Thursday, September 26, 2024

खोलामा बाढी, धान रोप्ने खेत सुख्खा

इनरुवा–सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका कृषक जसलाल यादवलाई धान रोपाइँ गर्ने सिजन शुरु भए पनि नहर र धान रोप्ने खेतमा पानीको अभाव हुँदा कसरी धन रोपाइँ गर्ने भन्ने चिन्ताले सताएको छ।

जिल्लाको विभिन्न नदी खोलामा बाढी आएको भए पनि धान रोपाइँ गर्ने खेतमा पानीको अभाव हुँदा उहाँलाई धान रोपाइँ गर्ने समस्याले सताएको हो। जसलाल यादव सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन्। उनी जस्तै जिल्लाको दर्जनौँ किसानको समस्या एउटै छ।

असार बित्न लागेको भए पनि जिल्लाका विभिन्न ठाउँमा रहेका नहरमा पानी नदिएको कारणले धान रोपाइँ गर्न समस्या भएको कृषकको भनाइ छ। जिल्लाको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी, देवानगञ्ज गाउ, हरिनगरसहितका आधा दर्जन गाउँपालिकामा धान रोपाइँ गर्न समस्या भएको स्थानीय सीताराम यादवले बताए।

जिल्लाका नदीखोलामा केही दिनयता बाढी आएको भए पनि धेरै किसानलाई धान रोपाइँ गर्न समस्या भएको गुनासो कृषकको छ। जिल्लामा ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको दाबी गरे पनि नहर मर्मत नभएको, मर्मत भए पनि पानी नपुगेको र केही ठाउँमा नहर नै बगेकाले धान रोपाइँ गर्न समस्या भएको स्थानीय किसान वीरेन्द्र मेहताले बताए। जिल्लामा ५३ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।

समयमा धान रोपाइँ गर्ने खेतमा पानी नभएका कारण अब विकल्पका रुपमा भूमिगत पम्पसेट (बोरिङ) लगाएर भए पनि धान रोपाइँ गर्ने सोचमा कृषक रहेका छन्। एकातर्फ जन मजदूरको अभाव, अर्कोतर्फ मलको अभावको सामना गर्दै आएका कृषकले रोपाइँको समयमा धान रोप्ने खेतमा पानी नहुँदा झन तनाव बढेको बताएका छन्।  धान रोपाइँ गर्ने बेलामा नहर भएको ठाउँमा समयमै पानी छोड्नका लागि कृषकले माग गरेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार