Wednesday, September 25, 2024

चीनमा ‘भद्र’ र ‘रुपसी’ को निगरानी नेपाली टोलीले नै गर्ने

काठमाडौं–नेपालले चीनलाई उपहारस्वरुप दिन लागेको एक जोडी गैंडालाई २६ असारमै चितवनबाट काठमाडौं ल्याइने भएको छ।

‘भद्र’ र ‘रुपसी’ लाई खोर भएको गाडीमा राखेर २६ असारमै काठमाडौंतर्फ पठाइने चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन वेदकुमार ढकालले जानकारी दिए। ती गैंडलाई असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चीनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

तर, मुग्लिन–नारायणगढ सडकमा पहिरो जाने क्रम नरोकिएकाले ‘भद्र’ र ‘रुपसी’ लाई दुई दिन अघि नै चितवनबाट काठमाडौं ल्याइन लागिएको उनले बताए। ती गैंडा चिनियाँ कार्गो विमानमार्फत् चीन जानेछन।

चितवनमा पीट बुमामा राखिएको गैंडालाई काठमाडौंसम्म ल्याउन खोर तयार भइसकेको छ। त्यही खोर विमानमा राखेर पनि चीनतर्फ पठाइने वार्डेन ढकालले बताए।

गैंडासँगै दुई जना केयर टेकर र एक जना भेटरिनरी चिकित्सक पनि चीन जाने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए । उनका अनुसार दुई जना केयर टेकरले १२–१२ घण्टा ‘भद्र’ र ‘रुपसी’ को निगरानी गर्नेछन्। चीन सरकारकै सेवासुुविधामा रहने केयर टेकर केही दिनको बसाइँपछि स्वदेश फर्कनेछन्। ‘ती गैंडाले चीनमा वातावरण अनुकुल आफ्ना गतिविधि नदेखाएसम्म नेपाली टोली फर्कनेछैन,’ उनले भने।

यद्यपी, चितवन राष्ट्रिय निकुञ्जले राष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका तीन जना केयर टेकर र एक जना पशु स्वास्थ्य प्राविधिक तथा निकुञ्जकै पशु चिकित्सक डा कमल गैरेलाई पठाउन प्रस्ताव गरेको छ। यसमा पठाउन सरकारबाटै निर्णय हुनुपर्ने अधिकारी बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार