Tuesday, September 24, 2024

विश्वकप : जापानको सरसफाइले मन जित्यो

काठमाडौं–रुसमा जारी विश्वकप फुटबलमा अन्तिम १६ मा पुगेको एक मात्र एसियाली मुलुक जापानले उत्कृष्ट खेल मात्र पस्किएन, लोभ लाग्दो खेलका कारण दर्शकको मन पनि जित्यो।

बेल्जियमसँगको प्री–क्वार्टरफाइनल खेलमा सुरुमा २ गोलले अग्रता लिएपनि पछि ३–२ ले खेल गुमाएको जापानको महिमा त्यहाँबाट मात्र सकिएन जब जापानी समर्थकले खेलपछि आफू बसेको प्याराफिट सफा गरे।

जापानी फुटबल टीमले मैदानमा दर्शकको मन जिते भने विश्वकप हेर्न पुगेका जापानी समर्थकले प्याराफिटमा सरसफाई गरेर सबैको मन प्रफूल्लित पारेर सकारात्मक सन्देश दिए।

विभिन्न विदेशी च्यानल र अनलाइनले जापानी समर्थकले खेल हेरिसकेपछि प्याराफिटमा खेर फालिएका फोहोर संकलन गरेको दृश्यसहितको समाचार बनाएका थिए। प्याराफिटमा रहेका सिटमुनि समेत गएर जापानी समर्थकले बोतल, कागज, प्लाष्टिकका खोल तथा पोखिएका तरल पदार्थलाई समेत सफा गरिरहेको दृश्य युट्युब तथा विभिन्न सञ्चारमाध्यमले देखाएका छन्। जापानको निलो जर्सी र आफ्नो देशको झण्डा फर्रफराउँदै समर्थकहरू सरसफाइमा जुटेका हुन्।

खेल जित्दा मात्तिने र खेल हार्दा निराश अनि आत्तिने मानवीय गुणलाई थाती राख्दै जापानी दर्शकहरुको काम भने रंगशालामा भएको सवै फोहोर जम्मा गर्नेमै बितेको विश्वकप हेर्न रुस पुगेका केही जापानी समर्थकले आफ्नो सामाजिक सञ्जालमा हालेका छन्।

‘उनीहरूलाई यस्तो गर्दा न सानो भइन्छ भन्ने डर नत लाजको चिन्ता नै देखियो,’ जापानबाट सुरेन्द्र न्यौपाने फेसबुक पेजमा लेख्छन्, ‘बस् चिन्ता थियो त हामी सभ्य समाज र देशका सभ्य अनि विवेकशील नागरिक हौं भन्ने कुराको विश्वलाई जानकारी गराउनुको मात्र ।’

देश कुराले हैन कामले बन्छ भन्ने कुराको दुनियाँलाई शिक्षा दिनु रहेको जापानीले प्रमाणित गरे, उनी थप्छन्। विश्वकपमा नकआउट खेल कहिल्यै पार गर्न नसकेको जापान बेल्जियमसँग हार्दा जापानी समर्थकले आँसु झार्दै प्याराफिट सफा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साथै खेलाडी पनि दुःखद हारबाट गुज्रिरहेका बेला आफूले प्रयोग गरेको डे«सिङ रुम सफा गरेर मात्रै होटलमा गएका थिए।

जापानले समूह चरणको खेलमा कोलम्बियालाई २-१ ले हराउँदा सेनेगलसँग २–२ को बराबरी र पोल्याण्डसँग १-० को हार बेहोरेको थियो। उनीहरुले पानीका बोतल, प्लाष्टिक, कागज र अन्य खानेकुराका खाली खोल उठाएर व्यवस्थापन गरेका थिए। यसअघि अफ्रिकी देश सेनेगलले पनि प्याराफिटको फोहोर ब्यवस्थापन गरेको थियो । सेनेगलको पहेंलो र हरियो मिसिएको जर्सीमा सजिएका उनीहरूले आफ्नो देशको झण्डा फहराउँदै सरसफाइमा जुटिरहेका थिए।

 

ताजा समाचार

सम्बन्धित समाचार