१५ वैशाख, कञ्चनपुर।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ ।
गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरूमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ ।
‘प्रायः तालहरू गर्मीका कारण सुकिरहेको भए पनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ’, निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्लेले भने, ‘निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरूमा पानीको सतह निकै कम हुँदै गएको छ ।’
बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरू सुक्न थालेका उनले बताए । ताल छेउछाउमा जडान गरेका सोलार जंगली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ’, वाग्लेले भने, ‘वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरूमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।’
विश्वमै बाह्रसिंगाको दुर्लभ झुण्ड देख्न पाइने शुक्लाफाँटा निकुञ्जभित्रका प्राकृतिक तालहरू संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै संकटमा छ ।
निकुञ्जभित्रका १ दर्जनभन्दा बढी ताल पुरिँदै गए पनि बजेट अभावका कारण सरसफाइ गर्न नसकिएको वाग्लेले बताए । उनका अनुसार यो निकुञ्जमा कृत्रिम र प्राकृतिक गरी १ सय २० वटा तालतलैया छन् ।’
विश्वमै दुर्लभ २ हजार ४ सयभन्दा बढी बाह्रसिंगा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४ सय ३० भन्दा बढी प्रजातिका चराचुरूंगी छन् । बाघ गणना यस वर्ष सकिएको छ भने अहिले निकुञ्जभित्र बाह्रसिंगा गणना चलिरहेको छ ।
रासस





