Wednesday, September 25, 2024

बर्खामा सिसडोल फाेहाेर लैजान समस्या, राजधानीका चाेकचाेकमा फाेहाेरकाे थुप्राे

बत्तीसपुतली सडकखण्ड ।

काठमाडौं–बर्खायाम लागेसँगै काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनकाे समस्या देखिएकाे छ।

विशेषगरी काठमाडौं र ललितपुर महानगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या देखिएपछि सडक र चोकमा फोहोरका डंगुर थुप्रिन थालेको छ। कतिपय ठाउँमा कयौं दिनदेखि थुपारिएको फोहोर उठाउन कठिनाइ भएको छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले हरेक वर्ष वर्खाको समयमा फोहाेर व्यवस्थापनको समस्या झेल्नुपरेको बताए। उनले बर्खाको समयमा पानीपरेपछि ल्याण्डफिल्ड साइटको बाटो हिलो र चिप्लो हुने हुँदा फोहोर लैजान थप समस्या हुने गरेको बताए। ‘पानी परिरहे सिसडोल जाने बाटो अवरुद्ध हुन्छ, फोहोर बोकेर जाने गाडी पनि जान अफ्ठेरोमा पर्न सक्छ। बर्खायाम लागेसँगै काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या देखिन थालेको छ।

विकल्पको रुपमा फोहोर संकलन गर्ने सबस्टेसन टेकुमा करीब दुई हप्तासम्म मात्र फोहोर राख्न सकिने उनले बताए। २ वर्षको लागि भनेर छुट्याइएको सिसडोलमा १२ वर्षदेखि फोहोर व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ।

सरकारले बन्चरे डाडाकोे पूर्वाधार अहिलेसम्म पनि तयार नगरिदिँदा अब केही महिनापछि फोहोर व्यवस्थापनमा झन् कठिनाइ हुने कार्कीले बताए। फोहोर बिर्सजन गर्ने ठाउँ सहज भए फोहोर उठाउन र व्यवस्थापन गर्न महानगरपालिकालाई कुनै कठिनाई नहुने उनले दाबी गरे।

कोचेर फोहोर राखिँदै
काठमाडौं उपत्यकाको फोहोर बिसर्जन भइरहेको नुवाकोट सिसडोलमा रहेको ल्याण्डफिल्ड साइटमा अब थप फोहोर राख्न नसकिने भएपनि कोचेरै भएपनि फोहोर व्यवस्थापन भइरहेको छ।

यसअघि अघिल्लो महिनामै त्यहाँ करीब ३ महिनालाई मात्र फोहोर राख्न मिल्ने स्थान छ। दुई वर्षका लागि भनेर छुट्याइएको सिसडोलमा १२ वर्षदेखि फोहोर बिसर्जन गरिँदै आएको काठमाडौं महानगरपालिकाले जनाएको छ। प्राविधिक अध्ययनअनुसार पनि त्यहाँ अब फोहोर थप्ने अवस्था नरहेको महानगरपालिकाले स्पष्ट पारेको छ।

महानगरपालिकाका अनुसार काठमाडौंबाट दैनिक एक हजार टन फोहोर निस्काशन हुन्छ। जसमध्ये काठमाडाैं महानगरमा प्रतिदिन साढे ५ देखि साढे ६ टनसम्म फोहोर उठ्ने गर्छ। सिसडोलको विषयलाई लिएर बेलाबेलामा विवाद हुँदा हप्ता दिनसम्म पनि उपत्यकाका चोकचोकमा फोहोर थुप्रने गरेको छ।

लामो समय महानगरको वातावरण व्यवस्था विभागका रही हाल सामाजिक विकास विभागका निर्देशक रहेका रवीनमान श्रेष्ठले भने, ‘बन्चरे डाँडासम्म पुग्ने बाटो र पुलका लागि सामान्य काम मात्र भएका छन्। केही महिना यता खासै प्रगति छैन ।’ सिसडोलको विकल्पका रुपमा अब बन्चरे डाँडालाई लिइएको महानगरपालिकाले जनाएको छ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी बन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन तयारी भइरहेको बताइन्। अबको केही समयमा नै महानगरले प्रत्येक घरमा कुहिने र नकुहिने फोहोरलाई फरकफरक स्थानमा व्यवस्थापन गर्न अनिवार्य समेत गर्ने जनाएको छ । ‘बन्चरे डाँडाका लागि एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ,’ प्रवक्ता कार्कीले भने।

काठमाडाैंकोे फोहोर फाल्ने सानो साइट टेकुमा छ। टेकुबाट ओखरपौवा सिसडोल ठूला ट्रकबाट लैजाने गरिन्छ। १५–१६ वटा ट्रकबाट फोहोर फाल्ने गरिन्छ। फोहोर व्यवस्थापनमा १ हजार जनशक्ति खटिएका छन्। जसमा ड्राइभर, हेल्पर स्वीपर, सुपरभाइजर, कर्मचारी, प्राविधिक आदि रहेको महानगरपालिकाले जनाएको छ।

काठमाडौंमा ६६ प्रतिशत फोहोर कुहिने र ४४ प्रतिशत फोहोर नकुहिने रहेको फोहोर व्यवस्थापनमा सहयोगी भूमिका खेल्ने संस्था डोको रिसाइकर्लसले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार