Wednesday, September 25, 2024

निकुञ्जमा जीप सफारी बन्द

चितवन–वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द गरिएको छ। वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जीप सफारी बन्द गरेको हो।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जीप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो। जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको अर्यालले बताए। गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो।

चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जीपले पर्यटक सफारी गराउने गरेका थिए। बन्द भएको जीप सफारी असोजको दोस्रो सातादेखि पुनः शुरु हुने अर्यालले बताए।

भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जीप सञ्चालन गरिने उनले बताए।

जीप सफारीबाट गत जेठसम्ममा तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ। जीप चढेर निकुञ्जको अवलोकन गर्न पर्यटक रुचाउँछन्। प्रत्यक्ष रुपमा दुर्लभ वन्यजन्तु देख्न पाइने भएकाले जिप सफारी प्रभावकारी मानिएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार