Sunday, September 29, 2024

चीनको छेङ्दुले उपहार दिने दुई ब्रुमरकाे साँचाे महानगरलार्इ हस्तान्तरण

काठमाडौं–काठमाडौं महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुुई वटा ब्रुमर उपहार दिने भएको छ।

उपहार दिने यसअघिको घोषणा अनुसार छेङ्दु नगरका प्रतिनिधिले सडक सफाइमा प्रयोग हुने २ वटा ब्रुमरको साँचो महानगरका अधिकारीलाई प्रदान गरेका छन्।  समाज कल्याण परिषद्मा आयोजित एक कार्यक्रममा महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरलाई उनीहरुले ब्रमुरको साँचो दिएका हुन्।

नेपाल र चीन दुवै देशको समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा भएको ३ वर्षे सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त साँचो प्रदान गरिएको हो।

सहमति पत्रमा नेपालकातर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनकातर्फबाट चाइना एन्जिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेन्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गरेका थिए। सो अवसरमा नेपालका लागि चीनका राजदूत यू होङ्लगायत उच्च अधिकारी तथा चीनका ३० र नेपालका २० वटा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

यस अवधिमा जीविकोपार्जन, विकास र विपद् व्यवस्थापन, सीपमा आधारित कार्यक्रम, स्वास्थ्य र शिक्षा क्षेत्रको व्यवस्थापनका क्षेत्रमा काम हुने जनाइएको छ।

छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो मापदण्ड ४ का हुन्। ब्रुमरको लम्बाइ ८ दशमलव ६ मिटर छ, भने चौडाई ३ दशमलव ५ मिटरको छ। १५ दशमलव ८ मेट्रिक टन तौल भएका ब्रुमरहरु डिजेलले चल्छन्।

धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने बु्रमरहरुको ७ घनमिटर धुलो संकलन गर्ने र ७ घनमिटर पानी बोक्ने क्षमता रहेको बताइएको छ। सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ।

९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हरेर प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा छेङ्दुले ब्रुमर उपहार दिने घोषणा गरेको थियो। भ्रमणमा काठमाडौंका महानगरका मेयर विद्यासुन्दर शाक्य पनि थिए।

ताजा समाचार

सम्बन्धित समाचार