Friday, September 20, 2024

बञ्चरेडाँडाका स्थानीयको आग्रह : ‘सकेसम्म यहाँ फोहोर नफालिदिए हुन्थ्यो’ (भिडियो/फाेटाे रिपोर्ट)


काठमाडौँ–
सरकारले काठमाडौँ उपत्यकाको फोहोर विसर्जनका लागि नुवाकाेटस्थति बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने प्रक्रिया अगाडि बढाएका बेला त्यहाँका स्थानीयबासिन्दाले विकल्प खाेज्न अाग्रह गरेका छन् ।

नुवाकाेटस्थति बञ्चरेडाँडा । तस्वीरहरू : अमिष रेग्मी

काठमाडौँ उपत्यकाकाको फोहोर व्यवस्थापनमा समस्या देखिँदै आएपछि सिसडोलको वस्तुस्थिति र बञ्चरे डाँडाको विषयमा बुझ्न त्यहाँ पुगेको हाकाहाकी टीमसँग स्थानीयले बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताएका हुन्।

१३ वर्ष अघि दुई वर्षका लागि भनेर काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडाबाट दुई किलोमिटर वर सिसडोलमा फोहोर फाल्न सुरु गरेपनि अहिलेसम्म फोहोर फ्याक्ने  काम नरोक्दा स्थानीय हैरान बनेका हुन् ।

‘त्यो बेलामा फोहोर फाल्ने वातावरण मिलाउन जनतालाई ललिपप दिएको मात्र हो, सरकारले त्यति नभनेको भए कसले आफ्नो ठाउँमा फोहोर फाल्न दिन्छ त ?’

दुई किलोमिटर टाढाको फोहोरको असर प्रत्यक्ष रुपमा खेपिरहेका बञ्चरेडाँडाका स्थानीय झन आफ्नै घर नजिक फोहोर ल्याउँदा प्रभावित हुने भएपछि अहिले सरकारले बञ्चरेडाँडालाई ल्याण्डफिल साइट नबनाइदिए हुन्थ्यो भन्ने स्थितिमा पुगेका हुन्।

फोहोरका कारण दुर्गन्ध बढ्नुका साथै वातावरणमा असर गर्ने र प्राकृतिक रुपले सुन्दर बञ्चरेडाँडा कुरुप हुने स्थानीयको भनाइ छ।

सिसडोलमा फोहोर फ्याल्नुअघि बञ्चरेडाँडा वरपर पाइने चराचुरुङ्गी अहिले पाइन छाडेको स्थानीय ईश्वर घिमिरे बताउँछन्। स्थानीय सीता घिमिरे सिसडोलको फोहोरले नै आफूहरूलाई निकै सास्ती पारिरहेको बताउँछिन्।

‘सिडसडोलमा फ्यालिएको फोहोरले गर्दा अहिले हाम्रो घरमाथि जहिले पनि गिद्ध उडिरहेको छ। खोला तरेर पारी जानै हुँदैन घाउखटिरा आउँछ, बस्तुभाउ खोलामा गयो भने बिरामी पर्छन । बन्चरेडाँडामै फाेहाेर फालेमा के हालत होला?,’ दुखेसो पोख्दै उनले भनिन्।

पहिला विकासको लोभमा फोहोर फाल्न दिएकोमा पछुताउँदै उनी भन्छिन्, ‘उ बेलामा दिनु दिइहालियो अहिले के गर्नु अब ? धेरै नै अप्ठ्यारो परिरहेको छ । सकेसम्म यहाँ फोहोर नफालिदिए हुन्थ्यो।’

‘दुई किलोमिटर टाढाको फोहोरले त धेरै प्रभावित पारिरहेको छ झनै आफ्नै ठाउँमा फोहोर फाल्ने भएपछि हामी बसिसाध्य हुँदैन,’ स्थानीय माधव घिमिरेले भने, ‘त्यो बेलामा हामीलाई एक घर एक रोजगार दिन्छु भन्या थियो, अस्पताल खोलिदिन्छु भनेको थियो, केही पनि गरेनन्, मुखले मात्रै भने पहिला ललाइ फकाइ यहाँको जमिन अघिग्रहण गरे अहिले हामीलाई समस्या मात्रै सकेसम्म यहाँ फोहोर नफालिदिए हुन्थ्यो।’

तर सरकारले विभिन्न विकासको लोभ देखाएरै भएपनि स्थानीयसँग भने उक्त स्थान आफ्नो हात पारिसकेको छ। सार्वजनिक जग्गा बाहेकका जग्गा धनिबाट अधिग्रहण गरी विभिन्न विकास निर्माणको लोभ देखाएर सरकारले १३ वर्ष अगाडि नै बञ्चरेडाँडालाई फोहोर व्यवस्थापनको दीर्घकालीन स्थान तोके पनि अहिलेसम्म त्यहाँ फोहोर फाल्न सक्ने स्थिति भने बनेको छैन।

स्थानीयले विकाससँग फोहोर साटेपनि फोहोर सिसडोलसम्म पुगेको र विकास भने नपुगेको देखिन्छ। विकास हुने लोभमा स्थानीयले जग्गा सरकारलाई प्रदान गरेपनि सरकारले भने अहिलेसम्म त्यसको उचित व्यवस्थापन गर्न नसक्दा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ।

१३ वर्षदेखि सुरु गरिएको काम अहिलेसम्म पनि नहुनु सरोकारवालाहरूको लापरवाही भएको स्थानीय राजु घिमिरेको भनाई छ। ‘आएको बजेट जति सबै आफ्नै पेटमा हाल्छन्, अनि कसरी सम्पन्न हुन्छ काम,’ उनले भने, ‘बञ्चरेडाँडामा फोहोर फाल्ने भनेर तोकेपनि यहाँ पूर्वाधार नहुँदा सिसडोलमा ३६ महिनाका लागि भनेर अल्पकालीन रुपमा फोहोर फाल्ने भनिएको थियो । त्यति समयमा यहाँ फोहोर फाल्न सकिने बनाइने भने पनि अहिलेसम्म बन्न सकेको छैन् , सबैआएको बजेट जति कता पुर्याउँछन् कता।’

नुवाकाेटस्थति बञ्चरेडाँडा ।

अस्थायी रुपमा उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलको ल्याण्डफिल साइट भरिदै यतिबेला आएको छ। दुई वर्षका लागि भनेरे उक्त स्थानमा फोहोर विसर्जन गर्न थालेको १३ वर्ष बितिसक्दा पनि फोहोर कोच्ने काम रोकिएको छैन्।

सिसडोलको विकल्पमा दीर्घकालीन रुपमा बञ्चरे डाँडामा फोहार विसर्जन गरिने बताइए पनि त्यसका लागि गर्नुपर्ने एकाध काम बाहेक अरु केही काम हुन सकेको छैन्। हाकाहाकी टिम त्यहाँ पुग्दा कोल्पु खोला डाइभर्ट गर्नुको सिवाय केही पनि भेटिएन। यसरी विकासका केही काम नहुँदा स्थानीयले पनि अहिले बञ्चरे डाँडाको विकल्पमा अन्यन्त्र नै फोहोर व्यवस्थापन गर्नुपर्ने मनस्थितिमा पुगिसकेका छन्।

नुवाकाेटस्थति बञ्चरेडाँडा ।

तर काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुँवर स्थानीयलाई असर पुग्ने केही काम नभएको दाबी गर्छन् । ‘त्यही बेलामा भिरपाखोलाई रोपनीको ५–६ लाख दिइएको छ । त्यो भन्दा बढी के चाहियो र ?,’ उनले भने।

जनतालाई रोजगारी दिन्छु, अस्पताल बनाइदिन्छु भन्ने जस्तो कुरा गरेर ठगे भन्ने स्थानीयको गुनासो छ भनेर हाकाहाकीकाे प्रश्नमा उनी भन्छन्, ‘त्यो बेलामा फोहोर फाल्ने वातावरण मिलाउन जनतालाई ललिपप दिएको मात्र हो, सरकारले त्यति नभनेको भए कसले आफ्नो ठाउँमा फोहोर फाल्न दिन्छन् त ?’

नुवाकाेटस्थति बञ्चरेडाँडा ।

प्राकृतिक रुपले निकै नै सुन्दर बञ्चरे डाँडामा फोहोर विसर्जन गर्दा वातावरणलाई निकै नै असर पर्ने विषयमा भने उनी सिसडोलको जसरी अव्यवस्थित तवरले फोहोर विसर्जन नगरिने बताउँछन्।

‘सिसडोलमा अल्पकालीन रुपको लागि भनेर फोहार विसर्जन गरिएको हुनाले अलि बढी अव्यवस्थित भयो तर बञ्चरेडाँडामा स्यानेटरी ल्याण्डफिल साइट बन्ने हुनाले ट्रिटमेन्ट प्लान गरेर मात्र ल्याण्डफिल साइट बनाइन्छ त्यसैले वातावरणमा कुनै पनि असर गर्दैन,’ उनले भने । तस्वीरहरू : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार