एक वर्षमा ७ वटा पाटे बाघ मरे

काठमाडौं– एक वर्षमा मुलुकका विभिन्न क्षेत्रमा ७ वटा पाटे बाघ मरेका छन्। आर्थिक वर्ष २०७४-०७५ मा चितवन राष्ट्रिय निकुञ्जमा ६ र बर्दिया राष्ट्रिय निकुञ्जमा १ गरी ७ वटा पाटे बाघ मरेका हुन्।

चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी नुरेन्द्र अर्यालले जुधेर र आफ्नै कालगति ६ वटा पाटे बाघ मरेको बताए। ‘आहाराका लागि एक अर्कोसँग जुधेर र उमेर पुगेका बुढा बाघहरू मरेका हुन्,’ उनले भने। उनका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा ४ वटा पाटे बाघ मरेका थिए। सन् २०१३ मा सार्वजनिक भएको तथ्यांक अनुसार चितवन निकुञ्जमा १ सय २० वटा बाघ रहेका थिए।

त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा कालगतिले एक बाघको बच्चा (डमरु) मरेको छ। सन् २०१६ को तथ्यांक अनुसार बर्दियामा ६२ पाटे बाघ छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ संरक्षण दिवसको अवसरमा आगामी जुलाइ २९ मा नेपालका बाघको संख्या सार्वजनिक गर्न भएको छ।

नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने लक्ष्य लिएको छ। नेपालले सन् २०२२ सम्ममा २ सय ५० को संख्यामा बाघ पुर्‍याउने लक्ष्य लिएको हो। हाल नेपालमा करीब २ सय ३५ भन्दा बढी बाघ रहेको अनुमान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार