Friday, September 27, 2024

प्रदेश २ काे वातावरण जाेगाउन दीर्घकालीन याेजना ल्याउन सरकारलार्इ सुझाव (भिडियाेसहित)

जनकपुर– प्रदेश नम्बर २ मा वातावरणका सवालहरू गम्भीर बन्दै गएकाले त्यसलाई सम्बोधन गर्न तत्काल अल्पकालीन र दीर्घकालीन योजना ल्याउन सरोकारवालाहरूले प्रदेश सरकारलाई सुझाव दिएका छन्।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले बुधबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आयोजना गरेको ‘सञ्चार बहसः प्राथमिकतामा वातावरण’ विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विगतमा भएका त्रुटि एवं कमिकमजोरीलाई सच्याउँदै वातावरण जोगाउन तत्काल बृहत योजना तयार पार्न आग्रह गरेका हुन्।

संघीय र प्रदेश सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने जोड दिँदै सहभागीहरूले चुरे संरक्षणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरे। विकासका परियोजनाहरू अगाडि बढाउँदा वातावरणका सवाल ख्याल नगर्दा विकास नभइ विनास भइरहेको सहभागीको राय थियो। राष्ट्रपति चुरे–तराई/मधेस संरक्षण कार्यक्रम प्रभावकारी नभएको र यसका पदाधिकारीहरू संरक्षणमा गम्भीर नदेखिएको उनीहरूको आरोप छ।

सरोकारवालाले वातावरणीय मुद्दामा व्यापक जनमत सिर्जना गर्न आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ सबैभन्दा कम वन भएको प्रदेश हो। त्यसैले यहाँ हरेक वातावरणको बहसमा चुरेको संरक्षण उच्च प्राथमिकतामा पर्ने गर्दछ। तर, पछिल्लो समयमा चुरेको संरक्षण नभइ विनास भइरहेको छ। ध्वनी प्रदूषण जनकपुरको अर्काे एक प्रमुख वातावरणीय समस्याको रुपमा रहेको छ।

कार्यक्रमको उद्देश्य र यसका लक्ष्यका बारेमा जानकारी गराउँदै नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक सुबोध गौतमले सडक निर्माणको परम्परागत अवधारणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए। ‘सडक निर्माणसँगै साइकल लेन, पैदयात्रु हिँड्ने बाटो पनि बन्नुपर्छ अनि रुख पनि रोप्न आवश्यक छ,’ गौतमले भने।

गौतमले आफूहरुले राजनीतिक मुद्दामा बहस नगर्ने र नेफेजको प्रमुख लक्ष्य प्रकृति एवं वातावरणको एजेण्डा उठाउने रहेको बताए। उनले भने, ‘देश विकासको चरणमा प्रवेश गरेको छ तर, विकासले वातावरण र प्रकृतिमा नकारात्मक असर नगरोस्। खोला, वन, जंगल र सरसफाइमा हामीले ध्यान दिनुपर्ने आवश्कयता छ।’

नेफेजका अध्यक्ष अर्जुन ढकालले प्रदेश नम्बर २ का वातावरणीय बृहत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले विशेषत स्थानीय, क्षेत्रीय र सीमापार विषयमा केन्द्रित रहेर आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। ढकालको प्रस्तुत कार्यपत्र वनविनास, माटोको क्षयीकरण र पानीका श्रोत तथा प्रदूषणमा केन्द्रित थियो। उनले विभिन्न संघसंस्थाले विशेषत अहिलेको प्रदेश नम्बर २ लाई आधारित बनाएर गरिएका अध्ययनहरुको निचोड प्रस्तुत गरेका थिए।

देशका विभिन्न भागमा वायु प्रदूषणको तथ्यांक प्रस्तुत गर्दै ढकालले प्रदेश २ को वायु प्रदूषणको विषय सिमापार दृष्ट्रिकोणले हेर्नुपर्ने बताए। ढकालले भारतको प्रदूषणले नेपालको वातावरणमा पार्ने नकारात्मक असरको बारेमा विस्तृतमा जानकारी गराएका थिए। उनले प्रस्तावित निजगढ विमानस्थल निर्माणले वातावरणमा पार्ने नकारात्मक असरको बारेमा सहभागिको ध्यानाकर्षण गराए।

पत्रकार चन्द्रकिशोरले प्रदेश नम्बर २ मा वातावरणका एजेण्डाको बारेमा आफ्नो प्रस्तुति गरेका थिए। उनले विशेषगरी स्थानीय जनताको गतिविधिले वातावरणमा पर्ने नकारात्मक असर र नेपालसँग सीमाना जोडिएका भारतका विभिन्न राज्यका गतिविधिले प्रदेश नम्बर २ को वातावरणमा पारेको असरको बारेमा विस्तृतमा आफ्नो प्रस्तुति राखेका थिए। चन्द्रकिशोरले पछिल्लो दशकमा मधेसमा तीव्र रुपमा वन विनास भइरहेको तर, त्यसलाई रोक्नेतर्फ कसैको ध्यान नपुगेको गुनासो गरे।

‘प्रदेश नम्बर २ मा ८४ वटा स्थानीय तह वनविहिन छन्। पुराना रुखहरुको अस्तित्व खतरामा छ, वन्यजन्तुको बासस्थान अतिक्रमणका कारण हराउँदै गएका छन् । हामीले व्यापक रुपमा वन फडानी गरिरहेका छौं। तर, त्यहि अनुपातमा विरुवा रोप्ने काम गरेका छैनौ,’ उनले भने। उनले चुरेको चरम दोहोन र त्यहाँका स्रोत एवं साधनहरुको चोरी निकासी भइरहेको बताए।

उनले प्रदेश नम्बर २ मा तीव्र रुपमा प्लस्टिक प्रदूषण बढेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए। ‘सर्लाही र पर्सामा अझ बढी वन विनास भइरहेको छ, राजनीतिक संरक्षणमा वनको व्यापार भइरहेको छ। वन फडानीका कारण बाढीपहिरोको प्रकोप बढिरहेको छ,’ उनले भने। पहिला प्रकृति र संस्कृति एकआपसमा जोडिएको भएपछि पछिल्लो समयमा त्यो संस्कृति हराउन थालेको उनले बताए।

पछिल्लो समयमा बिलासिताको सामग्रीको प्रयोग बढ्दो क्रममा रहेकाले त्यसले वातावरणमा नकारात्मक असर परेको भन्दै उनले स्थानीय तहबीच प्रभावकारी समन्वय नभएको कमजोरी औंल्याए।  चन्द्रकिशोरले खुला ढल निकास प्रदेश नम्बर २ को ठूलो समस्या बनेको बताए। उनले वातावरणको विषयमा परम्परागत ज्ञानलाई प्रयोग नभएका कारण पनि समस्या उत्पन्न भएको बताए।  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले वातावरणमा पार्ने नकारात्मक असरका बारेमा विस्तृतमा प्रस्तुत गरेका चन्द्रकिशोरले भने, ‘वन फडानीको कारणले दक्षिण भागमा पानीको समस्या उत्पन्न हुन्छ, वातावरण प्रभाव मूल्यांकन पनि पूर्ण छैन।’

चन्द्रकिशोरको कार्यपत्रमा टिप्पणी गदै प्रदेश सांसद रामअशिष यादवले जनकपुरमा वायु र ध्वनी प्रदूषण धेरै रहेको जानकारी दिए। उनले मानिसले प्रकृतिसँग खेलवाड गरेका कारण विनास निम्तिएको बताए। यादवले चुरेकाे वनजंगलको संरक्षणविना प्रदेश २ को मात्र नभइ देशको नै विकास हुन नसक्ने बताए। उनले शासकवर्गको ध्यान वनजंगलको स्रोतसाधन र काठमा रहेको बताए। यादवले राणाशासनदेखि अहिलेसम्मक हरेक राजनीतिक आन्दोलनको समयमा योजनावद्ध ढंगले वन विनास भइरहेको बताए।

ढकाल र चन्द्रकिशोरको प्रस्तुतिपछि सहभागीहरुबीच छलफल भएको थियो। सो छलफलको सहजीकरण नेफेजका महासचिव रमेश भुसालले गरेका थिए। भुसालले वातावरणमा घरेलु र सीमापार विषयमा जानकारी दिँदै अब विकास नयाँ सिराबाट शुरु गर्नुपर्ने बताए।

पत्रकार अजयकुमार झाले प्रदेश नम्बर २ को मुख्य समस्या चुरेको विनास रहेको बताए। उनले चुरेको विनास रोक्न संघीय सरकारले केन्द्रिकृत सोच र मानसिकतामा परिवर्तन गर्नुपर्ने बताए। चुरेमा अव्यवस्थित बस्ती रहेको बताउँदै झाले चुरेमा अव्यवस्थित फडानी रोक्नुपर्ने र बस्तीलाई व्यवस्थित बनाउनुपर्ने बताए। ‘संघीय र प्रदेश सरकारबीच समन्वय छैन, चुरे कार्यक्रम प्रभावकारी भएको छैन, कागजमा मात्र सीमित छ,’ उनले भने।

वन प्राविधिक सुरेश शर्माले वातावरण संरक्षणमा राजनीतिक दलले इमान्दारिता नदेखाएको गुनासो गरे। उनले चुरेमा बस्ती बढाइएको र अहिले झन ‘मेगासिटी’, मेडिकल कलेजसँगै ठूला आयोजनाहरु निर्माण गर्न थालिएको बताए। वातावरणको विषय उठाउँदा राजनीतिक नेतृत्वले कर्मचारीको नै सरुवा गर्न थालेको उनको भनाइ थियो। उनले प्रसारण लाइनहरु चुरेमा धमाधम निर्माण भएको र त्यसले चुरेमा नकारात्मक असर गरेको बताए। ‘हामी जनकपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने भनेका छाैं तर, जनकपुरमा अहिलेसम्म एउटा पनि बगैचा छैन,’ उनले भने ।

वन प्राविधिक समाज जनकपुरका अध्यक्ष रामसुहार्थ साहले चुरे क्षेत्र विनास हुनुका साथै यसबाट निस्केका नदीनाला दुर्गन्धित हुँदै गएको बताए। ‘जबजब नेपालमा राजनीतिक उथलपुथल भएको छ, त्यतिबेला वन विनास भएको छ र वन राजनीतिको खेल मैदान भएको छ,’ उनले भने, ‘राजनीतिक नेतृत्वको दुरदृष्टिको अभावका कारण वन विनास भइरहेको छ।’

सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरीका अध्यक्ष चन्द्रदेव चौधरीले वातावरण सफा राख्न घर र समाजबाट नै शुरुवात गर्नुपर्ने बताए। ‘राष्ट्रपति चुरे–तराई/मधेस संरक्षण कार्यक्रम प्रभावकारी बन्न सकेको छैन,’ उनले भने।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर २ संयोजक सोम शर्माले संघीय सरकारको सोच गलत भएकाले वातावरण संरक्षण हुन नसकेको बताए। ‘वातावरणमैत्री प्रदेश वनाउन भुउपयोग नीति ल्याउनुपर्छ। ढुंगा, गिट्टी र बालुवाको अनधिकृत प्रयोग रोक्नुपर्छ,’ उनले भने।

सामाजिक संस्था जीवन केन्द्रका कमल पंकजले चुरे यस क्षेत्रको वातावरणको मियो भएको बताए। उनले भने, ‘चुरे र दशगजा अन्तरसंवाद आवश्यक छ।’ सामुदायिक सुधार केन्द्रका सञ्जय साहले वातावरणको विषयमा छलफल हुँदा चुरे क्षेत्र पहिलो प्राथमिकतामा पर्ने गरेको उनले बताए। ‘हामी बहस मात्रै गर्ने हो कि चुरको संरक्षणमा पनि केही गर्ने हो ? चुरेमा रहेको गैरकानुनी बस्ती हटाउन ढिलाइ भइरहेको छ,’ उनले भने।

पत्रकार मोनिका झाले वातावरणका विषयहरू प्रदेशसभा र राजनीतिक दलहरुको प्राथमिकता नपरेको बताइन् । उनले वातावरणसँग सम्बन्धित कतिपय विषयमा अदालतले दिएका आदेशको पनि पालना नभएको बताइन्।

प्रदेश २ का सांसद रामचन्द्र मण्डलले वातावरण अहिलेको सबैभन्दा प्राथमिकताको विषय रहेको बताए। ‘हामी सबै पैसामा केन्द्रित छौं तर, वातावरणको विषयमा भने कुनै चिन्ता छैन,’ उनले भने।  महात्मा गान्धीले ‘सादा जीवन, उच्च विचार’ भनेकाे स्मरण गर्दै उनले भने, ‘अब हामीले सादा जीवन, ग्रिन लिभिङ बनाउँनुपर्दछ।’ उनले चुरेमा विभिन्न राजमार्गहरु निर्माणले गर्दा पनि चुरेमा नकारात्मक असर गरेको aताए।

प्रदेश सांसद रामसरोज यादवले हरेक व्यक्ति इमान्दार भएमा वातावरणका धेरै समस्या आफैं समाधान हुने बताए। उनले राजनीतिक परिवर्तनसँगै त्यसको शिकार वनजंगल वन्ने गरेको बताए। ‘सरकारी निकाय र कर्मचारी पनि वन विनासका लागि दोषी छन्,’ यादवले भने। यस क्षेत्रको वातावरणको एउटै समाधान चुरेको संरक्षण भएको भन्दै यसले सिंचाइ, पानी, खानेपानी, वनको संरक्षण हुने बताए। उनले यही अवस्था रहेमा अबको ३० वर्षमा जनकपुरमा खानेपानीको अभाव हुने बताए।

कार्यक्रममा उठेका विषयहरुलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले वातावरण विश्वकै प्रमुख सवाल रहेको बताए। उनले भने, ‘हामी वातावरण संरक्षणमा गम्भीर भएर नलाग्ने हो भने भावि दिनमा हाम्रो अस्तित्व नै खतरामा पर्न सक्छ।’

मन्त्री यादवले विकासको नाममा पैसा कमाउने नभइ दीर्घकालीन सोचका साथ अगाडि बढ्न आग्रह गरे। वातावरणमा आएको समस्याका कारण हरेक सिजनका प्रदेश नम्बर २ का जनताले विभिन्न समस्याहरु भोग्नुपरेको उनले बताए। ‘विकासको नाममा हामीले विनास गरिरहेका छांै। चुरेको माथिल्लो भागमा हामीले राजमार्ग निर्माण गरेका छांै, जसले चुरेलाई नकारात्मक असर गरिरहेको छ,’ मन्त्री यादवले भने।

चुरेमा अतिक्रमण रोक्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘त्यहाँ रहेको खुला चरीचरण पनि रोक्नुपर्छ अनि ठूला विकास निर्माण गर्दा ध्यान पुर्याउन आवश्यक छ। हामी आफ्नो राजनीतिक स्वार्थको लागि तराईलाई मरुभूमिमा परीणत गरिरहेका छौं।’

कार्यक्रमको अन्त्यमा प्लास्टिकमुक्त अभियानलाई अगाडि बढाउने उद्देश्यले कपडाको झोला प्रमुख अतिथिसहित अन्य सहभागीलाई प्रदान गरिएको थियो। सो झोला वितरण सामाजिक अभियन्यता सुरेश शर्माले गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार