Saturday, September 28, 2024

पानी नपर्दा सुक्न थाल्यो धानबाली

काठमाडौं–पश्चिम र पूर्वी तराईका कतिपय जिल्लामा पर्याप्त पानी नपर्दा धानबाली समेत सुक्न थालेको छ। वर्षा नहुँदा केही स्थानमा धान रोपाइँ नै हुन नसकेको सरकारी अधिकारीहरुले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय भए पनि पश्चिम र पूर्वी तराईमा कतिपय क्षेत्रमा न्यून वर्षा भएको छ। ‘मनसुन सक्रिय भए पनि पूर्वी तराईमा धेरै कम वर्षा भएको छ, भने पश्चिम तराईमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ,’ मौसमविद राजु प्रधानाङ्गले भने।

उनका अनुसार जुन महिनामा यो क्षेत्र पुरै सुख्खा थियो । जुलाई महिनामा पूर्वी तराईमा न्युन वर्षा भएको छ। ‘पश्चिम र पूर्वी तराईमा मनसुन सक्रिय भएपछि जति पानी पर्नुपर्ने हो त्यति पानी परेको छैन,’ मौसमविद् प्रधानाङ्गले भने, ‘गत वर्ष पूर्वी तराईमा औसतभन्दा धेरै कम वर्षा भएको थियो भने पश्चिम तराईमा बढी वर्षा भएको थियो।’

मनसुन प्रणाली पूर्वी तराई नजिक नहुँदा यो क्षेत्रमा वर्षा हुन नसकेको मौसमविद प्रधानाङ्ग बताउँछन्। आगामी तीन दिनमा पश्चिम र पूर्वे तराईमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको उनले बताए।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले तराईका जिल्लाहरुमा वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको बताए। ‘तराईका केही जिल्लामा आकाशे पानीको भरमा रोपाइँ हुन्छ। तर, पानी नपर्दा रोपाइँ हुन सकेको छैन,’ अर्यालले भने।

उनले धान रोपाइँ भएका तराईका कतिपय जिल्लामा पानी नपर्दा सुक्न थालेको समेत बताए। ‘सिचाँइ व्यवस्था भएका तराईका जिल्लामा भने धानबालीलाई पानी सिचाँइ भैरहेको छ,’ उनले भने, ‘तर, आकाशे पानीको भर पर्ने कृषकका खेतमा कतै रोपाइँ भएको छैन। कतै रोपिएका धानबाली मर्न थालेका छन।’

मन्त्रालयका अनुसार साउन ३ गतेसम्म देशभर ७३ दशमलब ५ प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष यो समयसम्म ५३ प्रतिशत धान रोपाइँ सकिएको थियो।

त्यस्तै, प्रदेश ७ का पर्याप्त पानी नपर्दा तराईका कतिपय क्षेत्रमा धानबाली सुक्न थालेको छ।  कैलालीमा ७१ हजार २ सय ५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४ सय ५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार