Friday, September 27, 2024

गंगापूर्ण ताल संरक्षणका लागि पर्खाल निर्माण

मनाङ–अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका लागि पर्खाल निर्माण भएको छ ।

संरक्षणको अभावमा जीर्ण बन्दै गएको यस ताल पटक–पटक विभिन्न सञ्चार माध्यमबाट समाचारको विषय बनेको थियो । उक्त समाचारको प्रभावले स्थानीय निकायको ध्यानाकर्षण गरे पनि स्थानीय तह नै अन्योलमा भएको अवस्था थियो ।

गत वर्ष २०७३-७४को बजेटबाट स्थानीय निस्याङ गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरेपछि यस तालको वरिपरि पर्खाल निर्माण कार्य शुरु भएको निस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा गुरुङले बताए । उनका अनुसार पोखरा पर्यटन बोर्डबाट रु १० लाख बजेट प्राप्त भएपछि पर्खाल निर्माण कार्य सकिएको हो।

पर्खाल निर्माणले मात्र तालको पूर्ण संरक्षण नहुने हुँदा ताल संंरक्षणका लागि अझै धेरै काम बाँकी रहेको वडा नं ६का वडाध्यक्ष सोनम गुरुङले बताए । तालको वरिपरि पर्खाल लगाएरमात्र काम पूरा भएको छैन । आफ्नो वडामा रहेको यस ताल मनाङ गाउँकै महत्वपूर्ण सम्पत्ति भएकोले यसको वरिपरि वृक्षरोपण गरी पहिरोबाट जोगाउनु आवश्यक रहेको उनले उल्लेख गरे ।

गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको ताल हिमपहिरोको सिकारमा दिनानुदिन पुरिँदै गएको छ । जसको संरक्षणका लागि स्थानीय तहले शुरुवात गरे पनि बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन।

वडाध्यक्ष सोनम गुरुङका अनुसार विकास निर्माणका लागि आएको बजेट सबै क्षेत्रमा विनियोजन गर्नुपर्ने भएकाले पनि समस्या भएको हो ।

आगामी वर्षमा पनि यस तालको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने उनले बताए।हिमपहिरोका कारण जीर्ण बनेको गंगापूर्ण ताल अबको केही वर्षमा नै संकटबाट मुक्त हुने स्थानीयवासीको आशा छ। (रासस)

ताजा समाचार

सम्बन्धित समाचार