Friday, September 27, 2024

भारतसँग सहमति: नेपालमा पानी जहाज चलाउन आर्थिक सम्भाव्यता अध्ययन गरिने

काठमाडौं– नेपालका नदीमा पानी जहाज सञ्चालनका लागि जलमार्गको आर्थिक सम्भाव्यता अध्ययन गरिने भएको छ।

जल यातायात सञ्चालनको सम्भावनाबारे कार्य योजना बनाउने उद्देश्यका साथ दुई दिनसम्म काठमाडौंमा चलेको नेपाल–भारतका सहसचिवस्तरीय टोलीकोे पहिलो बैठकले पानी जहाज चलाउन आर्थिक सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो।

प्राविधिक रूपले नेपालमा पानी जहाज सञ्चालनको सम्भावना रहेपनि आर्थिक रुपमा सम्भव छ/छैन भनेर अध्ययन गर्ने सहमति भएको हो। अध्ययनका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता भारतीय पक्षले गरेको छ।

नेपालको तर्फबाट जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वको टोलीबीच छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा हिन्द महासागरबाट नेपालमा पानी जहाज सञ्चालन गर्ने विषयमा दुई मुलुकबीच सहमति भएको थियो ।

सहसचिव बेल्बासेका अनुसार नारायणी नदीमा पानी जहाज सञ्चालनको सम्भावना सबैभन्दा बढी देखिएको छ। पानी जहाज सञ्चालनको लागि न्यूनतम दुई मिटर पानीको सतह हुनुपर्ने उनले बताए।

सोमबारको मन्त्रिपरिषद् बैठक पश्चात परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी दुई वर्षभित्र गण्डकी (नारायणी) मा पानी जहाज चल्ने बताएका थिए। मन्त्री ज्ञवालीका अनुसार, करिव ३ सय मेट्रिक टन सामान बोक्ने क्षमताको जहाज गण्डकी नदीमा चलाउन सकिने स्थिति छ।

ताजा समाचार

सम्बन्धित समाचार