Friday, September 27, 2024

सन् २०२२ को विश्वकपका लागि यसरी हरियाली बनाइँदैछ दोहालाई

काठमाडौं–फ्रान्सले रसियामा आयोजित विश्वकप–२०१८ को उपाधि हात पारेसँगै विश्वको ध्यान कतारतिर गएको छ। आगामी सन् २०२२ को विश्वकपको आयोजना कतारले गर्ने तय भएकाले तयारी पनि युद्धस्तरमा भइरहेको छ।

विश्वकपको लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको कतारले हजाराैंको मात्रामा विभिन्न देशबाट कामदार लिइहेको छ। यतिबेला कतारमा सडक निर्माणले तीव्रता पाएको छ, ठूला–ठूला सपिङ मल बनिरहेका छन्। सार्वजनिक यातायातमा व्यापक सुधार भइरहेको छ, अनि विभिन्न स्थानमा स्टेडियमहरू बनिरहेका छन्। प्रत्येक दिन केही न केही परिवर्तन देखिन्छ, कतारको राजधानी दोहामा।

Photo Sources : www.sc.qa

विश्वकप आयोजना गर्न भइरहेका अन्य तयारीसँगै कतारले वातावरण संरक्षणमा लिएका कदमको बारेमा विश्वव्यापी चर्चा भइरहेको छ। दुई वर्ष अगाडि मात्रै मरुभूमि जस्ता रहेका कतिपय स्थानहरू यतिबेला हरियालीमा परीणत भइरहेका छन्। विश्वकप आयोजना गर्न लागि आवश्यक पर्ने स्टेडियम लगायत अन्य पूर्वाधार वरिपरी रुखसँगै घाँस धमाधम रोपेर हरियाली बनाइँदैछ।

राजधानी दोहा आसपासमा दर्जनौ नर्सरीहरू स्थापना गरिएको छ, नर्सरीमा उत्पादन घाँस, फूल र विरुवा रोप्ने काम भइरहेको छ। विशेषत स्टेडियम, तालिम दिने स्थान र अन्य सार्वजनिक स्थानलाई सजाएर हरियाली बनाउन तीव्रता दिइएको छ।

वातावरणीय पक्षहरू निरीक्षण गर्न खटाइएको एक समूहले हालै देशभित्र र बाहिरबाट १० हजार रुखका बिरुवा तयार पारेको छ। तर हुर्काएर केही समयपछि रोप्ने तयारी गरिएको छ। यहाँका प्रत्येक स्टेडियमलाई माइक्रोइनभारमेन्ट बनाउने लक्ष्य लिइएको छ।

दोहामा मनसुनको समयमा पानीको मात्रा बढी हुने भएका कारण बिरुवा र घाँस हुर्काउन त्यति सजिलो भने छैन। तर, विश्वकपको लागि जसरी पनि हरियाली बढाउनुपर्ने बाध्यता छ। यति मात्र होइन, विश्वकपको समयमा तापक्रमलाई कम उपायहरू समेत खोज्न थालिएको छ।

विभिन्न प्रविधिको प्रयोग गरेर जमिनमुनिबाट चिसो हावा उत्पादन गरेर माथिल्लो भागलाई पनि चिसो बनाउने काम शुरु भइसकेको छ। आयोजकले फिफालाई विश्वकप आयोजना गर्ने समयमा ७२ डिग्री फरेनहाइट कायम गर्ने आश्वासन दिएका छन् तर, ६४ सम्म कायम गर्न सकिने गरी काम भइरहेको छ। हरियाली बनाउने मात्र होइन, विश्वकप अवधिभर वातावरणलाई स्वच्छ राख्नका लागि फोहोरको उचित व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ।

विश्वकपको लागि अन्य तयारीहरू समेत गर्नुपर्ने हुन्छ। फिफाको मापदण्ड अनुसार आयोजक मुलुकमा होटलका कम्तिमा एक लाख २५ हजार रुमहरू हुनुपर्दछ। यतिबेला कतारमा ३० हजार होटल रुमहरु मात्र रहेका छन्। कोठाहरु बढाउन नयाँ होटलहरु बनाउने तथा पुरानैमा कोठाहरु थप्ने काम भइरहेको छ।

विश्वकप आयोजना गर्नु भनेको पूर्वाधारको विकास गर्नु मात्र होइन, देशको इज्जत र प्रतिष्ठा पनि बढाउनु हो। यि सम्पूर्ण कार्यहरु गर्दा फिफाले तोकेका वातावरणिय मापदण्डहरु समेत पुरा गर्नुपर्ने हुन्छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीकाे अाधारमा तयार पारिएकाे रिपाेर्ट)

ताजा समाचार

सम्बन्धित समाचार