Sunday, September 29, 2024

उपभोक्ता भन्छन्, ‘जताततै मिसावट, बजारको तेल खान डर लाग्छ’

काठमाडौं–भान्सामा दैनिक रुपमा पाक्ने परिकारमा कुनै न कुनै खाद्य तेल उपयोग हुन्छ। तर, त्यही तेल शुद्ध भइदिएन भने मानवीय स्वास्थ्यमा हानी पुर्याउन सक्छ।

बजारमा तोरीको मात्र होइन भटमास, सूर्यमुखी तेलसँगै आलस लगायतका तेल बजारमा पाइन्छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बेला–बेलामा गरेको अनुगमनबाट तेलमा मानवीय स्वास्थ्यमा असर पार्ने अखाद्य बस्तु मिसावट भएको पाइएको थियो । तेलमा आवश्यकताभन्दा बढी पेरोअक्साइड, रिफ्रयाक्टिभ इन्डेक्स र स्यापोनिफिकेसन रहेको पाइएको विभागले जनाएको छ ।

मानव स्वास्थ्यलाई हानी गर्ने गुणस्तरहीन खाने तेलले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्ने चिकित्सकहरू बताउँछन्।

मानव स्वास्थ्यलाई हानी पर्याउने गरी दूषित र न्यून गुणस्तरको खाने तेलबारे के भन्छन् उपत्यकाका उपभोक्ता ? हाकाहाकीले केही गृहणीहरूसँग कुराकानी गरेको छ । उनीहरूको विचार जस्ताको त्यस्तै :

स्वच्छ तेल नै खानपाइयोस् : माया राना (५१)

अहिले बजारमा मिसावट नभएको तेल नै पाइदैनन् । हरेक प्रकारको तेलमा मिसावट छ ।

तेलमा मिसावट हुने गरेको थाहा भएपनि खाइनै रहेका छौं। तेल उद्योगलाई मिसावट नगरी तेल उत्पादन गर्न म अनुरोध गर्छु।

सबै मानिस हामी जस्तै स्वस्थ हुँदैन ।त्यस्तो तेलले विरामीलाई अझ बढी असर गर्छ । बरू महंगो होस् तर,स्वच्छ तेल खानपाइयोस् ।

मिसावट गर्नेलाई कारवाही हुनुपर्छ : निशा नगरकोटी (३०)

हामीले उपयोग गर्न तेल सस्तो हुन्छ । महंगो तेलमा मिसावट हुँदैन भन्छन् । तर, हामीले बजारमा पाइने सस्तो खाने तेलको प्रयोग गर्दै आएका छौं । उपभोक्ता सबै समान हुन् ।

हामीले पनि स्वच्छ तेलको प्रयोग गर्नु पाउनुपर्छ । कस्तो तेलमा मिसावट हुन्छ । कस्तोमा हुँदैन हामीलाई थाहा हुँदैन ।

बरू सरकारले नै त्यस्ता कम्पनीमा अनुगमन गरेर मिसावट गर्नलाई कारवाही गर्नुपर्छ ।

स्वास्थ्यमा खेलवाड नहोस् : सविता थापा (२५)

तोरीको तेलमा मिसावट छ भन्ने थाहा पाएपछि सूर्यमुखी तेलको प्रयोग गर्दै आएकी छु ।

तर, सामान्यतया तेलको गुणस्तर कस्तो छ भनेर हामीलाई थाहा हुँदैन । सरकारले तेलको गुणस्तर मापन गर्नुपर्छ ।

तेलमा मिसावट भएको पाइएमा त्यस्ता तेलको प्रयोगमा निषेध नै गर्नुपर्छ । मानवीय स्वास्थ्यमा खेलवाड गर्ने तेल कम्पनीलाई सरकारले कडा कारवाही गर्नुपर्छ ।

जे मा पनि मिसावट छ :निशा रोका (२१)

जुन तेलमा पनि मिसावट छ भन्छन् । तर, उपभोग त गर्नैपर्छ । अरू विकल्प पनि त छैन । हामी तेल किन्दा सचेत हुन्छौं ।

तर, सचेत हुँदाहुँदै पनि मिसावट भएको तेल खाइरहेका हुँदा रैछौं । जब समाचारमा पढ्छौ अनि थाहा हुन्छ ।

त्यसपछि अर्को कम्पनीको तेलको प्रयोग थाल्यो त्यसमा पनि त्यस्तै । अब,तरकारी त खानै पर्यो ।

बजारको तेल खान डर लाग्छ :शान्ति भण्डारी (५३)

पहिला–पहिला बजारको तेल किनेर खान्थौं । अहिले तोरी पेलेर खाने गरेका छौं । बजारको तेल खान डर लाग्छ ।

स्वास्थ्यलाई हानी गर्ने अखाद्य वस्तु मिसावट गरेको हुन्छ भन्ने थाहा पाएपछि विकल्प रोजेका हौं । तर,कहिले काँही किनेर खानैपर्छ । बरू यसमा सरकारले नै कडाई गर्नुपर्छ जस्तो लाग्छ ।

पैसा कमाउने नाममा सर्वसाधारण जनताको स्वास्थ्यमा हानी गर्ने विक्रेता र उत्पादन कम्पनी दुबैलाई कारवाही गर्नुपर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार