिरोको अवस्था हेरेर स्कुल चलाउनुपर्ने अवस्था छ,’ उनले पहिरो देखाउँदै भने, ‘शिक्षाले बनाउन लागेको भवन निर्माणमा समेत यसैको जोखिमले रोकिन पुगेको छ ।’ विद्यालय आउने गोरेटो पनि पहिरोले बगाउँदा बालबालिका त्रासिद भएको उनले बताए । कक्षा ४ मा अध्ययनरत सन्तोषी थामीले डरले पढाइमा ध्यान दिनै नसकेको सुनाइन् । ‘आउजाउ गर्न मन मरिसक्यो, पढ्नु कसरी,’ उनले भनिन् । उनीजस्ता यस क्षेत्रका सबै बालबालिकाको ध्यान पहिरोमा छ । दिनहुँको कटानमा विद्यालय पर्दै जाँदा कसैले सहयोग नगरेको उनले गरे ।

टाढाबाट आउने बालबालिकालाई बर्खाले बाटो क्षतिग्रस्त बनाएपछि सकस भएको बाह्रबिसे राम्चेका शिक्षक ठाकुरप्रसाद ढकाल बताउँछन् । ‘यहाँ मात्रै घण्टौं हिँडेर आउने बालबालिकालाई ठूलो समस्या छ,’ उनले भने । विद्यालय निर्माण सुस्त गतिमा हुनाले बनिरहेको भवनमा अध्यापन गराउँदा बालबालिकालाई कठिन भएको उनले बताए । ‘कक्षाभित्र पानीको ताल बस्न थालेपछि राम्रो तरिकाले पढाउनसमेत सकेका छैनौं,’ उनले भने ।

त्यस्तै दुई दशकमा पनि डीपीआर बनेन शिर्षकमा मेनुका ढुंगानाको समाचार छापिएको छ । सरकारको ऊर्जा जलस्रोत र विद्युत् विकास विभागअन्तर्गत अछामको बूढीगंगा जलविद्युत् आयोजनाको अध्ययन सुरु भएको दुई दशक बितिसक्दा पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुन सकेको छैन । सरकार आफैंले निर्माण गर्ने भनिएको २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको हो । २०७३ सालमा अध्ययन सम्पन्न हुने र २०७६ सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म अध्ययन नै सम्पन्न भएको छैन ।

सन् १९९७ मा सम्पन्न सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययनअनुसार अनुमानित कुल लागत नेपाली मुद्रामा करिब ६ अर्ब रुपैयाँ रहेको आयोजनाका प्रमुख सञ्जय ढुंगेलले बताए । आयोजना निर्माणको कुल लागतमा प्रसारण लाइनको निर्माणको लागतसमेत समावेश गरिएको छ ।

आयोजनाको इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी आयोजनाको निर्माण विकासका लागि २०१४ जुनमा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ११ करोड २५ लाख साउदी रियाल ९३ अर्ब नेपाली रुपैयाँ० को ऋण सम्झौता भइसकेको आयोजनाका इन्जिनियर वीरबहादुर बोहराले बताए । त्यसैगरी २०१२ जुलाईमा कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टसँग ५० लाख कुवेती दिनार (१ अर्ब ८ करोड रुपैयाँ) को ऋण सम्झौता भइसकेको छ । बाँकी रकम सरकारले व्यहोर्ने ऋण सम्झौतामा उल्लेख गरिएको इन्जिनियर बोहराले बताए ।

अध्ययन सुरु भएको २३ वर्ष बितिसकेको भए पनि अहिलेसम्म जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन भने तयार भएको छैन । अस्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बूढीगंगाको डीपीआर बनाउने जिम्मा पाएका थिए । पटकपटक समय थप गरिए पनि डीपीआर तयार नभएको ढुंगेलले बताए ।

‘म अछाममा आयोजना प्रमुख भएर आएको एक महिना मात्रै भयो । यो अवधिमा काम दु्रत गतिमा अघि बढिरहेको छ । डीपीआर दसैंभन्दा अगाडि नै तयार भइसक्नेछ,’ ढुंगेलले भने, ‘त्यसपछि निर्माणको लागि टेन्डर आह्वान गरिनेछ, निर्माण सुरु भएको ३ वर्षभित्र आयोजनाको काम सम्पन्न भइसक्नेछ ।’ आफूले यसअघि केन्द्रमा बसेर बूढीगंगा जलविद्युत् आयोजनाबारे अध्ययन गरेकाले काम द्रुत गतिमा अघि बढ्ने उनले बताएको समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा पूर्वी पहाडका सडक : हिउँदमा बन्छ, बर्खामा बिग्रन्छन् शिर्षकमा समाचार छापिएको छ । इलामको माइजोगमाई गाउँपालिका–४ का वडाध्यक्ष गणेश राईले सोमबार एक सूचना जारी गरी गाउँका मुख्य कच्ची सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्। उनले जारी गरेको सूचनामा वर्षाका कारण सडक क्षतविक्षत भएकाले आउँदो भदौ ३० गतेसम्म मुख्य सडकमा ट्याक्टर र ठूला सवारीसाधन सञ्चालन नगर्न भनिएको छ। सूचना अटेर गरी चलाए नियमानुसार कारबाही हुने सूचनामा उल्लेख छ।

जिल्लाका विभिन्न सडकमा यसअघि पनि स्थानीयले वर्षाका बेला सडकमा ‘ट्याक्टर निषेध’ नगरेका होइनन्। यसपटक चाहिँ वडा कार्यालयले नै उपभोक्तालाई गाडी चलाउन रोक लगाएको हो। माइजोगमाई गाउँपालिकाले बितेको आर्थिक वर्ष २०७४र०७५ मा सबैभन्दा प्राथमिकतामा राखेको काम नै सडक विस्तार र स्तरोन्नति थियो। त्यो वर्ष दर्जनौं सडकमा यो गाउँपालिकाले करोडौं रुपैयाँ लगानी गर्यो। तर, वर्षा लागेपछि त्यही गाउँपालिकाका एक वडाध्यक्षले सूचनै निकालेर सडक बिग्रिएका कारण गाडी नचलाउन उर्दी जारी गरेका छन्।

इलामकै देउमाई नगरपालिकाले बितेको आर्थिक वर्ष गाउँ–गाउँ पुग्ने सडक फराकिलो बनाउने अभियान चलायो। गएको हिउँदभर ‘देउमाईको १० मिटरे सडक’ जिल्लाभर चर्चाको विषय पनि बन्यो। किनभने, ग्रामीण तहमा १० मिटर फराकिला कच्ची सडक ‘विकासकै नमुना’ थिए। गाउँमा यत्तिको फराकिला सडक नभएकाले अब स्थानीय तहका जनप्रतिनिधिले ‘केही गर्लान्’ भन्ने आशा सर्वसाधारणमा पलायो। तर, पाँच महिना नबित्दै ती सडक गाडी गुडाउने सडक नभई ‘रोपाइँ गर्ने खेत’झैं भएका छन्। नयाँ खनिएका ट्र्याकमा त गाडी चल्न सकेनन् नै, विस्तार गरिएका सडक पनि हिलाम्मे भएर अहिले बन्द छन्।

इलामकै सन्दकपुर गाउँपालिकाको सडकको हालत पनि त्यसभन्दा खासै फरक छैन। जैविक विविधतामा धनी भए पनि पूर्वाधारका हिसाबले पछि परेको सन्दकपुरले सडक निर्माणलाई नै प्राथमिकता दियो। करोडौं रुपैयाँ नयाँ सडक निर्माण र पुराना सडक स्तरोन्नतिमा खर्च भयो। तर, असार लागेपछि ती सबै सडकमा सवारीसाधन ठप्प छन्। मर्मत गरिएका सडक पनि निरन्तर वर्षाले पुरानै हालतमा पुग्न लागेका समाचारमा उल्लेख छ ।

उपत्यकामा डुबान : नदीकिनारका बस्ती भयभीत शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ ।
अविरल वर्षाले काठमाडौं उपत्यकाका नदीकिनारमा रहेका सुकुमबासी बस्ती डुबानमा परेका छन्। आइतबार रातिदेखिको अविरल वर्षाले बागमती, विष्णुमती, धोवीखोला र हनुमन्ते खोलाको बहाव बढेसँगै तिनको किनारका बस्तीमा त्रास बढेको छ।

थापाथलीस्थित सुकुमबासी बस्तीका रन्जित विकले अविरल वर्षासँगै नदीकिनारका बस्ती जोखिममा परेको गुनासो गरे। ‘पानी दर्किएसँगै रातभर निदाउनै पाएनौं,’ उनले भने, ‘कति बेला बाढी आएर लैजाने हो भन्ने चिन्ताले रातभर आँखा चिम्म पनि भएन।’

शान्तिनगरको बागमती नदीकिनारमा बसोवास गर्दै आएकी सानुमाया परियारले पनि बागमती नदीमा पानी बढेसँगै डरले थर्थर कमाएको बताइन्। ‘पानी दर्केसँगै मन थररर काम्ने गर्छ,’ उनले भनिन्, ‘के गर्नु, रहरले नदीको किनारमा टहरा बनाएर बसेका होइनौं। बाध्यता भएपछि जतिसुकै कष्ट बेहोर्दै बाँच्नुपर्ने रहेछ।’ उनले नदीकिनारमा बस्दै आएका सुकुमबासीलाई स्थानान्तरण गर्न सरकारसँग माग गरिन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–५ का धनकुमार मैनालीले डुबानका कारण घर तथा सडक जलमग्न भएको बताए। ‘बाढीले ललितपुर जिल्लाको अधिकांश क्षेत्र डुबानमा परेको छ,’ उनले भने, ‘कुनैकुनै ठाउँमा पानीको सतह १० फिट माथिसम्म आइपुग्यो ।’ बाढी आएपछि ललितपुरमा गोदावरी खोलाले बा१४च ४७४९ नम्बरको निजी कार बगायो। बग्दै केही तल पुगेको कार खोलामा पानीको बहाव घटेपछि क्रेनको सहायताले बेलुकापख निकालिएको छ।

आइतबार बेलुकादेखिको वर्षाका कारण काठमाडौंका शान्तिनगर, बल्खु तरकारी बजार, ललितपुरको लुभु, गोदावरी, सानागाउँ, इमाडोल, राधेराधे, हुनुमन्ते खोला आसपासको क्षेत्र डुबानमा परेका थिए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अविरल वर्षाका कारण शान्तिनगर, थापाथली र बल्खुको नदीकिनारका बासिन्दा प्रभावित भएको बताए। ‘अत्यधिक वर्षाका कारण होचो स्थानमा रहेका बस्तीमा डुबान समस्या देखियो। डुबानले सडक तथा घरघरमा पानी पसे पनि ठूलो मात्रामा क्षति भने हुन पाएन,’ उनले भने, ‘केही स्थानका सडक तथा घर जलमग्न देखिए।’ उनका अनुसार बल्खु तरकारी बजार क्षेत्रका १० घर डुबानमा परेका थिए। यस्तै पहिरोका कारण तारकेश्वर नगरपालिकाको रामकोटमा एक घरमा सामान्य क्षति पुगेको छ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा १३३ किलोमिटर पार गर्न १० घन्टा शिर्षकमा श्याम खतिवडाको समाचार छापिएको छ ।
ठेकेदारले भत्काएर छाडेको दोलखाको मुख्य प्रवेशमार्ग लामोसाँघु–चरिकोट हुँदै दोलखा पुग्न ठूलो सकस हुने गरेको छ । १३३ किलोमिटरको यो मार्ग ३.५ देखि चार घन्टामा पार गरिसक्ने भए पनि अहिले सातदेखि १० घन्टा लाग्ने गर्दछ । तीन वर्षअघि सडक विभागले स्तरोन्नतिसहित सडक चौडा र कालोपत्रे गर्न ठेक्का लगाएको यो सडकमा ठेकेदारको लापरबाहीकै कारण यात्रुहरूले सकस व्यहोर्नुपरेको हो ।

सडकखण्डको विभिन्न ठाउँका ठूला पहिरो र भत्काएर हिलाम्मे बनाइएको सडकमा अचेल ठूला बस र केही मालवाहक गाडीबाहेक साना र दुई पांग्रे गाडी मुडे–खाडीचौर हुँदै आउजाउ गर्नै सक्दैनन् । सडकको दुरावस्थाका कारण ठूला बसहरू राजधानी पुग्न सातदेखि १० घन्टासम्म लाग्ने गरेको रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

अस्तव्यस्त सडकका कारण हजारौँ यात्रुसँगै यातायात व्यवसायीले समेत ठूलो पीडा व्यहोर्नुपरेको उनको भनाइ छ । ‘दुईपांगे्र साथै चारपांग्रे र हलुका खालका सवारीसाधन मन्थली, खुर्कोट हुँदै यात्रा गर्छन्,’ आचार्यले भने । भत्काएर छाडिएको सडक हिलो र खाल्डाखुल्डीले आउजाउ गर्नै नसक्ने भएको छ ।

ठेकेदारले भत्काइदिएको सडक वर्षायाममा नचल्दा दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । दोलखामै निर्माण हुँदै गरेको माथिल्लो तामाकोसीसहितका विद्युत् आयोजनाका सामान ढुवानी प्रभावित बनेको छ । पर्यटन व्यवसाय ठप्प बनेको छ । एकै दिनमा पुग्ने मालवाहक गाडीहरू बीचबाटोमै फस्नाले राजधानीबाट चरिकोट पुग्न पाँच दिनसम्म लगाउने गरेका छन् ।

मालवाहक गाडीको भाडा बढ्दा हरेक सामानको मूल्य आकासिएको चरिकोटका व्यवसायी विवेक केसीले बताए । उनका अनुसार सडकमार्गकै कारण जिल्लामा महँगी बढेको छ । ‘पहिले दुई रुपैयाँ प्रतिकेजी भाडा लिएर मालवाहक गाडीले राजधानी र बनेपाबाट सामान ओसार्थे,’ दोलखा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका केसीले भने, ‘अहिले प्रतिकेजी ३ रुपैयाँ ५० पैसासम्म लिन्छन् ।’

सडक विभागको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख केदार नेपालले ठेकेदार कम्पनीकै उदासीनताले सडक निर्माण ढिलाइ भएको सुनाए । झन्झटिलो प्रक्रियाका कारण ठेकेदारलाई कामप्रति उत्तरदायी बनाएर लगाम लगाउन नसकिएको उनले स्वीकार गरे । नेपालले सडकको दायाँबायाँका संरचना, पर्खाल, नालालगायतका काम अधिकांश स्थानमा निर्माण भइसकेकाले अब सडकमा ग्राभेल बिछ्याउने र कालोपत्रे गर्ने काम मात्र बाँकी रहेको सुनाए । ‘मंसिरसम्म ग्राभेल बिछ्याउने र चैतभित्र कालोपत्रे गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएकाले चैतसम्म पूरा हुन्छ भन्ने आश छ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार