Sunday, September 29, 2024

विरोधको कला : सफा बोतलमा फोहोर पानीकाे प्रदर्शनी

काठमाडौं– गत महिना चीनको राजधानी बेइजिङस्थित आर्ट ग्यालरीमा प्रर्दशनीमा राखिएका पानीका चार हजार बोतल ‘ननगफु स्प्रिङ कम्पनीका थिए। जुन चीनको एकदमै चर्चित पानीको व्राण्ड हो।

तस्वीर : न्यूयोर्के टाइम्सबाट साभार।

तीमध्ये एउटा पानीको जार भने फरक कम्पनीको थियो। पानीका ती प्रत्येक बोतलमा खैरो र प्रदूषित पानी भरिएको थियो। र, तिनीहरूलाई प्रर्दशनीमा राखिएको थियो।

ती बोतलमा क्षान्ति प्रान्तको केन्द्रमा रहेको जिओहतु गाउँको एउटा खोलाको पानी भरिएको थियो। सो पानीमा विभिन्न धातुका कारण एकदमै प्रदूषित थियो। नजिकै रहेको कोइला खानी र ग्यास उत्पादन गर्ने कम्पनीको कारणले सो पानी प्रदूषित भएको हुनसक्ने स्थानीय र सरकारी अधिकारीको बुझाइ छ।

‘मानिसहरू कसरी बाँचिरहेका छन् भन्ने मेरो सरोकार हो, ब्रदर नटको नामले चिनिने ती कलाकार तथा अभियन्ताले भने, ‘उदाहरणका लागि के मानिसले स्वच्छ हावा र स्वच्छ खानेपानी पाइरहेका छन् त ? यी त आधारभूत मानव अधिकार हुन्।’

प्रख्यात कलाकार ब्रदर नटले नै बोतलमा पानी भरेर प्रर्दशनमा राखेका हुन्। कुनै पनि प्रदूषणलाई कलात्मक सन्देशमा परीणत गरेर कुनै पनि विषयलाई हाइलाइट गर्ने ब्रदर नटको यो पहिलो प्रयास भने होइन। उनले सन् २०१५ मा बेइजिङमा बढ्दो वायु प्रदूषणलाई हाइलाइट गर्न एउटा इँटा नै बनाएका थिए।

पछिल्लो पटक उनले ती बोतलमा प्रदूषित पानी भर्ने बितिक्कै यसका तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्न थाले। सरकारी अधिकारीले सो प्रदर्शनी रोक्न आदेश दिए तर, यो समस्याको बारेमा सरकारी निकायको ध्यान आकृष्ट भयो।

सो प्रान्तका अधिकारीले ब्रदर नटलाई रोक लगाएनन् बरू बोतलमा भरिएका गाउँको पानीको गुणस्तरको बारेमा अनुसन्धान शुरु गरे। ३७ वर्षीय ब्रदर नटले आफू कुनै कलात्मक प्रस्तूतिका लागि सो गाउँमा पुगेको र त्यहाँ पुग्दा स्थानीयहरू क्यान्सर र छालाको रोगबाट प्रभावित भइरहेको पाएको बताए।

‘यो समस्याको बारेमा स्थानीयले प्रदेशका सरकारी अधिकारीलाई जानकारी गराएका रहेछन् तर, त्यो समस्या समाधानका लागि सरकारले खासै पहल गरेको रहेनछ,’ उनले भने। तर, बोतलमा पानी भरिएको तस्वीर सार्वजनिक भएपछि भने सरकारी अधिकारीले यस विषयमा पत्रकार सम्मेलन नै गरेका थिए।

सरकारी अधिकारीका अनुसार शुरुमा सो गाउँ आसपासका पानीका ११ वटा स्रोतबाट संकलित पानीको परीक्षण गरियो। तीमध्ये १० वटा स्रोतमा उच्च मात्रामा आइन भेटिएको थियो। त्यसपछि सरकारी अधिकारीले सो क्षेत्रका कलकारखानालाई केही समय बन्द गर्न निर्देशन दिए। त्यसपछि सरकारी अधिकारीले जुलाईको अन्तिमसम्म नयाँ खानेपानीको व्यवस्था गर्ने, खानेपानी शुद्ध बनाउने उपकरणहरु दिने आश्वासन स्थानीयलाई दिएका थिए।

‘पानी प्रदूषण सबैतिरको समस्या हो, संसारभरी नै समस्या छ तर यो समस्याले विशेषत प्राथमिकता पाएको देखिदैन,’ ब्रदर नटले भनेका छन्, ‘यस क्षेत्रका धेरै मानिसले वर्षाेदेखि प्रदूषित पानी पिएका छन् जसले गर्दा उनीहरुको छालामा समस्या देखिएको छ, क्यान्सर भएको छ, उनीहरुको भेडा मरिरहेका छन् तर कसैले यसमा ध्यान दिएको छैन, उनीहरुलाई त खास के भइरहेको भन्ने पनि थाहा छैन ।’

सो प्रदर्शनी केही हप्तासम्म चलेको थियो तर, बोतल प्रयोग गरिएको कम्पनीले आफ्नो ट्रेड मार्कको अपमान गरिएको भन्दै उजुरी दिएपछि सरकारी अधिकारीले सो प्रदर्शनीलाई रोके । प्रदर्शनीमा राखिएका ७ हजार बोतल सरकारी अधिकारीले आफ्नो नियन्त्रणमा लिएका थिए। तर, ब्रदर नटसँग अन्य एक हजार सोही पानी भरिएका वोतलहरु थिए। त्यसपछि उनले सो स्रोतहरु एउटा क्यानमा राखेर विभिन्न ठाउँमा देखाए।

सो ग्यालरीका प्रमुख सान युले ब्रदर नटको कलात्मक क्षमता देखेर आफू निकै प्रभावित भएको वताए। ‘यो एउटा ताजा र सिर्जनात्मक कला हो,’ उनले भने, ‘उनले एकदमै सफा पानी हुने बोतलमा एकदमै प्रदूषित पानी भरेर देखाए, यो राम्रो कला हो ।’

यसका बाबजुद पनि समस्या समाधानका लागि सरकारी अधिकारीले यो समस्या समाधानका लागि कदम चाल्दछन् भन्नेमा उनीहरू शंका नै व्यक्त गर्दछन्। उनीहरु सत्तामा रहेका व्यक्तिलाई प्रभावित पार्न र जनतालाई कुनै पनि कदम चाल्न बाध्य पान कलासँग एउटा ठूलो शक्ति रहेको विश्वास गर्छन्।

(न्युयोर्के टाइम्समा प्रकाशित समाचारको भावनुवाद)

ताजा समाचार

सम्बन्धित समाचार