काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा घरमाथि भासियो कहाँ जाने ? शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । भोटेकोसी गाउँपालिका लिस्तीकोट पाउगुुम्बाकी सेलू तामाङ बर्खा लाग्नासाथ तर्सिन्छिन् । उनको बस्तीमाथिको पहाडी भूभाग बर्सेनि भासिएको छ । ०७२ को विनाशकारी भूकम्पपछि बर्खापिच्छै खसिरहने पहिरोले भागेर बाँचेकी उनले यो वर्ष पनि चैनको सास फेर्न पाइनन् । जेनतेन भास्सिएको जग्गामा खनजोत गरेर घर चलाइरहेकी सेलू यो बर्खा भागेर कहाँ जाने भन्नेले पिरोलिन थालिरहेकी छन् ।
‘खै कहिले पाइएला सुरक्षित बास ? यत्तिकै भाग्दाभाग्दै लडेर मरिएलाजस्तो छ,’ सेलूले बस्तीतिर देखाउँदै भनिन्, ‘त्यो डाँडो खस्यो भने हामी कहाँ भाग्ने ?’ लिस्तीकोटगाउँबाट अन्यत्र जान कुनै ठाउँ नभएपछि जोखिममै बसिरहेको उनले सुनाइन् ।
‘अब पहिरोमुनि कसरी घर बनाउनु, आवास निर्माणको किस्ता त बैंकमै थन्काएको छु,’ उनले भनिन् । उनका अनुसार भूकम्पले पाउँगुम्बा टोलको भूभाग ६ फिट भास्सिएको छ । गत बर्खामा नोकाङडाँडाबाट ओइरिएको भल र पहिरो भास्सिएको खाल्डोमा पसेर झनै जमिन फाटिँदै गयो ।
भोटेकोसी गाउँपालिका दशकिलोका नोर्साङ शेर्पा यस्तै दोहोरो त्रासमा गाउँमै बसिरहेका छन् । ‘तलबाट बाढीले कटान गर्ने डर, माथिबाट खोल्सासँगै खस्ने पहिरो, बर्खाको समय डरमै बित्छ ,’ उनले भने । अविरल वर्षाका कारण बढेको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको बाँधस्थलबाट खोला फर्केपछि आधा जमिन भास्सिएको छ । माथिल्लो भेगमा बसिरहेका तामाङ र शेर्पा समुदायका ४५ परिवारको बस्ती भाँसिदै गइरहेको उनले बताए । भोटेकोसीभित्रको तातोपानीको दुगुना, फुल्पिङकट्टी, लिस्तीकोटको पाउँगुम्बालगायत दर्जनौं स्थान पहिरोले छियाछिया छन् । हुनेखाने राजधानी बसे पनि विपन्न वर्गका विस्थापित सुरक्षित जग्गाको अभावमा पहिरोमुनिकै गाउँ फर्केका छन् ।
‘हामी पहिरोमुनि नै बसिएको छ, कतै जान सुरक्षित स्थान पाइएन्,’ बाह्रबिसे नगरपालिका गाती माख्लो सिर्गाचेकी सरिता तामाङले सुनाइन् । बाह्रबिसे नगरपालिकाको गाती सिगार्चे, पलाती, घुम्थाङको डाँडागाउँ पहिरोले क्षतविक्षत गरेको छ । जुगल गाउँपालिकाको सेलाङ, गुम्बा, बतासेदेखि पाङताङबाट आएका विस्थापित पहिरोले तहसनहस भएकै स्थानमा फर्किन थालेका समाचारमा उल्लेख छ ।
त्यस्तै फेरि डुब्यो भक्तपुर शिर्षकमा लीला श्रेष्ठको समाचार छापिएको छ। भक्तपुर नगरपालिका–१ सिर्जनानगरकी विद्या भण्डारी शनिबार रातभर निदाउन सकिनन् । रातभरको अविरल वर्षासँगै हनुमन्ते खोलामा आएको बहाव हेर्न राति खोलामा पुगिन् । ‘राति २ बजे खोलाछेउ पुग्दा पानीको बहाव बढेको थिएन,’ उनले भनिन्, ‘खोलाबाट फर्किएर केहीबेर ओछ्यानमा पल्टिएको मात्र के थिएँ, खाटसम्म भेल आइपुग्यो ।’ गत असार २७ को बाढीका कारण डुबान खेपेको विद्याको परिवार आइतबार पुनस् सोही पीडा भोग्न बाध्य भयो ।
अघिल्लो डुबानको पीडाबाट उठ्न नपाउँदै राधेराधे सल्लाघारीलगायत क्षेत्रका बासिन्दा पुनः डुबानमा परेका छन् । आइतबार बिहान घरभित्र पसेको भेल पन्छाउँदै गरेका नेत्र खत्रीले भने, ‘न सुत्ने ओछ्यान ओभानो छ, न खाने कुरा नै केही बाँकी छ ।’ सिर्जनानगर क्षेत्रका बासिन्दाले हनुमन्ते खोलामा आएको बाढीमात्र नभई सूर्यविनायक नगरपालिकाको कटुञ्जेदेखि आउने ढलको सास्ती पनि व्यहोर्दै आएका छन् ।
‘सूर्यविनायक–तीनकुने ६ लेन सडकखण्डअन्तर्गत राधेराधेस्थित पुल निर्माण गर्दा बस्तीको ढल निकास थुनियो,’ स्थानीय दुर्गा भण्डारीले भनिन् । अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ, ढुंगे खोलालगायतमा आएको बाढीले मध्यपुर थिमि र भक्तपुर नगरपालिका भित्र पर्ने राधेराधे, सल्लाघारी, राममन्दिर, बाराहीस्थान क्षेत्रको सिंगो बस्ती डुबानमा पर्दै आएको समाचारमा उल्लेख छ ।
नागरिक
–आजको नागरिकमा धमिलो पानी पिउँदै उपत्यकावासी शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लापारवाहीको कारणले उपत्यकाबासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य भएका छन् । केयुकेएल महांकाल र सुन्दरजल प्रसोधन शाखाले पानी नथिग्राइकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।
हिलो मिसिएको धमिलो पानी मानवस्वास्थ्यको लागि निकै हानीकारक रहेको चिकित्सकले बताएपनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकाबासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन्।
गोकर्णेश्वरनगरपालिका वडा नं ४ किसीगाउँका हरिप्रकाश श्रेष्ठले दिनहुँ हिलो मिसिएको खानेपानी उपयोग गर्नुपरेको गुनासो गरे ।‘विहान उठेर धारो खोल्दा हिलो मिसिएको लेदो पानी आउने गर्छ,’ उनले भने,‘ ‘बर्खायाम सुरुभएसँगै कहिल्यै सफा पानी पिउन पाएका छैनौं ।’ उनका अनुसार केयुकेएलको चरम लापारवाहीको कारणले गोकर्णेश्वरसहित उपत्यकाबासीले हिलो मिसिएको दुर्गन्धित पानी पिउन बाध्य भएको बताउँछन् ।‘सुन्दरजल प्रसोधन केन्द्रले धमिलो पानी नथिग्राइकन सोझै जनताको घरमा पठाउने गर्छ । जुन उपयोग गर्न समेत नहुने देखिन्छ,’ उनले भने,‘हिलो मिसिएको धमिलो पानी पिउनुहुदैंन भन्ने थाहा छ । तर, विकल्प नभएपछि के गर्नै सकिन्छ र ?’
उनका अनुसार पछिल्लो समय किसीगाँउ, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण, जोरपाटी लगायतका स्थानीयबासीले जोखिम मोलेर नै धमिलो पानी उपयोग गरिरहेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठ सुन्दरीजलमा रहेको पुरानो पानी प्रसोधन गर्ने फिल्टरले काम नगरेकाले धमिलो पानी आउने गरेको बताउँछन् ।‘सुन्दरीजलमा रहेको पानी प्रसोधन गर्ने फिल्टरले राम्रोसँग काम नगर्दा समस्या आएको हो,’ उनले भने,‘प्रसोधन केन्द्रले खोलाबाट आउने पानी नथिग्राइ सोझै जनताको घरदैलोमा पठाउँदा धमिलो आउने गरेको हो ।’ वडाध्यक्ष श्रेष्ठले वडा कार्यालयले हिलो मिसिएको धमिलो पानीको बारेमा बारम्बार सुन्दरीजल तथा महांकाल प्रसोधन केन्द्रलाई गुनासो गरेपनि सम्बोधन नभएको बताउँछन् । ‘पानी शुद्धिकरण गरेर मात्रै पठाउन धेरै पटक अनुरोध गरिसक्यौं,’ उनले भने,‘वडा कार्यालयको अनुरोधलाई प्रसोधन केन्द्रले वेवास्ता गर्दै आइरहेका छन् । कुन बेला वडाबासीलाई पानीजन्य रोगको संक्रमणले सताउने हो भन्ने डर लागिरहेको छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल टेकुका ट्रपिकल कन्स्ल्टयान्ट मेडिसिन विशेषज्ञ डा। अनुप बास्तोला वर्षात्को समयमा पानीजन्य रोगको उच्च हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन् ।‘वर्षायाममा खानेपानीको स्रोतमा मान्छेका तथा जनावरका मलमुत्र मिसिने उच्च जोखिम हुन्छ । त्यसैले गर्दा धमिलो पानी पिउनै हुदैंन,’ उनले भने,‘मलमुत्रकै कारणले पानीजन्य रोगको संक्रमण एक्कासी फैलिने गर्छ ।त्यसैले जहाँ पार्यो ।
त्यहीको पानी पिउनुहुदैंन । पानीलाई उमालेर वा क्लोरिनयुक्त झोर वा फिल्टर गरेर मात्रै पिउनुपर्छ ।’ वर्षात्को समयमा टाइफाइड, झाडापखला, रुघाखोकी,स्वासप्रश्वास, हैजा, आउँ, जन्डिस, भाइरल ज्वरो लगायतका रोगको संक्रमण हुने भएकाले खानेकुरा र पानीमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । ‘बर्खायामको पानी अत्याधिक मात्रामा दुषित हुने गर्छ । त्यसैले पानी उपयोग गर्दा धेरै नै सावधान अपनाउनुपर्ने देखिन्छ,’ उनले भने,‘हिलो मिसिएको धमिलोपानीमा व्याक्टेरिया धेरै हुने भएकाले पानी निर्मुलीकरण गरेर मात्रै पिउनुुपर्छ ।’ चिकित्सक बास्तोलाले वर्षायाममा पानीमा मात्रै होइन, खानेकुरामा पनि विशेष जोड दिनुपर्ने सुझाव दिएका छन् । वर्षायाम लागेसँगै पानीजन्य संक्रमणबाट लाग्ने रोगका विरामीको संख्या दिनानुदिन बढिरहेको अस्पतालले जनाएको समाचारमा उल्लेख छ।
त्यस्तै उपत्यकाको फोहोर व्यवस्थापन : तीन वर्षको विकल्प खोज्दै महानगर शिर्षकमा शिवहरि घिमिरेको समाचार छापिएको छ । उपत्यकाको फोहर ‘डम्प’ गरिँदै आएको सिसडोल भरिएपछि काठमाडौंका स्थानीय तह त्यसको विकल्पको खोजीमा लागेका छन् । बञ्चरेडाँडामा डम्पिङ साइड तयार हुन अझै तीन वर्ष लाग्ने भएपछि त्यतिञ्जेलसम्म सिसडोल नजिकै फोहर फाल्ने विकल्प खोज्न थालिएको हो।
१२ वर्षदेखि फोहोर फाल्ने ठाउँ सिसडोलमा अबको १५(२० दिनसम्म मात्रै फोहोर फाल्न सकिने काठमाडौं महानगरले जनाएको छ । विकल्पमा अर्को साइट तयार नहुँदा यही साइटको क्षमता बढाउँदै फोहोर चाङ लगाएर राख्ने गरिएको थियो । तर, अहिले सबैतिर फोहर भरिएपछि बञ्चरेडाँडा बन्द गर्नुपर्ने स्थितिमा रहेको हो।
लगानी बोर्डले काम थालेको बञ्चरेडाँडामा डम्पिङ साइड तयार हुन अझै तीन वर्ष लाग्छ । महानगरले सिसडोल नजिकै रहेको खाली ठाउँमा तीन वर्षलाई फोहर फाल्न सकिने बताउँदै आएको छ । तर, यो ठाउँ तयार हुन अझै तीन महिना समय लाग्ने अनुमान गरिएको छ ।
सिसडोल भरिएपछि त्यसको तत्काल समाधान खोज्न काठमाडौं महानगरपालिकाले गएको शुक्रबार सबै नगरपालिकालाई आग्रह गरेको थियो । बैठकमा फोहर फाल्ने विकल्प खोजी गर्न अरु स्थानीय तहले पनि सघाउनुपर्ने महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादव प्रसाद कोइरालाले बताएका थिए । उनले उपत्यकाको फोहर व्यवस्वथापनका लागि विगतमा काठमाडौं महानगरपालिका एक्लैले जिम्मेवारी लिँदै आएको भन्दै अन्य निकायले पनि त्यसमा लगानी गर्ने तत्परता देखाउनुपर्ने बताए । ‘अहिले काठमाडौं महानगरको फोहर मात्रै सिसडोल जाँदैन, यहाँका अन्य नगरपालिकाले पनि काठमाडौं महानगरलेजस्तै फोहर उत्पादन गर्छन्,’ उनले भने, ‘अब ती निकायले पनि हामीसँग सहकार्य गर्नुपर्छ ।’ उनले सिसडोल नजिकै रहेको आलेटार क्षेत्र यसको विकल्प हुने बताए।
बैठकमा उपत्यकाका सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपस्थित थिए । फोहर फाल्ने विषय उपत्यकाको मुख्य समस्या भएको भन्दै सहभागीहरूले त्यसमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका थिए । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद दाहालले ललितपुरमा फोहर फाल्ने कुनै ठाउँ नभएकाले काठमाडौं महानगरसँगै सहकार्य गरेर अघि बढ्ने बताए । ‘हामीले यसको छिटो समाधान खोज्नुपर्छ,’ उनले भने, ‘१५(२० दिनमै सिस्डोलकै छेउमा तीन वर्ष फोहर फाल्न मिल्ने नयाँ ठाउँ तयार पार्नुपर्छ।’
सिसडोल भरिएसँगै काठमाडौंको फोहर समाधानमा चुनौती थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा उक्त समस्या बल्झिएको हो । यसको समाधान गर्न ९ वर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो । तर, उक्त प्रोजेक्टले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन । महानगरले ६ महिनाअघि नै ३ महिनाभन्दा धेरैको फोहोर सिसडोलमा नअट्ने बताएको थियो । तर, ६ महिना बित्दा पनि बञ्चरेडाँडालाई तयार पार्न नसकेको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा पहिरोले धाँजा फाटेपछि १९ घरपरिवार विस्थापित शिर्षकमा समाचार छापिएको छ ।
एकसातादेखि निरन्तर पानी पर्न थालेपछि भुइँचालोले थिलोथिलो भएको खानीगाउँमा धाजा फाटेको छ । डरलाग्दो गरी गाउँभित्र धाजा फाटेपछि गाउँका १२ घरधुरी सातदिन अघिदेखि विस्थापित भएका छन् ।
धार्चे गाउँपालिका– ७ खानीगाउँमा ७३ घरधुरी बसोबास गर्छन् । ‘७३ मध्ये ११ जनाको घर पहिरोले तान्न लागेको छ’ स्थानीय सचिन गुरुङले भने, ‘जुनसुकै बेला पनि पहिरोले लान सक्ने भएपछि अति जोखिम १२ परिवारले घर छोडिसके । उनीहरु दिनभरि बारीको काम जान्छन् । रातको समयमा आफन्तको घरमा बस्न जान्छन् ।’
पुन्दराम गुरुङ, सेते गुरुङ, चित्रा गुरुङ, कान्छा गुरुङ, माहिला गुरुङ, चन्द्रमान गुरुङ, शेरमान गुरुङ, गर्बु गुरुङ, मन्थल गुरुङ, बनघरे गुरुङ, सुकपल गुरुङ, कान्छा गुरुङ, उतपाल गुरुङ, आशबहादुर गुरुङ, सोममाया गुरुङ, बिमान गुरुङ, बिमाया गुरुङ, सचिन गुरुङ र बिसराम बिकको परिवार विस्थापित भएको उनले बताए । ‘साँझ बिहानको खाना खान मात्र घरमा आउँछन्, बाहिरै काम गर्छन्, बाहिरै बस्छन्’ गुरुङले भने
जोङकङडाँडाबाट झरेको पहिरोले गाउँभित्र धाजा फाटेको स्थानीयको भनाइ छ । तीनवर्षअघिको भूकम्पले जोङकङडाँडा करिब तीनसय मिटर होचो हुने गरी पहिरो गएएपछि डाँडाभन्दा तल रहेका बस्तीका बासिन्दा त्रसित भएको समाचारमा उल्लेख छ ।
त्यस्तै ११२ वनकाे वैज्ञानिक व्यवस्थापन शिर्षकमा लक्षमण पाेखरेलकाे समाचार छापिएकाे छ । वनकाे दीगाे व्यवस्थापनका लागि प्रदेश ५ का एक सय १२ वटा वनकाे वैज्ञानिक वन व्यवस्थापन गरिएकाे छ । रूख उत्पादन बढाउँदै काठकाे उच्चतम प्रयाेग गर्ने उद्देश्यसहित वन व्यवस्थापन सुरू गरिएकाे हाे । ०६८ देखि सुरू भएकाे वन व्यवस्थापनबाट नयाँ रूख उत्पादन र वनबाट बढीभन्दा बढी अाम्दानी लिने अपेक्षा छ । प्रदेश ५ का तरार्इसँग जाेडिएका वनकाे बुट्यान र धाेद्रे रूख काट्दै नयाँ रूख उत्पादन गर्ने याेजनासहित सुरू भएकाे व्यवस्थापन विस्तार हुँदै गएकाे समाचारमा उल्लेख छ ।