Tuesday, September 24, 2024

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि इआइए गरिँदै

भक्तपुर–सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ।

भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तर्क्रिया  कार्यक्रममा उपमेयर रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्न पहल भइरहेको बताइन्।

सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ। भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकल लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाएको उनले बताइन्।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवाँले सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको बताए। सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४ दशमलव ९१ किलोमिटर लामो छ। साँगामा १ दशमलव ३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिनेछ।

सडक चार लेनको बनाइने छ। साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, वटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गरिने संयोजक कवाँले बताए। वायु तथा ध्वनि प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरुपले मापन गरिने योजना छ।

भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउण्ड ट्रिटमेण्ट गरिने, सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको उनले बताए। सूर्यमोड सामुदायिक वनको सडक छेउको करीब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १ सय ६३ वटा रुखट काट्नुपर्ने र सडक क्षेत्रका ७ सय १९ रुख कटान गरिने बताइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार