Tuesday, September 24, 2024

फास्ट फास्ट ट्रयाकको नाममा खोकनामा ‘डोजर आतंक’ खडा नगरियोस् : सांसद भुसाल

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ एवं सांसद फम्फा भुसालले बुङमतीको फर्सिडोलमा काठमाडौं–तराई/मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को जिरो प्वाइन्ट र त्यहाँबाट बाहिरी चक्रपथ बनाउने समझदारी कार्यान्वयन गर्न माग गरेकी छिन्।

समझदारीविपरीत किसानले खेतमा धान पनि रोप्न नपाउने वातावरण सृजना गरिएको भन्दै ललितपुर ३ की सांसद भुसालले भनिन्, ‘डोजर लगाएर आतंक खडा गर्न काम नगरियोस्।’

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा भुसालले वस्तीको संरक्षण र ऐतिहासिक कला एवं सम्पदाको रक्षा गर्ने गरी स्थानीय जनप्रतिनिधि, रक्षामन्त्रालय र नेपाली सेनाबीच भएको ९ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्। ‘समझदारीलाई रक्षा मन्त्रालयबाट मन्त्रिपरिषद्मा लैजाने समझदारी भएको थियो, तर कार्यान्वयन भएन,’ उनले भनिन्। उनका अनुसार बजार मूल्यमा जग्गाको क्षतिपूर्ति दिने समझदारी पनि भएको थियो।

खोकनाको बसपार्कलाई केन्द्र बनाएर बाहिरी चक्रपथ बनाउँदा खोकना वस्ती संकटमा पर्ने र बुङमतीमा ल्याउँदा मच्छिन्द्रथानसहितका सम्पदामा क्षति हुने उनको भनाइ छ। तराई–मधेस जोड्ने फास्ट ट्रयाकको ७६ दशलव२ किलोमिटर दुरीमध्ये करीब ८ किलोमिटर खोकना र ३ किलोमिटर बुङमती क्षेत्रले ओगट्ने भइपछि जिरो प्वाइन्ट परिवर्तन गर्न स्थानीयले माग गर्दै आएका छन्। फास्ट ट्याक निर्माणकाे जिम्मा नेपाली सेनाले पाएकाे छ।

स्थानीय जनता र जनप्रतिनिधिबिना कर्मचारी बसेर कागजमा डिजाइन गरी योजना बनाउदा अहिले यो समस्या आएको उनको भनाइ छ। सरकारले बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गत वैशाखमा मात्र स्वीकृत गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार