पत्रपत्रिकामा आज : चुरे दोहनले मरुमूमि बन्दै अन्नभण्डार, साइकल क्लबहरू सक्रिय

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाइएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा साइकल क्लबहरू सक्रिय शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ । बुङमतीका अनिल तुलाधारले साइकल कुदाउन थालेको डेढ वर्ष भयो । उनी स्वास्थ्यमा फाइदा पुग्ने भएकाले अरूलाई पनि साइकल चलाउन सुझाव दिन्छन् । भन्छन्, ‘विदेशमा साइक्लिङ गर्नेलाई उच्च सम्मान छ । नेपालमा भने विपरीत छ ।’ उनले नेपालका अधिकांश जिल्लामा सडक सुविधा नपुगेकाले ग्रामीण र हिमाली पर्यटन विकास गर्न साइकल भरपर्दो विकल्प हो ।’

तुलाधरलाई यात्रामा बुङमतीकै सुनील महर्जन, रवीन्द्र तुलाधार, युकेश बज्राचार्य, विद्या तुलाधर, जमुना बज्राचार्यलगायतले साथ दिने गरेका छन् । उनीहरूले बुङमतीमा साइक्लिङ क्लब नै गठन गरेर प्रत्येक साता यात्रा गर्ने गर्छन् ।

सोसियल टुर्स संस्थाले शनिबार ‘काठमाडौं कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ आयोजना गर्‍यो । र्‍यालीमा अधिकांश युवा सहभागी थिए । पछिल्लो समय साइक्लिङमा युवा जमातको आकर्षण बढ्दो छ । सोसियल टुर्सले गत वर्ष आयोजना गरेको ‘काठमाडौं कोरा २०१७ साइक्लिङ च्यालेन्ज’ बाट संकलित ५ लाख रुपैयाँ बुङमतीमा साइक्लिङ विकास गर्न दिएको थियो । क्लबले अहिले युवायुवतीलाई साइकलयात्रा गर्न प्रेरित गर्दै आएको छ ।

नक्सालका दिपेश पन्थ दैनिक ८ किलोमिटर सइकलयात्रा गर्छन् । उनले साइकल कुदाउन थालेको ३ वर्ष भयो । भन्छन्, ‘पछिल्लो समय बढी मृत्युका कारण प्रदूषण र सवारी दुर्घटना हुन थालेको तथ्यांक छ । काठमाडौंको सवारी चाप, साघुरा सडकमा साइकल एक मात्र विकल्प हो ।’ उनले साइक्लिङले ट्राफिक जाम, पार्किङ समस्या पनि समाधान हुने बताए । सोसियल टुर्स संस्थाका अनुसार काठमाडौंमा विद्यालयमा विद्याथीहर्रूको क्लबबाहेक २ सयभन्दा बढी साइक्लिङ क्लब गठन भइसकेका समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा चुरे दोहनले मरुमूमि बन्दै अन्नभण्डार शिर्षकमा टंक क्षेत्रीको समाचार छापिएको छ ।
जिल्लास्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र उजाड हुने खतरा बढ्दै गएको छ। विकास निर्माणका लागि ढुंगा, गिट्टी, बालुवाका निकाल्न होस् वा दैनिक जीवन यापनका लागि आवश्यक पर्ने घाँस, दाउरा र काठका लागि चुरे क्षेत्र मुख्य भरथेगको थलो बन्दै आएको छ। त्यस्तै चुरे पहाडमै रहेका बस्ती र छिमेकी सिन्धुलीका गाउँमा जान निर्माण भइरहेका सडकका कारण चुरे क्षेत्र निरन्तर अतिक्रमणको चपेटामा परिरहेको छ।

चुरे क्षेत्र बचाउन केही दिनुभन्दा निरन्तर दोहन गर्ने काम मात्र भइरहेको जिल्ला भूसंरक्षण कार्यालय सर्लाहीका प्रमुख राजेन्द्रप्रसाद यादवले बताए। ‘अत्यन्त कमजोर भूबनोट रहेको चुरे क्षेत्र संरक्षणमा जुट्ने भन्दा पनि दोहनका लागि मारामार भइरहेको छ’, उनले भने, ‘यसैगरी दोहन हुँदै जाने हो भने, चुरे त सिद्धिन्छ नै सँगसँगै उसले तराईलाई पनि उजाड बनाउँछ।’ अनियन्त्रित रूपमा ढुंगा, गिट्टी, बालुवा निकाल्ने, मनलाग्दी बाटो खन्ने, काठदाउराका लागि भएका रूख कटान गर्नेलगायत दोहनका कारण चुरे सखाप बन्दै गएको यादवले बताए। ‘चुरे पहाड माटो र बालुवा मिश्रित अत्यन्त कमलो चट्टानबाट निर्मित हो’, उनले भने, ‘यसमा त खनजोतलगायत उत्खनन अनि भएका रूख काट्नै नहुने हो।’

चुरे क्षेत्रमा निरन्तर भइरहेको दोहनका कारण त्यहाँको माटो बगेर दक्षिण खोलाको सतह बर्सेनि २५ देखि ३० सेन्टिमिटर थपिँदै गएको तथा पानीका मुहान सुक्ने एवं सतह गहिरिँदै गएको यादवले बताए। ‘चुरे बग्दै गएकाले दक्षिणमा नदीको सतह बढिरहेको छ । बस्ती अनि खेतीयोग्य जमिनमा बाढीको खतरा बढ्दो छ’, यादवले भने, ‘वाटरलेभलको रिचार्ज गर्ने मुख्य चुरेको विनाश बढेसँगै पानीका मुहान सुक्दै जान थालेका छन्।’ वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियन्त्रित ढंगले सडक खन्ने कामले चुरे पहाड विनाश भइरहेको यादवले बताए।

विस्तृत अध्ययनविना चुरे क्षेत्रमा जताततै डोजर, स्काभेटर लगाएर बाटो खन्ने तथा ढुंगा, गिट्टी बालुवा, काठ, दाउरा निकाल्ने काम नरोकिए तराई मरुभूमिकरण हुने र अन्ततः मुलुकलाई ठूलो क्षति पुग्ने जानकारहरू बताउँछन्। ‘वातावरणमैत्री, जलाधार संरक्षणमा कुनै असर नपर्ने गरी स्रोत निकाल्नुपर्छ’, यादवले भने, ‘तर वर्षौंदेखि मनमौजी ढंगले चलिरहेको देखिन्छ।’ विकासे कार्यालय र वन तथा वातावरण एवं भूसंरक्षण कार्यालयबीच समन्वय नहुँदा पनि चुरे विनाशमा सहयोग पुगिरहेको भूसंरक्षण अधिकृत यादवको कथन छ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा विमानस्थल निर्माणमा १५ अर्ब शिर्षकमा समाचार छापिएको छ। सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय, क्षेत्रीय अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलका लागि १५ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले विनियोजन गरेको रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट अनुमोदन हुन बाँकी छ।

प्राधिकरण बोर्ड बैठक यही शुक्रबार बस्दै छ। बैठकले बजेट अनुमोदन गर्ने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास अन्तर्गत भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ६ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसमा नेपाल सरकारले चार अर्ब १६ करोड र ऋण सहयोगबाट दुई अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएको छ।

सरकारले विनियोजन गरेको रकम विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि हो। ऋण रकम भने विमानस्थलको आईसीबी १ र २ को कामका लागि हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको छ। सरकारले सन् २०१९ लाई विमानस्थल सञ्चालन वर्ष बनाउने लक्ष्य लिएको छ।

यसैगरी सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरको छ। ऋण सहयोगबाट ६ अर्ब ३० करोड र नेपाल सरकारका तर्फबाट ५० करोड रुपैयाँ विनियोजन भएको श्रेष्ठले जानकारी दिए। चिनियाँ एक्जिम बैंकको ऋण सहयोग रकम विमानस्थलको भौतिक संरचना निर्माणमा खर्च हुनेछ भने सरकारका तर्फबाट विनियोजन भएको रकम जग्गा अधिकरण र मुआब्जा वितरणमा खर्च हुने श्रेष्ठको भनाइ छ।

बाराको सिमरामा निर्माण गरिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले एक अर्ब ४३ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ। विमानस्थल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति, रुख कटानी तथा पहुँच मार्ग निर्माणमा रकम खर्च गरिने श्रेष्ठले बताएकाे समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार