Friday, September 27, 2024

जारको पानी पिउछौं तर, ढुक्क छैनौं : उपभोक्ता

काठमाडौं– काठमाडौंका प्रायः उपभोक्ता जारको पानी खान्छन् । धारामा आउने पानी ‘अशुद्ध’ रहने भन्दै उपभोक्ता जारको पानी खाने गर्छन् । कतिपय उपभोक्ता धाराको पानी उमालेर खान्छन्

जारको पानीमा समेत मानव स्वास्थ्यमा असर गर्ने आइरन, कोलिफर्म जस्ता जीवाणु भेटिएको यसअघिका घटनाले पुष्टि गरेको छ।

बोतल र जारको पानीको गुणस्तर कायम गर्न भन्दै सरकारले निश्चित मापदण्ड बनाएको छ । हानिकारक जीवाणु शून्य हुनुपर्ने तथा अम्लियपनको मात्रा पीएच स्केलमा ६ दशमलव ५ देखि ८ सम्म हुनुपर्ने भनिएको छ । तर, सरकारी तवरबाट अनुगमन तथा कानून कार्यान्वयको पक्ष फितलो देखिएको छ । प्रशोधित पानी भनेर लेखिएका जारको पानी खान योग्य छैनन्।

दूषित जारको पानीबारे जानकारी नभएर होइन विकल्प नहुँदा जारको पानी खान बाध्य छन्, उपभोक्ता । प्रशोधित भनिएका जारको पानीबारे के भन्छन् उपत्यकाका उपभोक्ता ? हाकाहाकीले केही स्थानीयसँग कुराकानी गरेको छ । उनीहरूको विचार जस्ताको त्यस्तै :

खान योग्य छैन भन्ने त थाहा छ तर खानुपर्ने बाध्यता : सुनिता विसुङखी (२५)

हामी डेरा गरी बस्नेहरूका लागि जारको पानी खानुपर्ने बाध्यता नै हो। जारको पानी दूषित छ भन्ने समाचार सुनिरहेका छौं तर, जारको पानी नखानुको अरू विकल्प पनि त छैन ।

पानी उत्पादन गर्न बिक्री गर्ने तर, मानव स्वास्थ्यमा असर पार्न पदार्थ मिसावट गर्न उद्योगीहरूलाई कारबाही किन नभएको होला ? उद्योगीहरूले हामी उपभोक्ताको स्वास्थ्यका बारेमा पनि सोच्नु आवश्यक छ ।

पैसा कमाउने नाममा उपभोक्तालाई मार्नु त भएन नि । कसले सोच्छ हाम्रो बारेमा । हामी उपभोक्ता आफंै सचेत हुनुपर्छ जस्तो लाग्छ । अविश्वास भएता पनि जारको पानीलाई फिल्टर गरेर र उमालेर खाने गरेकी छु ।

९५ प्रतिशत जारको पानी दूषित छ :पभव बानियाँ (२५)

प्रशोधित जारको पानी खादा मेरा धेरै साथीहरू बिरामी परेका छन् । ढुक्क भएर जारको पानी खानसक्ने अवस्था छैन । काठमाडौं उपत्यकामा बिक्रीवितरण हुने ५ प्रतिशत जारको पानी मात्र खान योग्य छ, जस्तो लाग्छ । बाँकी ९५ प्रतिशत जारको पानी दूषित छ ।

हामीले शुद्ध र स्वच्छ खानेपानी खान त पाएका छैनौं तर खानुपर्ने बाध्यता छ । खानैपर्छ, हामीसँग अरू विकल्प नै छैन । मैले जारको पानी खादा उमाले र पिउस हालेर मात्र खाने गरेको छु ।

यहाँ पानीको अति अभाव छ । बजारमा पाइने जारको पानी कुन स्वच्छ छ, कुन दूषित हामी उपभोक्ताले कसरी जाँच गर्ने । यो त सरकारको काम होइन र ?

जारको पानीमा किरा भेटेकी छु : भगवती शाह(४५)

प्रशोधित जारको पानी खान योग्य छ भनेर ढुक्क भएर खान सकिने अवस्था छैन । मैले किनेर ल्याएको जारको पानीमा एक पटक किरा भेटेकी छु ।

जारको पानी किन्दा कुन उद्योगले उत्पादन गरेको होे नहेरी किन्छु । जारको बाहिर भाग पनि सफा देखिदैन, फोहोर देखिन्छ ।

किन्न मन त लाग्दैन तर, के गर्नु पानी नखाइ बाच्न ग्राहो खाएपछि बिरामी भैइन्छ भन्ने पिरलो ।

दूषित पानी उत्पादन गरि विक्रीवितरण गर्न उद्योगहरूलाई सरकारले कारबाही किन गर्दैन?

जारको पानी स्वच्छ छ भनेर ढुक्क छैन : देवेन्द्र बम (२७)

जारको पानी स्वच्छ हुन्छ भनेर खाने गर्छाैं । तर, जारको पानीमा समेत विभिन्न जीवाणु भेटिएको खबर बेलाबेलामा सार्वजनिक हुन थालेपछि स्वच्छ र सफा पानी नै प्रयोग गरिरहेका छौं भनेर ढुक्क छैन ।

काठमाडौंमा पानीको समस्या छ । धाराको पानी झनै दुषित हुने भएकाले जारको पानीको भर नपरी हुँदैन। चिकित्सकहरूले पानी उमालेर खान सल्लाह दिन्छन् ।

तर, त्यो सम्भव रहँदैन । किनकी घर बाहिर, जुनसुकै बेला उमालेको पानी उपलब्ध हुँदैन । त्यसैले हामीलाई अति आवश्यक पर्ने पानीको शुद्धताका लागि सरकारले ध्यान दिन जरूरी छ।

स्वच्छ छ भनेर नै किनिन्छ :सर्मिला पौडेल (२७)

जारको पानी सफा र स्वच्छ हुन्छ भनेर नै पिउने गरिएको छ । बाहिरबाट हेर्दा सफा, स्वच्छ नै देखिन्छ त्यसभित्र के कस्ता जीवाणु छन् भन्ने हामीलाई थाहा हुँदैन ।

त्यहि पनि जीवाणु मर्छ भनेर घरमा उमालेर खाने गरेका छौं । तर बाहिर त्यो सम्भव हुँदैन । सिधैँ जारको पानी खाइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार