Saturday, September 28, 2024

बागमतीबाट लुगा र प्लास्टिक झिक्न एक्साभेटरको प्रयोग

काठमाडाैं–बागमती नदी सरसफाइ गर्ने क्रममा विशेषगरी प्लास्टिक र कपडा नै प्रमुख फोहोरका रुपमा भेटिएको सफाइमा खटिने अभियन्ताहरूले बताएका छन्।

प्लास्टिकका विभिन्न झोलाहरू, प्लास्टिकका भाडाकुँडा, बोतल तथा लुगा नै फोहोरका मुख्य स्रोत देखिएको अभियन्ता गोविन्द काफ्लेले जानकारी दिए। बागमती सफाइ महाभियानको २७१ आैं हप्ता अन्तर्गत शनिबार गुहेश्वरीमाथि र गोठाटार पुल तल बागमती नदीमा सरसफाइ गर्ने क्रममा पनि फोहोरका रुपमा त्यही प्लास्टिक र लुगा नै मुख्य स्रोत देखिएको उनले बताए।

शनिबार सोही स्थानको फोहोर झिक्न एक्साभेटर प्रयोग गरिएको अर्का अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए। गोठाटार जाने पक्की पुलको छेउमा गएर एक्साभेटरबाट फोहोर कोपरेर निकाल्ने र व्यवस्थापनसँगै सम्याउने काम पनि भएको उनले बताए। सफाइ अभियन्ता पुडासैनीका अनुसार संकलित फोहोरमा अधिकांश लुगार लुगा र प्लास्टिक छन्।

नदी नियन्त्रणका लागि केही वर्ष पहिले लगाएको तटबन्धले पनि फोहोर व्यवस्थापनमा कठिनाइ आएको स्थानीयको भनाइ छ। ‘कहाँकहाँदेखि फोहोर बगाएर ल्याउँछ र त्यसलाई नियन्त्रण गर्न सकिन्न। तटबन्धको तारले त्यस्ता कपडाका फोहोरलाई थुपारिदिएको छ,’ अभियन्ता काफ्लेले भने, ‘पहिले नदी नियन्त्रणका लागि गरिएको वस्तु अहिले नदीको सरसफाइमै बाधा पुग्ने तत्व बनेको छ ।’ उनका अनुसार पुराना टायरसँगै घरायसी सामग्री पनि फोहोरका रुपमा भेटिएका छन्।

मुहानदेखि नै बामतीको सफाइ हुनुपर्छ भन्ने मान्यतासँगै केही साता यतादेखि बाग्मती नदि बग्नेस्थानमा रहेका हरेक वडाका वडा अध्यक्षलाई सफाईको अपनत्व गराउने अभियान पनि थालिएको अभियन्ता पुडासैनीले जानकारी दिए।

शनिबारको सफाइको नेतृत्व वडा नम्बर ६ का वडा अध्यक्ष दीपेन्द्र लामाले लिएका थिए। स्थानीयवासी, सफाइ अभियन्ता, माकलबारी समूह, पुडासैनीमैत्री समाज, हाम्रो जोरपाटी राम्रो जोरपाटी लगायतले सरसफाइ गरेका थिए। प्रदेशसभा सांसद छिरिङ दोर्जे लामाले बागमती शहरको सौन्र्दय भएकाले यसको सौन्दर्यता जोगाइराख्नु सबैको कर्तब्य भएको बताएका छन्।

बागमतीसँगै यसका सहायक नदीहरूको पनि सरसफाइ भैरहेको छ। बागमती सफाइसँगै यसका सहायक नदी बिष्णुमती, रुद्रमती, हनुमन्ते, मनहरा, नदीको पनि सरसफाइ भएको हो। २०७० साल जेठ ५ गतेदेखि निरन्तर रुपमा शनिबारको दिन बागमती सरसफाइ हुँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार