Friday, September 27, 2024

प्रदूषण जाँच अनिवार्य गर्ने मिति सरेको सर्‍यै

काठमाडौं– चारपांग्रे सवारीसाधनमा अनिवार्य रूपमा जाँच पास गराएर हरियो स्टिकर लिनुपर्ने नियम लागू गर्ने मिति फेरि सरेको छ।
यातायात व्यवस्था विभागले पछिल्लो समय साउन १ गतेदेखि काठमाडौं उपत्यकासहित मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकामा गुड्ने सवारीसाधनको अनिवार्य रूपमा प्रदूषण जाँचपास गर्ने घोषणा गरेको थियो।
तर, पेट्रोलबाट चल्ने सवारीसाधनले फ्याँक्ने धुवाँको मात्रा ग्याँस एनालाइजर र डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच ‘डिजेल स्मोक मिटर’ मेसिन सम्बन्धित स्थानीय तहमा नपुगेको भन्दै विभागले प्रदूषण जाँच अनिवार्यको मिति भदौ १ गतेका लागि सारेको छ।
‘प्रदूषण जाँच सम्बन्धी उपकरणहरू कुनै कार्यालयमा पुगिसकेका र कुनै कार्यालयमा पुग्ने क्रममा रहेका छन्,’ विभागका प्रवक्ता तुल्सी अर्यालले भने। उनका अनुसार ती कार्यालयका कर्मचारीले उपकरण सञ्चालन सम्बन्धि तालिम लिएर सवारीको प्रदूषण जाँच गर्न केही समय लाग्ने भएकोले मिति सारिएको हो।
सरकारले यसअघि उक्त नियम वैशाख १ गतेदेखि लागू गर्ने भनेको थियो। तर, मेसिन आपूर्तिमा ढिलाइ भएकोभन्दै साउन १ गतेका लागि सारिएको थियो।
विभागले भदौ १ गतेदेखि  काठमाडौं उपत्यका र सबै महानगरपालिका तथा उपमहानगरपालिकाहरूभित्र सञ्चालन हुने सम्पूर्ण चारपाङ्ग्रे सवारीका साधनहरूमा अनिवार्य रुपमा आँफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई सवारी साधन चेकजाँच गराई हरियो स्टिकर लिएर सवारी साधनहरूमा टाँस्न अनुरोध गरेको छ ।
अर्यालका अनुसार डिजेल गाडीको प्रदूषणको मापदण्ड जाँच गर्न ‘स्मोक मिटर’ २० र पेट्रोल गाडीको प्रदूषणको मापदण्ड जाँचका लागि ‘ग्यास एनालाइजर’ २० वटा गरी ४० मेसिन ल्याइसकिएको छ।  ती मेसिन विभाग अन्तर्गतका १५ वटा कार्यालय र ६ वटा सेवा कार्यालयमा पठाउने छ।
सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने तथा  धुवाँको मात्रा २ दशमलव ४४ एचएस्यु हुनुपर्ने मापदण्ड  छ।  हाल विभागसँग प्रदूषणको मापदण्ड जाँच गर्ने ४३ वटा मेसिन छन्।
वन तथा वातावरण मन्त्रालयले यही वैशाखमा सार्वजनिक गरेको वातावरणको वर्तमान अवस्थाबारेको स्थितिपत्रमा वायू प्रदूषणमा सवारी साधनको ३७ प्रतिशत भूमिका रहेको उल्लेख छ।
यातायात व्यवस्था विभागका अनुसार नेपालमा कुल ३० लाख ८ हजार १ सय ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल रहेका छन्। विभागले देशभरका सबै सवारीधनीलाई अनिवार्य रुपमा हरियो स्टिकर लिन सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।
सरकारले यसअघि दरबारमार्ग, सिंहदरबारको आसपास, ठमेल, न्यूरोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका उपत्यकाकाका मुख्यस्थानमा गुड्ने सवारीसाधनमा हरियो स्टिकर अनिवार्य गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार