Tuesday, September 24, 2024

विपद्को पिरलोः ८८ वटै स्थानीय तहमा हेलिप्याड बनाउन प्रदेश ७ सरकारको निर्देशन

धनगढी– प्रदेश ७ को सरकारले विपद् जोखिम न्यूनीकरणका लागि ८८ वटै स्थानीय तहमा एउटा–एउटा हेलिप्याड बनाउन निर्देशन दिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विपद्का बेला एवं राहतका लागि हेलिकाेप्टरकाे समेत अावश्यकता पर्न सक्ने भएकाले ९ वटै जिल्लाका जिल्ला समन्वय समितिमार्फत् ८८ वटै स्थानीय तहलाई हेलिप्याड बनाउन अनुरोध गरेकाे हो।

प्रदेश सरकार मातहत ‘खोज तथा उद्धार’ का लागि आवश्यक सामग्री एवं उद्धारकर्ताको व्यवस्थापन गर्ने कार्य पनि आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत मिलाउने निर्णय बैठकले गरेको छ।

बैठकको निर्णयमा भनिएको छ, ‘उद्धारकर्ताहरुको दक्षता अभिवृद्धि कार्यक्रम सहितको पहिचान, खाद्य, लत्ताकपडा, औषधिको भण्डारण, पूर्व चेतावनी माध्यम समेत बारे वस्तुनिष्ठ विवरण अद्यावधिक गर्ने-गराउने ।’

यसैगरी, प्रदेशको राजधानी धनगढीमा उपयुक्त भण्डारगृह र उद्धार सामग्रीको पूर्वतयारी गरिने भएको छ। जसका लागि साविकको क्षेत्रीय भण्डारणलाई प्रदेश विपद् व्यवस्थापन समिति मातहत ल्याइने छ। त्यस्तै मातहतका निकाय र संघसंस्थालाई आपतकालीन खोज र उद्धारकालािग तयारी अवस्थामा राखिने भएको छ।

सोमबारको बाढीले कैलालीको भजनी र आसपासका दक्षिणपूर्वी क्षेत्र डुबानमा परेका थिए, भने घर भत्किदा गोदावरी नगरपालिकाकी ६० वर्षीया दुठा रानाको मृत्यु भएको थियो।

मृतक परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले मापदण्ड बमोजिम राहत उपलब्ध गराउने एवं आवश्यक अन्य स्थानमा आवश्यकता अनुसार प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सहयोग पुर्याउने निर्णय भएको जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार