Sunday, September 29, 2024

दरबार हाइस्कूलको पुनर्निर्माण तीन वर्षपछि शुरु

काठमाडौं–१२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको राजधानी काठमाडौंस्थित दरबार हाइस्कूल (भानु माद्यमिक विद्यालय) को पुनर्निर्माण शुरु भएको छ।

दरबार हाइस्कूलकाे पुनर्निर्माण शिलान्यास कार्यक्रम। तस्बिर साैजन्य : चन्द्रमणि भट्टरार्इ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार संयुक्त रुपमा पुनर्निर्माणकाे शिलान्यास गरेका हुन्। मन्त्री पाेखरेलले सुरक्षित र व्यवस्थित पूर्वाधारमा मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए।

४ हजार २ सय स्क्वायर मिटरमा निर्माण क्षेत्र रहेको यस परियोजनामा ४ तले भवन बन्नेछ। ४० वटा कक्षाकोठासहित निर्माण हुने यस भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो।

२० महिना निर्माण सम्पन्न लक्ष्य राखिएको भवन निर्माणको काम साङ्घाई कन्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले गर्नेछ।  लागत ८५ कराेड रहेकाे छ।

भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता भएकाे थियाे।

यसअघि स्कूलको पुनर्निर्माण आधुनिक शैलीमा गर्ने वा पुरानै शील्प र शैलीमा गर्ने भनेर विवाद थियो। काठमाडौं महानगरपालिकाले गठन गरेको जुरीले गत फागुनमा पुरानै स्वरूपमा चार तलाको बनाउनेगरी पुनः डिजाइन पेश गर्न विद्यायलाई निर्देशन दिएपछि साेही अनुसार नक्सा पास भएर हाल पुनर्निर्माणको काम अगाडि बढेको हो।

नयाँ बन्ने भवन दुईतले बनाउने कि चारतले भन्नेमा विवाद थियो। जुरीले बाहिरबाट हेर्दा दुईतले देखिने तर भित्र चार तला रहनेगरी डिजाइन बनाउन निर्देशन दिएपछि सोहीअनुसार पुनर्निर्माण थालिएको हो।

१ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो। १८५४ मा तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेर राणाले दरबार हाइस्कुलको स्थापना गरेर नेपालमा औपचारिक शिक्षाको आरम्भ गरेका थिए।

त्यसबेला दरबार हाइस्कुल दुईतले थियो।  यहाँ भानु मावि र संस्कृत मावि गरी दुई विद्यालय सञ्चालनमा छन् ।

ताजा समाचार

सम्बन्धित समाचार