Saturday, September 28, 2024

सम्पदा क्षेत्रको मापदण्ड उल्लंघन गर्दै घर निर्माण

ललितपुर–पाटन दरबार क्षेत्र आसपासमा नयाँ बनिरहेका कतिपय घरहरुले मापदण्ड पूर्णरुपमा पालना नगरेको भेटिएको छ।

‘पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, २०६४’ मा यस क्षेत्रमा घरको अधिकतम उचाइँ ३५ फिट र चार तलाभन्दा बढी हुन नहुने उल्लेख छ। भूकम्पका समयमा क्षतिग्रस्त घर पुनःनिर्माण गर्दा घरधनीले उचाइँलगायतका पालना गर्नुपर्ने नियम बेवास्ता गरेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ।

पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा स्वीकृत नक्साभन्दा उचाइँ बढाउनुका साथै अन्य कुरा थपघट गरेर घर निर्माण गरेको पाइएको कार्यालय प्रमुख काजीमान प्याकुरेल बताउँछन्। घरधनीले नक्सा स्वीकृतिका लागि महानगरपालिकामा निवेदन दिएपछि यस कार्यालयमा आउँछ। कार्यालयले मापदण्डअनुसार नहुँदा नक्सा सच्याएर पठाउने गरेको छ।

आफूले सच्याएको नक्साअनुसार कतिपय घर निर्माण नभएको पाइएको उल्लेख गर्दै उनले भने, ‘सम्पदा क्षेत्रमा पर्ने घर भएकाले हामीले हेर्ने भए पनि नक्साको अन्तिम स्वीकृत गर्ने निकाय त महानगरपालिका नै हो। महानगरपालिकाले चाहेमा मापदण्ड मिचेका घरलाई कारवाही गर्न सक्छ।’

भूकम्प पहिले बनेका कतिपय घरसमेत विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार नभएकाे उनले बताए।  यसअघि अन्य सम्पदा क्षेत्रमा मापदण्डविपरीत बनेका घरलाई स्थानीय तहले कारवाही गरे पनि ललितपुरमा भने कडाइ गरिएको छैन।

स्थानीय तहले विभिन्न प्रोत्साहनका कार्यक्रम गरेर परम्परागत घर बनाउन स्थानीयवासीलाई प्रेरित गर्न सक्ने उनी बताउँछन्। भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर निर्माण गर्नेलाई प्रोत्साहनस्वरुप सहयोग उपलब्ध गराएकाले ललितपुर महानगरपालिकाले  पनि त्यस्तै प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘परम्परागत रूपमा घर बनाउन चाहेर पनि आर्थिक रुपमा नसकेकाले समेत बनाउन सक्छन्।’

परम्परागत शैलीमा जस्ताको तस्तै घर बनाउन नसक्नु स्थानीयवासीको पनि बाध्यता रहेको कार्यालय प्रमुख प्याकुरेल जोड दिनुहुन्छ । परिवार ठूलो हुँदा धेरै तला बनाउनुपर्ने, कौसी ठूलो नभई नहुने र कलात्मक झ्याल ढोका महँगो हुँदा बनाउन नसक्ने पनि छन् । परम्परागत जीवनशैलीमा परिवर्तन आएका कारण पनि स्थानीयवासीले आधुनिक तरिकाको घर बनाउन चाहने भएको देखिन्छ ।

पहिले यस क्षेत्रमा घाम ताप्न वा अन्न सुकाउनका लागि जतासुकै चोक वा खाली जग्गा थिए तर, अहिले खाली जग्गा नै कम हुँदैछ।

परम्परा जोगाउनुपर्छ भन्ने सोचाले केहीले घरमा परम्परागत शैली अपनाएका छन् भने कतिपयले भने चाहेर पनि आर्थिक रुपमा महँगो पर्ने भएकाले त्यसरी घर बनाउन सकेका छैनन्।

विश्व सम्पदा क्षेत्रमा त्यहाँ रहेका स्मारकहरू जत्तिकै त्यहाँका निजी घर वा सार्वजनिक पूर्वाधारको महत्व भएपनि भूकम्पपछि पुनःनिर्माणमा ढिलाइ गर्दा केही वर्ष पहिले युनेस्कोले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको जानकारी दिँदै उनी भन्छन्, ‘हामीले परम्परागत जीवनशैली र बस्ती कायम राख्न नसके फेरि यस्ता समस्या दोहोरिन्छ।’

मापदण्डमा संरक्षित स्मारक क्षेत्रमा घर वा भवनकोे उचाइ अधिकतम ३५ फिट हुनुपर्ने, बुइँगल वा भर्याङ कभरसमेत गरेर चार तलाभन्दा बढी तला भन्दा बढी हुन नहुने, भूकम्पीय सुरक्षाका लागि आरसिसी गर्नुपर्ने र बाहिरी भागमा चिम्नी, इँटा वा काठले छोप्नुपर्ने व्यवस्था छ।

घरको तेस्रो तलामा घाम र पानी छेक्नका लागि बलेसी निकाले पनि २५ देखि ३० डिग्री स्लोप पारेर काठको फल्याक ठोक्नुपर्ने र टुँडाल निकाल्नुपर्ने, झ्याल र ढोकाको चौडाइ र लम्बाइ पनि तोकिए बमोजिम नै हुनुपर्ने तर त्यसमा फलामे रोलिङ, सटर, चेन गेट आदि राख्न नपाइने र राख्न चाहनेले पनि काठका खापाले छोपिने गरी राख्नुपर्ने हुन्छ ।

घरको छाना झिँगटी वा टायलले छाएको दुई पाखे शैलीको हुनुपर्ने, तेस्रो तलामा बढीमा तीन फिटसम्मको बार्दली, डेढ फिटसम्म उचाइ र बढीमा छ फिटसम्मको पेटी बनाउन पर्ने घरको चौथो तलामा चार भागको एक भागसम्म कौसी बनाउन पर्ने हुन्छ।

ललितपुर महानगरपालिकामै पर्ने खोकना र बुङ्मतीलाई युनेस्कोले केही वर्ष पहिले विश्व सम्पदा क्षेत्रका लागि सम्भावित स्थानको सूचीमा राखेको थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार