Wednesday, October 30, 2024

पत्रपत्रिकामा आज : फोहोरबाट प्रांगारिक मल, आयोजना नै जोखिममा

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

कान्तिपुर
–आजको कान्तिपुरमा गुहयेश्वरी सत्तल मापदण्डविपरीत शिर्षकमा दामोदर न्यौपानेको समाचार छापिएको छ। गुहयेश्वरीमा पुजारी र सुरक्षाकर्मी बस्न बनाइएका ऐतिहासिक सत्तल पुरातात्त्विक मापदण्डविपरीत छन् । साढे तीनतले सत्तल घटाएर साढेदुई तले मात्रै बनाइएको छ । सत्तलको चौडाइ पनि घटाइएको गुहयेश्वरीका पुजारी अभिषेख कर्माचार्यले जानकारी दिए ।

गुहयेश्वरीमा काठमाडौं, भक्तपुर र ललितपुरका कर्माचार्यले पूजा गर्दै आएका छन् । पुजारी बस्ने व्यवस्था सत्तलमै छ । सत्तलमा तीन कबल छन् । ती तीन कबल भक्तपुर, ललितपुर र काठमाडौंका लागि छुटयाइएका हुन् । पुजारी हरेक महिना फेरिन्छन् । हरेक महिना एउटा कबलमा एउटा जिल्लाका पुजारी बस्छन् । यहाँ २७ पुजारी बस्छन् । एउटा कबलमा ९ पुजारी बस्छन् । ‘साँघुरो भयो अब,’ कर्माचार्य भन्छन्, ‘बस्न समस्या हुन्छ ।’ साँघुरो मात्र होइन, बाहिरी भित्री स्वरुप पनि परिवर्तन गरेको कर्माचार्य बताउँछन् । ‘पहिला पुजारी बस्न भित्र ठूला कबल थिए,’ उनी भन्छन्, ‘अब कबल नभई कोठा जस्ता हुने भए भित्री संरचना पनि । हेर्दै दिक्क लाग्दो छ ।’

यहाँ ४ सत्तल छन् । तीमध्ये उत्तरतिरको सत्तल पुजारीका लागि छुट्याइएको हो । पश्चिमको सत्तलमा देवपाल बस्छन् । दक्षिणको सत्तल पाटका लागि छुट्याइएको छ । उत्तरी सत्तलमा भक्तपुर र काठमाडौंका पुजारी बस्छन् । देवपालको पनि १५र१५ दिनमा पालो पर्छ ।

यो मन्दिर हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बी पनि पूजा गर्छन् । वैदिकहरूले दुर्गा, काली र पार्वतीका रूपमा पुज्छन् । बौद्ध धर्म मान्नेले चाहिं नैरात्माका रूपमा पूजा गर्ने चलन छ । यी क्षेत्रको रेखदेख पशुपति क्षेत्र विकास कोषले गर्दै आएको छ । यो सत्तलको पुनर्निर्माण पनि पशुपति क्षेत्र विकास कोषले गरेको हो । कोषका सदस्यसचिव प्रदीप ढकालले गुहयेश्वरी मापदण्डविपरीत बनाएको बारे अनविज्ञता जनाए । ‘मापदण्डविपरीत बनेको छ र?’ उनले भने, ‘खै मलाई त थाहा छैन ।’ ढकाल कोषको सदस्य सचिव बन्नु पहिला नै (२०७३ सालमा) यसको निर्माण सुरु भएको हो । यी सत्तलमध्ये एउटाको छानो राख्ने काम सकिएको छ । एउटाको छानो राख्ने काम धमाधम भइराखेको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदाजस्तो छ त्यस्तै बनाउनुपर्छ । ‘सम्पदा संरक्षण भनेको जस्तो छ, त्यस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हो,’ पुरातत्त्वविद् भीम नेपाल भन्छन्, ‘संरक्षणको सिद्धान्त पनि यही हो । सम्पदा तोडमोड गर्नु भनेको सम्पदाको मूल्यमान्यता विपरीतको काम हो । सम्पदा मास्नु हो ।’

यी सत्तल झन्डै ३ सय वर्ष पुराना हुन् । पुजारी कर्माचार्यका अनुसार यी सत्तलको निर्माण भक्तपुरका राजा भूपतीन्द्र मल्लले बनाएका हुन् । भूपतीन्द्र विसं १७५३ मा २२ वर्षको उमेरमा भक्तपुरका राजा भएका थिए । उनको शासनकालमा भक्तपुरको कलाकृतिको निकै विकास भएको समाचारमा उल्लेख छ ।

त्यस्तै फोहोरबाट प्रांगारिक मल शिर्षकमा फातिमा बानुको समाचार छापिएको छ। रोजगारीको खोजीमा चितवनदेखि काठमाडौं पसेका अमर लामालाई आजभोलि कामको चाप छ । गल्ने फोहोर छान्ने, मेसिनबाट घाँसपात मसिनो बनाउने अनि थुप्रो बनाएर खाल्डोमा हाल्ने । उनको दिनचर्या यतिमै सकिँदैन । थुप्रोलाई ओल्टोपाल्टो पार्ने, त्यसमा औषधि र पानीको मात्रा मिलाएर हाल्ने । एक थुप्रोलाई २ महिनाजति यस्तै मिहिनेत गरेपछि बन्छ– प्रांगारिक मल । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) सँग आबद्ध उनी यही मल प्रयोग गरी तरकारी बाली र फूलबारी पनि स्याहार्छन् । हाँसपालन पनि गरेकै छन् । हाँस चराउने, दानापानी खुवाउने पनि उनकै जिम्मेवारी हो । चोभारस्थित वागमतीको किनारमा यी सबै काम हुन्छन् । उनी त्यहीं काम गर्ने र बस्ने गर्छन् । ‘फोहोर नै मोहोर’ भन्ने भनाइ सार्थक बनाएका छन् । उनी भन्छन्, फोहोर पनि यति काम लाग्ने चिज हो भनेर थाहा थिएन, आफूसहित परिवारलाई पनि यही काममा लगाउने सोचेको छु ।’ जोडले हावा चल्दा वरपरका बासिन्दा उनलाई घेर्न आइपुग्छन् । फोहोरले बस्ती नै दूषित बनायो भन्ने उनीहरूको गुनासो हुन्छ ।

२० वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आइरहेको नेप्सेम्याकअन्तर्गत ३ सय मजदुरले फोहोरबाटै आम्दानी गरी जीविका चलाइरहेका छन् । नेप्सेम्याकले उपत्यकाबाट दैनिक २ सय टन फोहोर संकलन गर्छ । नकुहिने फोहोर बेच्छ, कुहिनेबाट प्रांगारिक मल बनाएर यसकै व्यवसाय गर्छ । योबाहेक नेप्को वेप्का, जमर्कोे र काठमाडौं महानगरले पनि फोहोरबाट मल बनाउँदै आएका छन् । अघिल्लो वर्ष महानगरपालिकाले उपत्यकाको ६४ समूहलाई फोहोर वर्गीकरण गरी मल बनाउने तालिम दिएको थियो । कुहिने फोहोरबाट बनेको मल कौसीखेती र करेसाबारीमा हाल्न सकिन्छ । यसले घरबाहिर कम फोहोर त निस्कन्छ नै, मल बेच्दा आम्दानी पनि हुन्छ । ताजा तरकारी फलाएर खान सकिने समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा सिक्टा नहरमा लापरबाही : आयोजना नै जोखिममा शिर्षकमा अर्जुन ओलीको समाचार छापिएको छ । सिक्टा सिँचाइ आयोजना परीक्षण गर्ने क्रममा दुई वर्षअघि मूल नहर भत्कियो। बाँके ढकेरीस्थित झिझरी खोलाछेउमा भत्किएको मूल नहरलाई त्यतिबेला आयोजना कार्यालय र ठेकेदारले हतारमा मर्मत गरे। तर, नहरको अन्य अवस्थाबारे चासो देखाएनन्। दुई वर्षसम्म मूल नहरको अवस्था परीक्षण भएन। गत साता सिक्टाले नहर परीक्षण गर्न खोज्दा ढकेरीस्थित चंगाई नालाछेउमा भत्कियो। भत्केको नहरलाई आयोजना कार्यालयले यसपटक पनि हतारमा मर्मत गरिसकेको छ। तर, भत्केको स्थानबाहेक अन्य ठाउँको अवस्थाबारे आयोजना सम्बद्ध अधिकारीले चासो दिएका छैनन्।

राप्तीसोनारी–९ ढकेरीका स्थानीय हरि रेग्मीले मूल नहरको धेरै ठाउँ भत्किने अवस्थामा पुगेको बताए। ‘जहाँ माटो खराब छ, त्यहाँ धेरै स्थानमा नहर भत्किने अवस्थामा पुगिसकेको छ’, उनले भने, ‘आयोजनाले समयमै ध्यान दिनुपथ्र्यो, त्यो हुन सकेको छैन।’ घुलनशील माटो परीक्षण गरेर पहिल्यै नहर निर्माण गरेको भए यति चाँडै भत्किने समस्या नआउने रेग्मी बताउँछन्।

पश्चिम मूल नहरअन्तर्गत १७.७ देखि ३५ किमिको बीचमा पर्ने नहरका अधिकांश ठाउँमा भत्किने अवस्थामा पुगेको छ। नहरछेउमा रहेको माटो बगेर ठुल्ठुला भ्वाङ परेका छन् भने स्लोप चर्किएका छन्।

उक्त क्षेत्रमा बुधबार स्थलगत अनुगमन गर्दा सरोकारवाला टोलीले यस्तो तथ्य फेला पारेको हो। अनुगमनको नेतृत्व गरेका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सिक्टाको नहर जताततै भत्किने अवस्थामा पुगेको बताए । ‘राष्ट्रिय गौरवको आयोजनाको अवस्था देख्दा साह्रै चिन्ता लाग्यो’, उनले भने, ‘नहर हेर्दा दर्जनौं ठाउँ भत्किने अवस्थामा पुगेको छ, यति ठूलो आयोजना भत्किँदासमेत सरकारले चासो नबढाउनु दुःखद हो।’

मूल नहरको दुवै साइडबाट माटो बगेर स्लोप भत्किने अवस्थामा पुगेको र यसले सरकारमाथि ठूलो आर्थिक भार थप्ने उनले बताए। श्रेष्ठले भने, ‘दुईतीन किलोमिटर क्षेत्र अनुगमन गर्दा दर्जनौं ठाउँ भत्किने अवस्थामा पुगेको देखियो। पूरै नहरको अवस्था त झन् के होला?’ सरकारले यथाशक्य चाडो संसदीय छानबिन समिति गठन गरेर सिक्टाको वास्तविक कमजोरी बाहिर ल्याउनुपर्ने उनले बताए। नहर निर्मित क्षेत्रका स्थानीय बासिन्दा त्रासमा बाँच्नुपरेको श्रेष्ठले बताए। आयोजनाका इन्जिनियरहरु पनि पश्चिम मूल नहर ठाउँठाउँमा भत्किने अवस्थामा पुगेको स्वीकार गर्छन्।

त्यस्तै ठूला गाडीले कर्णाली राजमार्गमा जोखिम शिर्षकमा डिबी बुढाको समाचार छापिएको छ ।
सुर्खेत हुँदै जुम्ला यात्रामा निस्केका सिँजाका डिल्ली तिवारी दैलेख जिल्लाको दहीखोलानजिकै तीन घण्टा जाममा परे। बिहान ६ बजे यात्रा सुरु गरेका उनी समयमै घर पुग्ने आसमा थिए तर जाममा पर्दा जुम्ला–कालिकोटको सिमाना नाग्मामै बास बस्नुप(यो। कर्णाली राजमार्गमा जाम हुनुको कारण ठूला गाडीको बाक्लो आवागमन भएको तिवारीले बताए। उनले भने, ‘कर्णालीको साँघुरो सडकमा ठूला गाडीको ओहोरदोहोरका कारण यात्रुले दैनिकजसो सास्ती खेप्नुपरेको छ । यो राज्यका लागि पनि चुनौती हो।’

तिवारीले कर्णाली राजमार्गको चौडाइलाई ध्यानमा राखी उपयुक्त गाडीलाई मात्र सञ्चालन अनुमति दिनुपर्ने बताए। ‘हिउँदको समयमा त जसोतसो यात्रा सहजै हुने गर्छ’, उनले भने, ‘वर्षायाममा जताततै पहिरो जाने हुनाले ठूला गाडी आवागमनमा निगरानी राख्न जरुरी छ। यसको जिम्मेवारी कर्णाली प्रदेश सरकारले लिनुपर्छ।’ कर्णाली राजमार्गको अधिकांश स्थानमा पहिरो गएको छ। ससाना खहरे बढेर नदी जस्तै बनेका छन्। यस्तो अवस्थामा जोखिम मोलेर कर्णालीवासीले यात्रा गर्नुपरेको छ।

खत्तम बाटोमा कोचाकोच यात्रु चढाएर गाडी गुडाउने गर्दा जोखम झनै बढेको छ। राजमार्गमा डेढ दर्जनजति प्रहरी चेकपोस्ट छन् तर उनीहरुले राम्रोसँग चेक नगर्दा जोखिम नियन्त्रण हुन सकेको छैन।

जुम्लाकी गोमा कुँवर पूर्व पशुपन्छी राज्यमन्त्री हुन्। सुर्खेत हुँदै जुम्ला आउने क्रममा उनी घट्टेखोलामा एक घण्टा जाममा परिन् । उनले भनिन्, ‘कर्णालीको सडकप्रति राज्य कहिल्यै पनि सकारात्मक देखिएन, यो विडम्बना हो।’ कर्णाली राजमार्गको स्तरोन्नति गरी कर्णालीलाई पर्यटन केन्द्रका रुपमा विकसित गर्नु अहिलेको सरकारको दायित्व भएकोमा उनले जोड दिइन् । कर्णाली रारा पर्यटन वर्ष २०७५ सफल बनाउनकै लागि भए पनि यो राजमार्ग चौबीसै घण्टा बिनाअवरोध चल्न सक्ने बनाउनुपर्नेमा उनको जोड छ।

‘कर्णाली सरकारले २०७५ साललाई कर्णाली रारा पर्यटन वर्षका रुपमा मनाइरहेको छ’, कुँवरले भनिन्, ‘तर कर्णाली घुम्न आउने पर्यटकले पहिरो र जामका कारण सास्ती बेहोरिरहेका छन्। यसले पर्यटकमाझ नकारात्मक सन्देश जान सक्छ । राजमार्गमा बिनाअवरोध पर्यटकलाई कर्णाली घुम्ने वातावरण बनाउनु अहिलेको माग पनि हो।’

कर्णाली राजमार्गको दहीखोला र घट्टेखोलामा बढी नै जाम पर्छ । दहीखोला, गगनेखोला, ताडी, खल्लागाडलगायतका स्थानमा पहिरोको उच्च जोखिम छ। आकाशबाट पानी खस्नेबित्तिकै पहिरो आउने त्रास हुन्छ । राजमार्गको पिच उप्किँदै गएको छ। पहिरोल बाटो पनि साँघुरिँदैछ। पहिरो गइहालेमा पनि पन्छाउने स्काभेटर तयारी अवस्थामा हुँदैन। ट्रकलगायतका ठूला गाडीका कारण जुनसुकै समयमा कर्णाली राजमार्गमा ठुलो दुर्घटना हुन सक्ने देखिएको यात्रु बताउने समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा थबाङ सडक १ महिनादेखि अवरुद्ध शिर्षकमा खेमबहादुर बुढाको समाचार छापिएको छ । लगातारको वर्षाका कारण रोल्पाको थबाङ पुग्ने दुवै सडक अवरुद्ध भएका छन्।सडकको ठाउँ ठाउँमा पहिरो खसेर र रूख ढलेकाले अवरोध भएपछि आवागमन बन्द भएको हो।अहिले थबाङबासी सडक सेवाबाट वञ्चित भएका छन् ।

दाङबाट होलेरी हुँदै थबाङ पुग्ने सहिद मार्गको पुत्लाचौर–थबाङ सडकखण्डको दर्जनौं ठाउँमा पहिरो खसेको छ।एक महिनायता यहाँ यातायातका साधन चलेका छैनन्।पूर्वीरोल्पाको सुलिचौर–पोबाङ हुँदै थबाङ जोड्ने सडक पनि बन्द छ।पोबाङ–उवा–थबाङ खण्ड पहिरोले क्षतिग्रस्त बनेको छ ।

सडक अवरुद्ध भएपछि थबाङबासी पैदल यात्रा गर्न बाध्य छन्।मिरुल, उवा, थबाङ र पूर्वीरुकुमबासी सडकमा खसेको पहिरो र ढलेका रूख छिचोल्दै जोखिम मोलेर हिँडेका छन्।‘पहिरो र रूख ढलेर सडक भत्किएको छ।हिलाम्मे हुँदै आवतजावत गर्न बाध्य छौं’, थबाङ गाउँपालिका प्रशासन शाखाका अधिकार बुढा मगरले भने, ‘थबाङबाट हिँडेको तीन दिनपछि सदरमुकाम लिबाङ आइपुगियो ।’ उनी काम विशेषले सदरमुकाम आउन हिँडेको सडकको पहिरोमा जोगिँदै तीन दिनमा बुधबार मुस्किलले सदरमुकाम लिबाङ पुगेको बताए।बुढा मगरजस्तै यस भेगका बासिन्दाले यही कष्ट भोगिरहेका छन् ।

सदरमुकाम लिबाङबाट थबाङ ७६ किलोमिटर टाढा पर्छ।कच्ची सडक भएकाले यातायातका साधनबाट ४–५ घण्टामा थबाङ पुग्न सकिन्छ। तर सडक अवरुद्ध भएपछि हिँड्नुको विकल्प छैन। सदरमुकाम लिबाङ, दाङको घोराही र सुलिचौरबाट थबाङसम्म यातायातका साधन चल्दै आएका थिए।सडकमा ठुल्ठूला ढुंगा र पहिरो खसेर बन्द भएपछि यातायातका साधन ठप्प भएको यातायात व्यवसायी सिङाराम परियारले बताए।साना तथा ठूला सवारीसाधन थबाङसम्म जाने क्रम रोकिएको एक महिना नाघिसकेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार