Tuesday, September 24, 2024

कम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा

रामहरि न्यौपाने

नुवाकोट– अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् ।

पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।

विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पु¥याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिइन् ।उनका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो ।

पहिरोले घरमा क्षति पु¥याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् । पहिरोले घरमा क्षति पु¥याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ ।

पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताए । पहिरोको उच्च जोखिममा रहेका किम्ताङको बस्तीमा वर्षात् शुरु हुनुपूर्व नै पहिरो बग्न थालेपछि बाँकी बस्तीका अन्य परिवार पनि त्रस्त छन् ।

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो । नि प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुुसार पहिरोबाट किम्ताङको वडा नं ५ देखि ९ सम्मका २०० घरपरिवार उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने भएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार