Tuesday, September 24, 2024

बबईको बहाव सतर्कताभन्दा माथि, खतराको तह नाघ्न सक्ने प्रक्षेपण

काठमाडौं– देशभर झरी परिरहँदा बर्दियास्थित बबईको चेपाङमा जलसतहले सर्तकता पार गरेको छ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बबईको चेपाङमा बहाव ५ दशमलव ६ मिटर मापन गरिएको छ। सामान्यतः बबईको चेपाङमा ५ दशमलव ५ मिटर जलसतह पुगेमा सतर्कता पार गरेको मानिन्छ, भने ६ दशमलव ५ मिटर पुगेमा खतराको तह मानिन्छ।

‘पानी पर्ने क्रम नरोकिएकाले नदीमा बहाव बढ्ने अनुमान छ,’ हाकाहाकीसँग कुरा गर्दै प्रजिअ कुरुम्बाङले भने, ‘तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरेका छौं।’

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले पनि ‘वर्षा हुने क्रम जारी रहेकाले केही समयपछि खतरा तह आसपास पुग्ने सम्भावना रहेकाले बर्दिया जिल्लाका बबई तटीय क्षेत्रका सर्वसाधारणलाई मध्यरातसम्म सतर्कता अपनाउन’ अपील गरेको छ।

जल मापन केन्द्रका अनुसार बर्दियाको गुलरियामा १ सय ७३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ, भने १२ घण्टामा मात्र १ सय ५९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी, रानीजरुवामा २४ घण्टामा १ सय ८४ दशमलव ६ मिलिमिटर र १२ घण्टामा १ सय ८० दशमलव २ मिलिमिटर वर्षा भएको छ।

यसैगरी, बबई नदी,  पश्चिम  राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी वर्षा मापन भइरहेकाे  माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार