Tuesday, September 24, 2024

बाढीपहिरो पीडितलार्इ अस्थायी बसोबासको प्रबन्ध गर्न कांग्रेसको माग

काठमाडौं–नेपाली कांग्रेसले मुलुकमा बाढीपहिरोबाट पीडित भएकाहरूलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ।

सोमबार र मंगलबारको बाढीपहिरोबाट मुलुकका विभिन्न जिल्लामा गरी १४ जनाको ज्यान गएको प्रहरीले बताइरहेका बेला कांग्रेसले विज्ञप्ति जारी गरी नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गरेको छ।

कांग्रेसकेन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हजारौ हेक्टर खेतीयोग्य जमिन डुवानमा परेको, पहिरो र डुवानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ।’

कांग्रेसले बाढीपहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत सरकारसँग आग्रह गरेको छ।

‘बाढीपहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि नेपाली कांग्रेस निर्देश गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार