गुर्जा–ढोरपाटन पदमार्ग निर्माण

म्याग्दी – जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् ।

गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण गरिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । भीर र जंगलमा नयाँ बाटो निर्माणका साथै पुरानो पदमार्गको मर्मत गरिएको हो। गुर्जाका ५० मजदुरले दुई महिनासम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका थिए भने स्थानीय उपभोक्ताले एक लाख ६० हजार बराबरको श्रमदान गरेका थिए।

थप दुई किलोमिटर पदमार्ग निर्माण तथा सुधार गरेमा गुर्जादेखि रुघाचौर तथा गुर्जाघाट हुँदै ढोरपाटन घोडा खच्चरसमेत आवतजावत गर्न सकिने वडाअध्यक्ष छन्त्यालले बताए।

गुर्जा र ढोरपाटन आवतजावतका लागि गोठालाले प्रयोग गर्दै आएको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो। पदमार्ग निर्माण पछि ढोरपाटन हुँदै गुर्जामा पर्यटक भित्र्याउन सकिने र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताइएको छ। गुर्जादेखि एक दिनमा ढोरपाटन पुग्न सकिन्छ ।

यो क्षेत्र हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जंगल, वनपैदावार र बन्यजन्तु यो पदमार्गको आकर्षण हो। यो पदमार्ग भएर अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको गुर्जा गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने वडाअध्यक्ष छन्त्याको भनाइ थियो ।

यसैबीच गाउँपालिकाको रु ११ लाख अनुदान सहयोगमा लुलाङदेखि गुर्जा जाने बाटोमा पर्ने देउरालीको धुरीदेखि गुर्जातर्फ दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । दुई किलोमिटर उकालो बाटोमा ढुंगाको सिंढी बनाएर पदमार्ग निर्माण गरिएको हो ।

खानेपानी आयोजना निर्माण
जिल्लाको मंगला गाउँपालिका–३ खानीगाउँमा रु ७२ लाखको ललागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।
गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत् रु ७२ लाखको लागतमा बफुवा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको हो ।

करिव ५९ घरधुरी लाभान्वित भएको सो आयोजनाका लागि परियोजनाले रु ४८ लाख ५० हजार सहयोग गरेको र स्थानीय उपभोक्ताले रु २४ लाख बराबरको श्रम तथा नगद गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए।
सार्वजनिक धारामार्फत् खानेपानी उपभोग गर्दै आएका खानीगाउँका बासिन्दाले घरकै धारामा नियमितरुपमा सफा र स्वच्छ पानी पाउन थालेपछि समयको बचत, सुविधासँगै सरसफाइमा राहत मिलेको छ।

उक्त परियोजनामार्फत् मंगला गाउँपालिकामा गत आर्थिक वर्षमा चार खानेपानी आयोजना सञ्चालन भएकामा बफुवासहित ४ नं वडा दुर्दीमा अर्को आयोजनासमेत सम्पन्न भइसकेको छ ।

यस्तै २ नं वडा कुकुरबिसौना र १ नं वडाको थाइवाङमा सञ्चालित खानेपानी आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको परियोजनाका गाउँपालिका संयोजक गंगाधर गौडेलले बताए। सन्तोष गौतम/रासस

ताजा समाचार

सम्बन्धित समाचार