Thursday, September 26, 2024

सडकले नास्यो मौलिक सम्पदा : भत्काइए पाटी पौवा र चौतारी

म्याग्दी–२०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन्।

मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण सौन्दर्य नै हराएको छ।

सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटी,पौवाको अस्तित्व संकटमा परेको छ। सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा संकटमा परेका हुन्।

जिल्लाको विभिन्न ठाउँमा रहेका १०० वटा भन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा संकटमा परेका मालिका गाउँपालिका–२ रुमका बिलबहादुर विश्वकर्माले बताए। त्यसैगरी बेनपा–९ गलेश्वरका  भीमनाथ पराजुलीले यात्रुको सुविधाका लागि बनाइएका पाटीपैवा र चौतारी पछिल्लो समय सडक विस्तारका नाउँमा भत्काइनु आफ्नो मौलिकतामाथि प्रहार रहेकाे बताए।

उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पाटीपौवा लोप भइसकेका छन्।

मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको ताकमका बयोवृद्ध बृद्धीप्रसाद सुवेदीले बताए। परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ।

पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ। पहिले बाटोमा होटल थिएनन्। पाटीपौवामा बास बस्ने चलन थियो। सुवेदी भन्छन्न्नु, ‘ठाँटीमा बास बस्ने चलन हराए पनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार