Tuesday, October 29, 2024

पत्रपत्रिकामा आज : रातारात सडक कालोपत्रे, १४ कात्तिकभित्र नेपाल–भारत रेल चल्ने

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर
आजको कान्तिपुरमा अमात्य सत्तलको पुनर्निर्माण अलपत्र शिर्षकमा समाचार छापिएको छ । भूकम्प गएको ३८ महिना बित्न लाग्दा पनि नेपालकै प्राचीन चाँगुनारायण मन्दिर परिसरको अमात्य, चौघेरा सत्तल र केही मन्दिरको पुनर्निर्माण ठप्प छ । विश्वसम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरको अमात्य सत्तलको पुनर्निर्माण थालेको ‘हेरिटेज एन्ड इन्भारोन्मेन्ट कन्जरभेसन फाउन्डेसन नेपाल’ नामक संस्थाले निर्माणाधीन सत्तल अलपत्र छाडेको छ ।
पुनर्निर्माणका लागि ल्याएको काठ यत्रतत्र छोडिदिँदा कुहिएर खेर जाने अवस्थामा छ । ‘पुनर्निर्माणका लागि ल्याएको काठ व्यवस्थित किसिमले राखेको छैन, घामपानीले काठ कुहिन थालेको छ,’ स्थानीय नारायण श्रेष्ठले भने, ‘कतिपय काठ कुहिएर ढुसीरच्याउ पलाउन थालेको छ ।’

भूकम्प लगत्तै चाँगुनारायण मन्दिर परिसरको कीलेश्वर महादेव मन्दिर पुनर्निर्माण गरेको संस्थाले अमात्य सत्तल पुनर्निर्माण थालेर अलपत्र छोडेको छ । अघिल्लो वर्ष नै संस्थाले चाँगुनारायण मन्दिरसँगै त्यस परिसरका सबै सम्पदा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको थियो । तर, मूल मन्दिरबाहेक भूकम्पले क्षति पुर्‍याएका सबै सम्पदा पुनर्निर्माण गर्ने जिम्मा पाए पनि संस्थाले निर्माण कार्य ठप्प पारेको समाचारमा उल्लेख छ ।

नागरिक
– आजको नागरिकमा धनगढीबाट दिलबहादुर छत्यालले रातारात सडक कालोपत्रे शिर्षकमा समाचार लेखेका छन् । केही दिनअघि धनगढीको मुटु एलएन चोक नजिक प्रदेश प्रमुख मोहनराज मल्ल निवास अघिल्तिरको सडक साँझसम्म उस्तै थियो।

साँझ ओहोरदोहोर गरेका सयौं नगरवासी त्यतिबेला अच्चमित भए, जब दोस्रो दिन बिहान त्यही सडकमाथि नयाँ कालोपत्रे टल्किरहेको थियो ।

सोमबार बिहानैदेखि धनगढीमा सिमसिम वर्षा भइरहेको थियो । धनगढी गाउँमा दुई ठाउँमा सडकमाथि कालोपत्रे गर्न भ्याइनभ्याइ भइरहेको थियो । असारे विकासका यी दुईवटा प्रतिनिधि उदाहरण मात्रै हुन् ।

वर्षभरी काम नगर्ने र असारमा बजेट सिध्याउन रातारात गुणस्तरहीन काम गरेर सर्वसधारणको आँखामा छारो हाल्ने प्रवृतिको अझै अन्त्य हुन सकेको छैन । असारमा हतार हतारमा झारो टार्ने शैलीमा गुणस्तरहीन काम गरेर ठेकेदार, कर्मचारी लगायतले मोटो रकम कुम्ल्याउने गरेको जानकार बताउँछन् । संविधान सभामार्फत नयाँ संविधान बनेर देश संघियतामा गई तीनै तहका सरकारको अभ्यास भइरहँदा पनि जनताले तिरेको करबाट उठेको रकम विकासका नाममा बह्मलुट गर्ने यो परम्परा नहट्नुलाई स्थानीयले दुर्भाग्यको संज्ञा दिएका छन् ।

नेपाल समाचारपत्र
-अाजकाे बैतडीबाट  विनाेदसिंह विष्टले फेरिएन असारे प्रवृति शिर्षकमा समाचार लेखेका छन् । बैतडीका अधिकांश स्थानीय तहमा उपभाेक्ताकाे भीड लागेकाे देखिन्छ । यसका साथै बजेट सिध्याउनकै लागि धमााधम असारमा विकास निर्माणका काम हुँदैछन् ।

गत वर्षसम्म असारकाे महिनाभरी बैतडी जिल्ला सदरमुकामभरि विकासे अड्डाहरूमा उपभाेक्ताकाे भीड लाग्ने गर्दथ्याे । तर याे वर्ष अवस्था फेरिएकाे छ । हिजाेअाज जिल्लाका स्थानीय तहमा भुक्तानी लिनेकाे भीड बढेकाे स्थानीयवासीले बताएका छन् । गाउँ गाउँमा सरकार पुगेपनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै ढर्रामा रहेकाे भन्दै स्थानीय असन्तुष्टसमेत बनेका छन् ।

स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने अाश भए पनि त्यस्ताे हुन नसकेकाे दाेगडाकेदार ३ श्रीकाेटका हेमराज गिरीले बताएकाे समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा जीवन बस्नेतले १४ कात्तिकभित्र नेपाल–भारत रेल चल्ने शिर्षकमा समाचार लेखेका छन् । नेपाल र भारत जोड्ने दुईवटा अन्तरदेशीय रेलमार्ग निर्माण १४ कात्तिक २०७५ भित्र सम्पन्न गरिने भएको छ । सोमबार काठमाडौंमा दुई देशका सहसचिवस्तरीय छैटौँ प्रोजेक्ट स्टेयरिङ कमिटी बैठकमा उक्त सहमति भएको हो ।

भारतको जयनगर हुँदै नेपालको जनकपुर–कुर्ता र भारतको जोगबनीदेखि नेपालको विराटनगर भन्सार कार्यालय जोड्ने रेलमार्ग सम्पन्न गर्न दुई देशका अधिकारी सहमत भएका हुन् । जयनगरदेखि कुर्तासम्मको लम्बाइ ३४ दशमलव ५ किलोमिटर रहेको छ भने बथनाह (जोगबनीभन्दा अघिल्लो स्टेसन)देखि विराटनगर भन्सार कार्यालयसम्मको दूरी ८ किलोमिटर छ ।

अन्तरदेशीय रेलमार्गका बाँकी खण्ड निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन दुवै पक्ष सहमत भएका छन् । बाँकी खण्डअन्तर्गत कुर्तादेखि बिजलपुरा हुँदै बर्दिबास र विराटनगर भन्सार कार्यालयदेखि विराटनगरको बाँकी खण्ड रहेका छन् । बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा र भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सहसचिव नाम्ग्या खम्पा रहेकी समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार