Tuesday, September 24, 2024

१० प्रतिशत मात्र धान रोपाइँ, २५ प्रतिशत जमीनमा आकाशे पानीकै भर

काठमाडौं– सरकारले बिहीबार ‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ नारासहित देशभर १५ औं राष्ट्रिय धान दिवस मनायो।  असार १५ लाई धान रोपाइँ दिवस मनाउँदा देशभर ३० देखि ४० प्रतिशत जमिनमा रोपाइँ सकिसक्नुपर्ने हो।

तर, यो वर्ष १० दशमलव ५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय जनाएको छ । ‘गत वर्षको तुलनामा यो वर्षको असार १५ सम्मको रोपाइँ सन्तोषजनक मान्न सकिन्न्,’ मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले भने, ‘सबै ठाउँमा पानी परेको छैन, जसले गर्दा रोपाइँ प्रभावित बनेको छ ।’

गत वर्ष असार १५ सम्ममा देशभर २० प्रतिशत जमिनमा रोपाइँ सकिएको थियो। यो वर्ष उच्च पहाडी क्षेत्रमा २६, मध्य पहाडमा १८ दशमलव ११ र तराईमा ९ दशमलव ७४ प्रतिशत रोपाइँ भैसकेको मन्त्रालयको तथ्यांक छ । जेठको अन्तिम साता बीउ राखेपछि असार १० बाट विउ रोप्न सुरु गरिन्छ ।

विज्ञहरूका अनुसार रोपाइँका लागि सबैभन्दा उत्तम समय असार महिनालाई मानिन्छ। यो अवधिसम्म तराईका जिल्लामा बढी रोपाइँ हुने गरेको छ।धान उत्पादन बढी हुने जिल्लामा पानी नपर्दा रोपाइँ सन्तोषजनक हुन सकेको छैन। मोरङ र झापा सबैभन्दा धेरै धान फल्ने जिल्ला हो। मोरङमा ५ प्रतिशत र झापामा १ दशमलव ५ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

त्यस्तै, सप्तरी र सिराहमा १ प्रतिशत, सर्लाहीमा २, बारामा १०, रौतहटमा १ दशमलव ५ र चितवनमा ५ प्रतिशत, बर्दियामा ३४ दशमलव ६२ र दाङमा १० प्रतिशत तथा कैलाली र कञ्चनपुरमा २५ प्रतिशत धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।

सरकारले यो वर्ष १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । जसमध्ये तराई क्षेत्रमा मात्र १० लाख ९४ हजार ६ सय ३६ हेक्टरमा धानखेती हुन्छ।  नेपाललाई आगामी २ वर्षभित्र धानमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ। जसअनुसार सरकारले यो वर्ष ५५ देखि ५६ लाख र अर्को वर्ष ५८ लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य लिएको छ ।

२५ प्रतिशत जमीनमा आकाशे पानीकै भर
कृषि मन्त्रालयका अनुसार धान रोपाइँ हुने जमिनको २५ प्रतिशत जमिनमा आकाशे पानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता किसानहरुको छ।

मन्त्रालयका सूचना अधिकारी अर्यालले खेतीयोग्य जमिनमध्ये २५ प्रतिशत जमिनमा धान रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्ने बताउँछन्। उनका अनुसार खेतीयोग्य जमिनमध्ये ५० प्रतिशतमा सिँचाइको सुविधा छ।

सामान्यतया असारको १५ देखि ३० सम्म ६० प्रतिशत वर्षा भयो भने मात्र सबै ठाउँमा रोपाइँ गर्न सम्भव हुन्छ। यदि ६० प्रतिशतभन्दा कम वर्षा भएमा २५ प्रतिशत भूभागमा खेती नहुने कृषि मन्त्रलायका सूचना अधिकारी अर्यालको भनाइ छ।

सिँचाइ मन्त्रालयका सूचना अधिकारी रमेशप्रसाद पौडलका अनुसार नेपालको १७ लाख हेक्टरमा सिँचाइ पुर्याउने क्षमता छ।

१० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३० लाख ९१ हजार हेक्टर जमिनमा मात्र खेती गरिँदै आएको छ। बाँकी १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको मन्त्रालयको तथ्यांक छ।

२०४८ को राष्ट्रिय जनगणना अनुसार कृषिमा संलग्न जनसंख्या ८१ दशमलव २ प्रतिशत थिए । तर, २०६८ सालको जनगणना अनुसार ६५ दशमलव ६ प्रतिशत जनसंख्या मात्रै कृषिमा संलग्न छन्।

वर्षीनी अर्बाैको चामल आयात
सरकारले भारत, चीन, थाइल्याण्ड जापान लगायतका देशबाट वर्षेनी अर्बाैमा चामल आयात गर्दै आएको छ।
कृषिप्रधान देश नेपाल चामलका लागि अन्य देशसँग परनिर्भर हुँदै गएकोे भन्सार विभागको तथ्यांकले देखाउँछ। नेपालमै उत्पादन भएको धान नेपालकै अन्य जिल्ला तथा भारतमा समेत निर्यात हुन्थ्यो।

सरकारले चालू आर्थिक वर्ष ०७४-०७५ मा साढे २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात गरेको छ। आर्थिक वर्ष २०७३/७४ को १० महिनामा २० अर्ब २६ करोड ३६ लाख १५ हजार मूल्य बराबरको चामल आयात भएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा २५ अर्बको चामल आयात भएको छ।

चालू आर्थिक वर्ष ०७४/७५मा ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । ०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । ०७२/७३ मा ४७ लाख ८८ हजार,०७१/७२ मा ५० लाख ४७ हजार र ०७०/७१ मा ४५ लाख ४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार