Friday, September 27, 2024

पत्रपत्रिकामा आज : फोहोरले उपत्यका आक्रान्त , सेती नदीमा सिसै–सिसा

काठमाडौं–आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
‘ सेती नदीमा सिसै–सिसा ’ शीर्षकमा बसन्तप्रताप सिंहले कान्तिपुरमा विशेष रिपोर्ट तयार पारेका छन् । सो रिर्पोटमा सेती नदी र यसका सहायक खोला र आसपासका क्षेत्रमा विभिन्न सिसा फेला परेको उल्लेख छ । बझाङ सदरमुकाम चैनपुर र जयपृथ्वी नगरपालिकाबाट फोहोरको विसर्जन गर्ने ठाउँको अभाव हुँदा सेती नदीको मुहान र बगेका स्थानमा फोहोर थुप्रिएको छ । नगरपालिकामा दिनदिनै फोहोरको खपत बढ्दै जाँदा पनि फोहोर व्यवस्थापन शाखा र वातावरण हेर्ने कुनै निकाय नहुँदा समस्या उत्पन्न भएको हो ।
‘ बस्ती बचाउन मनोहरा फर्काइयो ’ शीर्षकमा कान्तिपुरमा समाचार छ । भक्तपुरबाट लीला श्रेष्ठले लेखेको समाचारमा काठमाडौं र भक्तपुरको सिमानामा पर्ने मनोहरा खोलाको कटानले बस्ती जोखिममा परेपछि प्राकृतिक बहाव परिवर्तन गरिएको उल्लेख छ । कागेश्वरी मनोहरा र चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडाको समन्वयमा शुक्रबार २०२१ सालको नापीअनुसार खोलाको बहाव परिवर्तन गरिएको हो । यसैगरी कोदारी राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्डको झ्यालेभिरमा सडक भासिएपछि सवारी आवागमन अबरुद्ध भएको समाचार सिन्धुपाल्चोकबाट अनिश तिवारीले लेखेका छन् । ‘ छोइरहूँजस्तो च्छो –रोल्पा ’, ‘खासुर फुटबल ’, ‘ तरकारीको मूल्य दोब्बर ’ शीर्षकका समाचार प्रकाशित छन् ।

राजधानी
‘ फोहोरले उपत्यका आक्रान्त ’ शीर्षकमा राजधानीमा समाचार प्रकाशित छ । नुवाकोट ओखरपैवासीको अवरोध तथा फोहोर ब्यवस्थापनका कर्मचारीको अन्दोलनका कारण उपत्यकाको फोहोर ब्यवस्थापनमा अवरोध सिर्जना भएको छ । चोकचोकमा जम्मा भएका फोहोरका कारण दुर्गन्ध बढेको छ । वर्षाले फोहोर बगाउँदा समस्या अझ विकराल बन्दै गएको छ । यसैगरी हनुमन्ते खोलाको वितण्डापीडित अझैँ बाढीको त्रासमा रहेको समाचार सञ्जीव दुलालले भक्तपुरबाट लेखेका छन् । यसैगरी ताप्लेजुङबाट हिमाल आरोहण गर्ने ७४ जना आरोहीलाई सम्मान गरिएको खबर छ ।

अन्नपूर्ण पोष्ट
‘ भारी वर्षाले बाढी पहिरोका त्रास ’ शीर्षकमा सिन्धुलीबाट राजन गाउँलेले लेखेको समाचारमा अविरल वर्षाका कारण सिन्धुलीको महाभारत तथा सुनकोसी क्षेत्रमा बाढी र पहिरोको त्रास बढेको उल्लेख छ । वर्षासँगै आएको बाढीका कारण रोसी र सुनकोसी नदीले ठूलो क्षेत्रफलमा धानबाली नष्ट गर्नुका साथै बीपि राजमार्गका दर्जनां बस्ती जोखीममा परेको छ ।
‘ किन डुब्दैछ काठमाडौं उपत्यका ?’ शीर्षकमा केशव शर्माले लेखेको विचार र ‘ विपद्ः खर्च बढी , जोखिम उस्तै ’ शीर्षकमा सागर पण्डितको विचार प्रकाशित छ । झापा भद्रपुरस्थित मेची नदीको किनारको सुकुम्बासी बस्तीका ७० घरलाई अधुरो तटबन्धले जोखिममा पारेको समाचार रविन भट्टराईले लेखेका छन् । यसैगरी कृषि र खाद्यान्न सम्बन्धि विभिन्न समाचार पनि अन्नपूर्णमा प्रकाशित छ ।

नागरिक
बाँधजस्तो भारतीय सडकले गर्दा बाँकेस्थित नेपाल–भारत सीमासँग जोडिएका गाँउ बस्तीले डुबानको पीडा खेप्दै आएको समाचार बाँकेबाट अर्जुन ओलीले लेखेका छन् । यस्तै विपत् ब्यवस्थापनमा स्थानीय तह उदासीन भएको समाचार पनि सोही पत्रिकामा छ ।

नयाँ पत्रिका
माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्तस् असुरक्षित देखिएको समाचार नयाँ पत्रिकामा प्रकाशित छ । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७० , जुम्लामा ८९ र कालिकोटमा १ सय ८ वटा बस्ती असुरक्षित भेटिएको समाचार योगेश ढकालले लेखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार