५ जेठ, काठमाडौँ।
बढ्दो मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक कार्यदल गठन भएको छ ।
वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधारसँगै स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको कार्यदलमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञसहितको १५ सदस्य छन् । कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्नेछ ।
सूचकका आधारमा विभिन्न पालिकाका २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । तीनै तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीनालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन कार्यदलले मन्त्रालयलाई सुझाव दिने छ ।
कार्यदलले दिएको सुझावका आधारमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ ।





