Wednesday, September 25, 2024

प्राकृतिक चिकित्सा पद्धतिले नागरिक स्वस्थ : सभामुख महरा

काठमाडौं–सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले नागरिकलाई स्वस्थ बनाउन विशेष भूमिका निर्वाह गरेको बताएका छन्।

‘प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा’ दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख महराले प्राकृतिक चिकित्सा, योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउन सके उपचार पद्धतिमा ठूलो उपलब्धि हुने बताएका हुन्। नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलोपटक सरकारी तहबाट यो दिवस बुधबार मनाइएको छ।

सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सातवटै प्रदेशमा एउटा-एउटा सुविधासम्पन्न प्राकृतिक चिकित्सालय स्थापना गर्न सरकारसँग अनुरोध गरेका छन्।

‘प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न प्रत्येक प्रदेशमा एउटा-एउटा प्राकृतिक चिकित्सालय स्थापना गरिदिन म सरकारसँग अनुरोध गर्दछु,’ सभामुख महराले भने ‘दाङमा संस्कृत विश्वविद्यालयमा छ, त्यहाँ एउटा आयुर्वेद कक्षाका लागि ठूलो भवन निर्माण भइसकेको छ, त्यसलाई आयुर्वेद कलेजको रुपमा विकास गर्न सकिन्छ।’

प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न उचित शिक्षा र उपचार विधि आवश्यक हुने भन्दै सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिबारे सबैलाई शिक्षित गर्न अभियन्ताहरुलाई आग्रह गरे।

सरकारले प्राकृतिक चिकित्सा विधेयक ल्याएमा कानून निर्माणका लागि राम्रो हुने भन्दै सभामुख महराले विधेयकका लागि सरकारलाई आग्रह गर्न प्राकृतिक चिकित्साकर्मीहरुलाई सल्लाह दिए।

ताजा समाचार

सम्बन्धित समाचार