Tuesday, September 24, 2024

सप्तकोसीको बहाव बढ्दै, सतर्क रहन आह्वान

काठमाडौं– चुरे तथा पहाडी क्षेत्रमा भारी वर्षा हुँदा सप्तकोसी नदीमा बहाव बढन थालेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार सप्तकोसी व्यारेजमा प्रतिसेकेन्ड पानीको बहाव एक लाख ३२ हजार क्युसेक  मापन गरिएको छ। ‘पहाडी क्षेत्रमा पानी पर्दा ब्यारेजमा बहाव बढ्दै गएको छ,’ हाकाहाकीसँग कुरा गर्दै प्रजिअ उप्रेतीले भने, ‘नदीको बहाव खतराको तहसम्म नपुगेपनि प्रशासन तयारी अवस्थामा छ।

सामान्यतः सप्तकोसीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको संकेत मानिन्छ।

तर, सप्तकोसी नदीकोे पहाडी भुभागमा भारी वर्षा भइरहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आह्वान गरेको छ। शाखाका अनुसार सप्तकोसीको चतरा खण्डकाे बहाव पाँच दशमलव दुई मिटर पुगेको छ।

चतरास्थित वर्षा मापन केन्द्रका अनुसार गत २४ घण्टामा सो क्षेत्रमा एक सय ४६ मिलिमिटर वर्षा मापन गरिएको छ, भने १२ घण्टामा मात्र ९१ मिलिमिटर वर्षा भएको छ। शाखाका अनुसार कन्काइ, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीको बहाब बढ्दो क्रममा छ।

महाभारत र चुरेबाट बहने विरिङ,कन्काई, कमला, खाडो, गागन, रातु, बागमती, पूर्वी राप्ति, रिउखोला, बाणगङ्गा, पश्चिम राप्ति र बबई लगायतका नदीमा बहाब सतर्कता तहसम्म पुग्नसक्ने शाखाले चेतावनी दिएको छ। ‘तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बस्ने नागरिकले आइतबार र सोमबारसम्म सतर्ककता अपनाइराखौं।’

ताजा समाचार

सम्बन्धित समाचार