Tuesday, September 24, 2024

देशैभर वर्षा, ठूला नदीको बहाब बढ्दो

काठमाडाैंमा वर्षा।

काठमाडौं– देशका प्रायः भुभागको मौसममा बदली भइ वर्षा हुन थालेपछि ठूला नदीको जलसतह पनि बढ्न थालेको छ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका अनुसार कन्काइ, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीको बहाब बढ्दो क्रममा छ।

शाखाले आइतबार बिहान ६ देखि सोमबार बिहान ६ बजेसम्मको बाढी पूर्वानुमान गर्दै भनेको छ, ‘कमला नदी जलाधारको केही स्थानहरूमा भारी वर्षा भइरहेकाले बहाब एक्कासी बढ्ने र क्रमश घट्ने अनुमान छ। तर, सतर्कता तह पार गर्ने सम्भावना न्यून छ।

तर, सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म महाभारत र चुरेबाट बहने विरिङ,कन्काई, कमला, खाडो, गागन, रातु, बागमती, पूर्वी राप्ति, रिउखोला, बाणगङ्गा, पश्चिम राप्ति र बबई लगायतका नदीमा बहाब सतर्कता तहसम्म पुग्नसक्ने शाखाले चेतावनी दिएको छ। ‘तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बस्ने नागरिकले आइतबार र सोमबारसम्म सतर्ककता अपनाइराखौं।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पश्चिम र मध्य क्षेत्रका चुरे क्षेत्रमा भारी वर्षा भएकोमा आइतबार गोरखा, धादिङ, लम्जुङ, कास्कीको केही स्थानमा भारी वर्षाको सम्भावना छ। यद्यपी, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भुभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार देशभर बदली भएको छ। ‘पानी पर्न रोकिएपनि बदली कायमै रहने सम्भावना रहेकाले मौसम खुल्ने छाँटकाट छैन,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार