Saturday, September 28, 2024

एडिबी नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग गर्न तयार

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र एसियाली विकास बैंक (एडिबी) का आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले आगामी दिनमा पनि सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे। मन्त्री पुनले तनहु जलविद्युत परियोजना र भूमिगत केवलिङ परियोजना सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा रहेको बताए।

दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी दिँदै मन्त्री पुनले दुधकोशी परियोजनामा टीबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको बताए।

भेटमा एडिबीका आवासीय प्रतिनिधि खामुडखानाले ऊर्जा क्षेत्रमा थप सहयोग गर्न एडिबी तयार रहेको धारणा राखे । ‘ऊर्जा क्षेत्र हाम्रो पनि प्राथमिकता हो, आगामी दिनमा पनि सहकार्य अझ सुमधुर हुन्छ,’ मन्त्री पुनसँगको भेटमा उनले भने।

उनले बागमती सिंचाइ परियोजनामा एडिबीले ५० मिलियन सहयोग गरिसकेको जानकारी दिँदै बागमती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

ताजा समाचार

सम्बन्धित समाचार