Tuesday, September 24, 2024

मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौं– मनसुन पश्चिमबाट मध्य र पूर्वी भुभागमा केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडलका अनुसार मनसुन सोमबार पश्चिमी भुभागमा भारी वर्षा भएकोमा मंगलबार  मध्य र पूर्वी भुभागमा केन्द्रित छ। ‘पश्चिमी भुभागमा हल्का वर्षा हुने भएपनि मध्य र पूर्वी भुभागका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भाना छ,’ मौसमविद् पौडलले भने।

यसैबीच, जल तथा मौसम विज्ञान विभाग, बाढी शाखाले देशभरका प्रमुख नदीको बहाव बढ्ने जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले कन्काई, कमला,बागमतीमा उल्लेखनीय बहाव बढ्ने पूर्वानुमान गरेको छ । साथै शाखाले मध्यान्हपछि खतराको तह पार हुने सम्भावना पनि रहेको जनाएको छ।

बाढी पूर्वानुमान शाखाले झापा, मोरङ, सुनसरी, सप्तरी,सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इलाम ताप्लेजुङ, धनकुटा लगायत जिल्लामा जोडिएका नदीहरुमा सर्तकताको तह पार हुन सक्ने सूचनामा उल्लेख छ । यस्तै ओखलढुङ्गा, दोलखा, सोलुखुम्वु तेह्रथुम संग जोडिएका नदीहरुमा पानीको जलस्तर वढ्ने महाशाखाले अनुमान छ ।

बुधबार देशभरका प्रायः नदीहरुमा पानीको बहाव घट्ने शाखाले पूर्वानुमान गरेको छ।

पछिल्लो २४ घण्टामा दिपायलमा २० मिलिमिटर, डडेल्धुरामा १४ मिलिमिटर, धनगढीमा ५२ मिलिमिटर, विराटनगरमा २१ मिलिमिटर, नेपालगञ्जमा ५८ मिलिमिटर र दाङमा ५६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैगरी, पोखरामा ७६ मिलिमिटर, भैरहवामा ६५ मिलिमिटर, सिमरामा ७६ मिलिमिटर, काठमाडौंमा ३३ मिलिमिटर, ओखलढुंगामा २२ मिलिमिटर, ताप्लेजुङमा २७ मिलिमिटर, धनकुटामा २४ मिलिमिटर र विराटनगरमा ५१ मिलिमिटर वर्षा मापन गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार