Wednesday, September 25, 2024

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

म्याग्दी–अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गरेका छन्।

विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका हुन्।

रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको नर्सरीमै पुगेर बिरुवा खरीद गरेका हुन् उनले चार हजार कागतीका बिरुवासमेत बिक्री गरेका छन्। प्रतिबिरुवा २० देखि २५ सम्ममा बिक्री हुन्छ।

‘बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित छु,’ उनले भने। कृषि सेवा केन्द्रमार्फत तालिम लिएर नर्सरी स्थापना गरेका विकले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको बताए। सुन्तलाको बिरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आउने गरेको छ। बिरुवा स्थानीयस्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको उनको भनाइ छ।

यस्तै, फगामकै दिलमायाँ तिलिजाले समेत दुई लाखको सुन्तलाको बिरुवा बिक्री गरेकी छन्। मनसुन शुरु भएपछि यहाँका किसान सुन्तला, कागती लगायतका फलफूलका बिरुवा रोप्न व्यस्त छन्। स्थानीय तहले समेत किसानलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार