Saturday, September 28, 2024

जापानमा तातो हावालाई प्राकृतिक विपत्ति घोषणा

काठमाडौं–जापानमा विगत एक हप्तादेखि चलिरहेकाे तातो हावालाई त्यहाँको मौसम विभागले प्राकृतिक विपत्ति घोषणा गदै कतिपय क्षेत्रमा एकदमै तातो हावा चल्न लागेको बताएको छ।

जापानको विभिन्न भागमा चलेको तातो हावाका कारण एक हत्तामा ६५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। मौसम विभागका अधिकारीहरुले कतिपय स्थानमा पहिलेभन्दा निकै तातो हावा चलेको जनाएका छन्।

तातो हावाले ‘हिट स्ट्रोक’ भएपछि २२ हजारभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएकाे सरकारी अधिकारीलाई उल्लेख गदै बीबीसीले जनाएको छ। तातो हावाका कारण सबैभन्दा बढी वृद्धवृद्धाहरु प्रभावित भएका छन्। तातो हावा तत्काल हट्ने संकेत नदेखिएको मौसम विभागका अधिकारीहरुले जानकारी दिएका छन्।

राजधानी टोकियोकाे तापक्रम यस अगाडि कहिल्यै पनि ४० डिग्री पुगेको थिएन तर, यसपटक नाघेको छ। मौसम विभागले अगष्टको अन्तसम्म तापक्रम नघट्ने प्रक्षेपण गरेको छ। विद्यार्थीहरुलाई जोगाउनका लागि समर विदा लम्ब्याउने तयारी सरकारी अधिकारीहरुले गरेका छन् ।

जुलाईको पहिलो सातादेखि जापानमा तापक्रम एक्कासी बढ्न थालेको हो। जापानको कतिपय भागमा अझै पनि बाढीपहिरो आएकाले तातो हावाबाट प्रभावितको उद्धार कार्यमा कठिनाई भइरहेको सरकारी अधिकारीले जनाएका छन्। विरामीलाई उद्धार गर्न एम्बुलेन्स परिचालन गरिएको छ। जापानमा धेरै तातो नहुने भएकाले पर्याप्त मात्रामा एसी जडान गरिएको हुँदैन।

ताजा समाचार

सम्बन्धित समाचार