पत्रपत्रिकामा आज : घर बनाउन किनेको पानी, सात सय हेक्टर धानखेत डुबानमा

काठमाडौँ – आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका विभिन्न मुद्दाका विषयलाई समाचार बनाएका छन्।

कान्तिपुर
–आजको कान्तिपुरमा बिनास्वीकृति बालुवा खानी शिर्षकमा प्रशान्त मालीको समाचार छापिएको छ । ललितपुरको वाग्मती गाउँपालिकाको भट्टेडाँडामा बिनाअनुमति बालुवा उत्खनन् भइरहेको छ । बालुवा तस्करले चापागाउँ–सातदोबाटो, छम्पी–भैंसेपाटी र नख्खु करिडोर भएर सहरका विभिन्न स्थानमा अवैध बालुवा पुर्‍याइरहेका छन् । उक्त स्थानबाट बा२ख ८३११, बा४ख ४३८५, बा२क ६२ नम्बरको टिपरबाट बालुवा लोड गरी विभिन्न डिपोमा पुर्‍याइएको थियो । टिपरहरूले चक्रपथ, सातदोबाटो, एकान्तकुना, ग्वार्को, बालाजु, गोंगबु क्षेत्रका डिपोमा बालुवा पुर्‍याउने गरेको वाग्मती गाउँपालिका स्रोतको भनाइ छ ।

तर गाउँपालिकाका पदाधिकारीहरू अवैध रूपमा बालुवा बिक्रीमा आफूहरू संलग्न नभएको दाबी गर्छन् । ‘खानी सबै बन्द गरिसकेका छौं,’ गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन भन्छन्, ‘प्रहरीसँग मिलेमतोमा निकासी भएमा थाहा छैन ।’ उनले स्थानीय भूकम्पपीडितले घर बनाउन लगेको दाबी गरे । ‘बिक्री वितरणमा रोक लगाएका छांै,’ उनले भने । खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा ५ को १ मा खनिज कार्य गर्न चाहने व्यक्तिले गुणस्तर तथा परिमाण यकिन गर्नुपर्छ ।

उत्खनन् गर्न प्रस्तावित योजनासमेत संलग्न गरेर अनुमतिका लागि विभागमा निवेदन दिनुपर्छ । विभागले जाँचबुझ गरी निवेदन दिने व्यक्तिको आर्थिक एवं प्राविधिक क्षमता र खनिज कार्य गर्न योग्य भएको देखिए दस्तुर लिई अनुमति दिने कानुनी प्रावधान छ । हाल उक्त क्षेत्रबाट दैनिक सयभन्दा बढी ट्रिप बालुवा ओसारपसार हुने गरेको छ । बालुवा तस्करले शनिबार खानीखोला हाइड्रो पावरहाउस क्षेत्रबाट अवैध रूपमा बालुवा लोड गरेर लैजाँदै थिए । त्यसका आधारमा बालुवा तस्करले प्रतिक्युफिटका दरले सरकारलाई तिर्नुपर्ने राजस्वसमेत छली भइरहेको छ ।

गोदावरीले यस आर्थिक वर्षका लागि निकासी कर ५ करोड १० लाख रुपैयाँमा ठेक्का लगाएको थियो । वाग्मतीले पनि यति नै रकमको हाराहारीमा आम्दानी गर्न सक्थ्यो । प्राकृतिक स्रोत उत्खनन् गरेबापत् आउने रोयल्टीको ४० प्रतिशत प्रदेश र ६० प्रतिशत स्थानीय सरकारले उठाउने प्रावधान छ । अवैध बालुवा खानी सञ्चालनका कारण स्थानीय सरकार मात्र नभई प्रदेश सरकारको आम्दानीमा समेत हानि पुगेको समाचारमा उल्लेख छ ।

त्यस्तै पहिरोको जोखिममा बस्ती शिर्षकमा अर्को समाचार छापिएको छ । चाँगुनारायण नगरपालिका ४ संगमटोल परियार बस्तीकी ६१ वर्षीया चिनीमाया परियारको घर २०७२ वैशाखको भूकम्पले भत्कियो । आफ्नै घरले पुरिएर चिनीमाया घाइते भइन् । झन्डै ६ महिनाको उपचारपछि उठेकी उनले सुखको सास फेर्न भने पाइनन् । ‘भूकम्पपछि टहरामै ४४ वर्षीय छोरा (बलबहादुर परियार) लाई गुमायौंं,’ उनले भनिन्, ‘४ वर्षदेखि ७० वर्षीय श्रीमान् इच्छाराम पक्षघातका बिरामी छन् ।’

भूकम्पपछिको करिब ३८ महिनादेखि उनको ५ जनाको परिवार अस्थायी टहरामा बसिरहेका छन् । जसोतसो भूकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण थालेका चिनीमायाको परिवारमा अर्को विपद् आइलाग्यो । ‘भत्किएको घर ऋण गरेर बनाउन सुरु मात्र गरेका छौं,’ उनले भनिन्, ‘ढलान लेभलसम्म उठाएको घर लगातारको वर्षाले पहिरोको जोखिममा छ ।’ भूकम्पले घरबाट टहरामा विस्थापित परिवारमा वर्षात्सँगै आएको पहिरोले अर्को पीडा थपेको छ । ‘अनुदानको रकमले जग खन्न पनि पुगेन,’ भवानीले भनिन्, ‘८ लाख ऋण नै छ, निर्माणाधीन घर पहिरोको उच्च जोखिममा छ ।’ परियार बस्तीकै साइँली परियारको पीडा पनि उस्तै छ । भूकम्पपछि ६ जनाको परिवार अस्थायी टहरामा बस्दै आएका छन् ।

‘क्षतिग्रस्त घर पुनर्निर्माण गरी ढलान लेभल पूरा भएको छ,’ उनले भनिन्, ‘दुस्ख गरेर बनाएको घर पहिरोले लैजाने भयो ।’ संगमटोल परियार बस्तीका अधिकांश भूकम्पपीडित अस्थायी टहरामा बसोबास गर्छन् । परियार बस्तीका करिब ६ घरधुरी पहिरोको उच्च जोखिममा छन् । २ घरपरिवार विस्थापित भएको चाँगुनारायण–४ की वडा महिला सदस्य राममाया मिजार बताउँछिन् । अव्यवस्थित रूपमा बस्तीको चारैतिरबाट इँटाभट्टाका लागि माटो उत्खनन गर्ने, बालुवा झिक्नुले विपन्न दलित बस्ती जोखिममा परेको स्थानीय बासिन्दा बताउँछन् । नगरपालिकाले गत आर्थिक वर्ष कार्यविधि नै नबनाई माटो निकाल्ने तथा ओसारपसारको स्वीकृति दिएको थियो । जिल्लामा सञ्चालित बालुवा, माटो, ढुंगालगायत २६ खानीको फाइल अख्तियारले लगेको नाममा स्थानीय प्रशासनले खानी बन्द गराए पनि अवैधानिक खानीका कारण पहिरोको जोखिम बढेको स्थानीय कामना परियार बताउँछिन् ।

अवैधानिक रूपमा सञ्चालित खानीकै असरले परियार बस्तीलगायत चाँगुनारायण क्षेत्र पहिरोको जोखिममा परेको परियारले बताइन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि चाँगुनारायण नगरपालिका ४ नम्बर वडा कार्यालयले टेको पर्खाल निर्माणका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला विपद् व्यवस्थापन कार्यालयलाई पत्राचार गरेको नगर सदस्य दिनेश खनालले बताएको समाचारमा जनाइएको छ ।

त्यसैगरी घर बनाउन किनेको पानी शिर्षकमा विमल खतिवडाको समाचार छापिएको छ । हलेसी तुवाचुङ नगरपालिका ७, कात्तिकेका बडीराज राई एक रुपैयाँ लिटरका दरले पानी किनेर घर ठड्याउँदै छन् । उनलाई ढुंगाको पनि उस्तै समस्या छ । भूकम्पले घर भत्किएको ३ वर्ष पुग्दा पनि पुनर्निर्माण गर्न सकेका छैनन् । ‘पानीको हाहाकार छ, ढुंगा पनि पाइँदैन,’ उनले भने ।

पानी अभाव उनको मात्र होइन, सिंगै गाउँको समस्या हो । ‘पिउने पानीसमेत छैन,’ स्थानीय थामबहादुर राईले भने, ‘पानी अभावले गर्दा निर्माणमा ढिलाइ भएको हो ।’ उनले असार लागेपछि मूल फुटेकाले घर बनाउन थालेको बताए । उनले घरको डीपीसी मात्र उठाएका छन् । ‘३ वर्षदेखि पानीको समस्या छ,’ पहिलो किस्ताको ५० हजार बुझेका थामबहादुरले भने, ‘घर पूरा हुन ५ लाख लाग्ने अनुमान गरेको छु ।’ हलेसी क्षेत्रमा भूकम्पपछि खानेपानीको समस्या थपिएको स्थानीयको बुझाइ छ । घन्टौं टाढाका कुवा, खोला र धाराबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।

आइतबहादुर विकले घर पुनर्निर्माणका लागि दोस्रो किस्ता बुझे । तर निर्माण डीपीसीमै अड्किएको छ । ‘सधैं पानीकै पीर छ,’ उनले भने, ‘खानेपानी छैन, घर बनाउन कहाँबाट ल्याउनु रु’ यो समस्या हलेसी मन्दिर क्षेत्रमा बढी छ । भौगोलिक विकटता छ । नगरपालिकाका मेयर इवन राईका अनुसार वडा नम्बर ८ धितुङका ४ परिवार खानेपानी अभावले बसाइँ सर्न बाध्य भएका छन् । ‘नगरपालिकाका १ देखि ७ वडा सुक्खा क्षेत्रभित्र परेका छन्,’ उनले भने, ‘ती वडालाई मध्यनजर गर्दै कोसीको पानी लिफ्टिङमार्फत ल्याउने गरी टेन्डर भइसकेको छ ।’ राईका अनुसार भूकम्पपीडितले घरछेउ ठूलो खाल्डो बनाएर वर्षाको पानी जम्मा गरेका छन् । त्यही पानीले घर बनाउने तयारी गरेका छन् । उनले खानेपानी वितरण गर्न नगरपालिकाले ट्यांकर व्यवस्था गरेको बताए । नगरपालिकाले स्थानीयले पानी लिएबापत ट्यांकरलाई तेल भाडा दिने गरेको जनाएको छ । अधिकांशले एक रुपैयाँ लिटरमा पानी लिने गरेको बताए ।

‘हामी कार्यविधि बनाउँदै छौं,’ मेयर राईले भने, ‘त्यसपछि प्रतिलिटर पानीको ३० देखि ३५ पैसा पर्नेछ ।’ उनका अनुसार ०७१ सालमा सरकारको नीति तथा कार्यक्रममार्फत हलेसीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । १ देखि ७ वडामा करिब २० हजार जनसंख्या छ जसमध्ये ५० प्रतिशतले पानी किनेर घर बनाउनुपर्ने बाध्यता रहेको राईले बताए । यहाँका ११ वटा वडामध्ये १० वटामा कोसी बग्छ । तर, अहिले कोसीको पानी लिफ्टिङ माध्यमबाट वितरण गर्न स्रोतसाधन छैन ।

छिमेकी जिल्ला ओखलढुंगामा पनि यही समस्या छ । सिद्धिचरण नगरपालिका २ निशंखेका श्यामकुमार कटवालले अहिलेसम्म एक किस्ता मात्र पाएका छन् । दोस्रो किस्ताका लागि निवेदन दिइसकेका छन् । दुईतले घर बनाउने तयारीमा रहेका उनले ठूलो समस्या पानीकै रहेको बताए । ‘अहिलेसम्म पानीको मात्र १८ हजार तिरिसकें,’ उनले भने, ‘ट्याक्टरमा हिल ट्यांकमा राखेर पानी ल्याउने गरिएको छ, एक लिटरको १ रुपैयाँ पर्छ ।’ उनका अनुसार ६ किमि टाढा छरछरेबाट हिलटेकमा पानी भरेर ट्याक्टरमा ल्याउने गरिएको छ । यो समस्या सिंगो वडाभरि छ । ‘वडाका सबै गाउँमा पानी किन्नु र बोक्नुपर्ने बाध्यता छ,’ २ नम्बर वडासचिव माधवप्रसाद भट्टराईले भने, ‘१ सय ३ लाभग्राहीमध्ये ५० जनाले यो समस्या झेल्नुपरेको छ ।’ पानी अभावले गर्दा भूकम्पपीडितले समयमै निर्माणको काम सक्न पाएका छैनन् । अधिकांशले घर बनाउन वर्षात कुरेर बस्नुपर्‍यो । ‘मुहान तल छ, बस्ती माथि छ,’ भट्टराईले भने, ‘जसले गर्दा गाउँलेसामु पानी बोक्नु र किन्नुको विकल्प छैन ।’

नागरिक
–आजको नागरिकमा महलीसागर बाँधको कहर : सात सय हेक्टर धानखेत डुबानमा शिर्षकमा किरणमान बज्रचार्यको समाचार छापिएको छ । असार दोस्रो साता यशोधरा गाउँपालिका–५, बैदौली भगवानपुरका ७५ वर्षीया फुर्सतअली धुनियाले तीन बिघा खेतमा धान रोपे। अहिले उनको धानखेत पूरै डुबानमा छ। वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन्। खेत डुबानमा पर्नुको कारण भारतले सीमा क्षेत्रमा पर्ने आफ्नो भूमिमा बनाएको महलीसागर बाँध हो। बाँधका कारण वर्षाको पानीले सहज निकास नपाएपछि नेपालतर्फको भूमि डुबानमा पर्छ । यो समस्या सीमाक्षेत्रका नेपालीले भोग्दै आएका छन्।

धुनियाले डुबानमा परेको खेत देखाउँदै भने, ‘यसपालि भारतले बनाएको महलीसागर बाँधले रोपेको धान पूरै सखाप भयो ।’ गत वैशाखदेखि भारतीय पक्षले बाँधको पूरै ढोका बन्द गरेकाले अहिले बर्खाको पानीले सहज निकास नपाएर रोपोसहित खेत डुबानमा परेको उनले बताए। खेत रोप्दा बिउ र ज्याला गरी २० हजार रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए। उत्पादन हुने धान बेचेर गर्जो टार्दै आएका धुनियाले यस वर्ष आफैंलाई पनि खानलाउन समस्या पर्ने बताएका छन्।

धुनियाजस्तै भगवानपुरका धनराज यादवको १० कठ्ठा खेत पनि डुबानमा परेको छ । समयमै वर्षा भएकाले धान रोपेर खुसी भएका उनी पनि असार १५ को वर्षापछि खेत डुबानमा परेकाले चिन्तित छन्। महलीसागर बाँधकै कारण आफ्नो धानखेत डुबेको उनी बताउँछन्। ‘धान रोपेको खेत डुबानमा परेको छ’, उनले खेततर्फ देखाउँदै भने, ‘खेतजति सबै पोखरी बनेको छ, रोपो पनि पानीले खाएको छ।’ उनले धान रोप्दा लागेको लगानी र परिश्रम खेर गएको दुःखेसो पोखे। उनले भने, ‘अब परिवार पाल्नै मुस्किल पर्ने भो।’

थानेदार धोबी पनि महलीसागर बाँधका कारण पीडित छन्। उनी भन्छन्, ‘रातदिन मेहनत गरी खेती गर्छौं, वर्षासँगै आउने बाढीले सहज निकास नपाउँदा हाम्रो महिनौंको मेहनत एकछिनमै खत्तम हुँदा टाउकोमा हात राखेर रुनुभन्दा अर्को विकल्प छैन।’

महलीसागर बाँधका कारण बर्खाको पानीले सहज निकास नपाएपछि धुनिया, यादव र धोबीमात्र होइन पूरै चार गाउँको सात सय बिघा खेत डुबानमा परेको किसान बताउँछन्। भगवानपुर, भैसहिया, लाहरौली, मुडिला गाउँको धानखेत डुबानमा परेको छ। सो बाँध बनेपछि बर्सेनिजसो किसानले डुबान समस्या बेहोर्दै आएका छन्। लगाएको खेती राम्रोसँग भित्र्याउन पाएका छैनन्। भारत सरकारले बर्खामा बाँधका सबै ढोका खोले खासै समस्या पर्दैन। तर यस वर्ष बाँधका १५ वटै ढोका बन्द गरिएपछि नेपाली भूमी डुबानमा परेको स्थानीय सन्तराम केबटले बताए।

भारतले सिद्धार्थनगर जिल्लामा पर्ने महलीसागर तालमा बाँध बनाएका कारण बर्खाको पानीले सहज निकास नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ। नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ नजिकै बाँध छ। भारतीय पक्षले यस बाँधलाई मर्मत गर्ने बहानमा पहिलाभन्दा अग्लो बनाएको छ। बाँधको ढोकामा काठको फल्याक राखेर पानीको बहाव रोकिएको छ। जसले गर्दा दसगजा क्षेत्रसमेत डुबानमा छ। बाँधका ढोका खोल्न आफूहरुले भारतीय पक्षलाई पकटपटक आग्रह गरे पनि सुनुवाइ नभएको अर्का किसान मोहम्मद उमरले बताए । सोही बाँधका कारण राम्ररी खेती गर्र्न नपाएको गुनासो कयुम मुसलमानको छ। ‘वर्षायाममा बाँधको ढोका बन्द गरिन्छ, हिउँदमा खोलिन्छ। यसले गर्दा सधैं नेपाली किसान मर्कामा पर्दै आएका छौं’, उनले भने, ‘पानी चाहिँदा सुक्खा हुन्छ, वर्षामा डुबान हुन्छ।’ भारतीय किसानलाई भने बाँधले फाइैदाफाइदा पुगको नेपाली किसानको भनाइ छ। दीर्घकालीन रुपमा डुबान समस्या समाधान नहुँदासम्म आफूहरु पीडित भइरहने बताउँछन् अर्का किसान धनराज यादव। उनको धानखेत पनि डुबानमा रेहेको समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा तिमाङ खोलाको बाढीले यातायात सञ्चालनमा समस्या शिर्षकमा शान्ता कमलीको समाचार छापिएको छ । वर्षायामसँगै हिमाली जिल्ला मनाङअन्तर्गत चामे गाउँपालिका १ मा रहेको तिमाङ खोला सडकखण्डको यात्रा कष्टकर बनेको छ । लगातारको वर्षाले दैनिकजसो खोला बढ्दा यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको हो ।

तिमाङ खोलामा पुल नहुँदा लमजुङ हुँदै मनाङ चल्ने सवारीसाधन पटकपटक अवरुद्ध हुँदै आएका छन् । खोलामा बाढी आउँदा जोखिमपूर्ण रूपमा सवारी चलाउनुपरेको लमजुङ–मनाङ सडकखण्डका जिपचालक नारायण भण्डारीले बताए ।

वर्षायाममा सवारी चलाउन धेरै गाह्रो हुने, रातभरि परेको पानीले खोला बढ्नेबित्तिकै यातायात अवरुद्ध हुने गरेको र अन्य स्थानमा समेत कहाँ पहिरो खस्छ भनेर डराइडराई हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘एकातिर तिमाङ खोलाको बाढीको समस्या छ भने अर्कोतिर कच्ची सडक र भिर, पहरा धेरै भएकाले वर्षामा पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्या बढेको छ,’ उनले भने ।

तिमाङ खोलामा बिहीबार आएको बाढीका कारण लमजुङ–मनाङ खण्डमा पर्ने तिमाङ खोला बढेसँग सीधा यातायात अवरुद्ध भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनका अनुसार तिमाङ खोलामा मोटरेबल पुल नबन्दा दैनिकजसो यात्रु अलपत्रमा पर्छन् । पुल निर्माण गर्ने भन्दै २ वर्षअघि बेस राखिए पनि बाढीले बगाएपछि समयमै निर्माण कार्य पूरा हुन सकेन । त्यसयता, हालसम्म पुल निर्माणको काम सुरु नभएको घलेले बताए ।

वर्षायाममा जिल्लाभरको यातायात सेवा प्रभावित हुने गरेको मनाङ पर्यटन विकास समितिका अध्यक्ष विनोद गुरुङले बताए । ‘हिउँदमै जीर्ण अवस्थामा पुगेका सडक सवारी हिँडाउन नसकिने गरी बिग्रेका छन्, उनले भने । मुख्य सडकबाहेक अन्य भेगका सडक पनि वर्षायाममा बिग्रने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले डिभिजन सडक कार्यालयलाई म्यार्दी खोलामा छिटो पुल बनाउन घचघच्याइरहेको बताए । डिभिजन सडक कार्यालय दमौलीका अनुसार पानीका कारण निर्माणमा समस्या आएको छ । म्यार्दीमा २ वटा ह्युमपाइप राखिएको र फेरि २ वटा राख्न बाँकी छ । सडकमा आउने समस्या तत्काल समाधान गर्न एउटा एक्स्काभेटर राखिएको छ ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीका अनुसार म्यार्दीखोलामा पुल निर्माण सकेपछि तिमाङ खोलाको पुल निर्माण हुनेछ । पुल निर्माण भइरहेको म्यार्दी खोला लमजुङको बेँसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमिटर दूरीमा पर्छ । ०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपुल ०७२ जेठमा भाँचिएको समाचारमा उल्लेख छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा पहिरोमा परी ४ को मृत्यु शिर्षकमा ललित सिंहको समाचार छापिएको छ । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये ३ जना एकै परिवारका हुन् ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीय महेश्वरी थापा र उनका ६ वर्षीय छोरा कृष्ण थापा र सोही गाउँका–२० वर्षीय मंगल थापा रहेको घटनास्थलबाट वडा सदस्य प्रेमबहादुर थापाले बताएका छन् ।

पहिरोमा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका ५ वर्षीय कविराज थापा र रिकेश थापा रहेका छन् । गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उजली थापा, उनकी बुहारी महेश्वरी थापा र उनका छोरा कृष्ण थापा एकै परिवारका हुन्। महेश्वरी थापा खप्तड छान्ना गाउँपालिका–६ की महिला स्वास्थ्य स्वयम्सेविका पनि हुन् । घरबाट घाँस लिएर पारीछाना भन्ने ठाउँमा जाँदै गर्दा बीचमा पहिरोमा परी उनीहरुको घटनास्थलमै ज्यान गएको वडा सदस्य थापाले बताएका छन् ।

घाइतेहरुको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएपछि थप उपचारका लागि जिल्ला सदरमुकाम चैनपुर पठाइएको छ भने गाउँमा रुवाबासी चलेको छ । गाउँले शोकमा डुबेका समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार