काठमाडौं– नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो।
धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ। कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ। राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ।
नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ। पछिल्लो २ वर्षको तुलना गर्दा नेपालमा धानको उत्पादन घटेको छ। नेपालमा धान उत्पादनको अवस्था, धान उत्पादनमा देखिएका चुनौती ,लगायतका विषयमा हाकाहाकीकर्मी नवीन लुईटेल र शालिक भट्टले धानविज्ञ भोलामानसिंह बस्नेतसँग कुराकानी गरेका छन्। उक्त कुराकानीको सम्पादीत अंशः
तामझामका साथ राष्ट्रिय धान दिवस बर्सेनी मनाएपनि धान उत्पादन किन वृद्धि हुन सकेन?
– धान उत्पादन वृद्धि नहुनुमा एउटा मात्र कारक हुँदैन। यसमा केही कारक तत्वहरू छन्। गुणस्तरीय बीउ, रासायनिक तथा जैविक मलको उचित प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ।
धानको रासायनिक मलको प्रयोग घटाउन हरियो मल ढैँचा प्रयोग गरेर युरिया र नाइट्रोजनको मात्रा मिलाउन सक्नुपर्छ। किसानले सन्तुलित रुपमा मल प्रयोग गर्दैन। मुख्यतः नाइट्रोजन, फोस्फरस र पोटासियम हाल्नुपर्नेमा धेरै किसानले युरिया, नाइट्रोजना मात्र हालेको हुन्छ।
सिंचित धानमा त यति महङ्गो विदेशबाट आउने युरीया मल खेतमा प्रयोग गरेको हुन्छ, त्यसको ६०–७० प्रतिशत त चुहिएर, बगेर, अमोनिया ग्यास उठेर गएर खेरै जान्छ। धान खेती बढाउन माटोको उर्वराशक्ति बढाउनुपर्छ। मल, सिँचाई, बीउलाई परिचालन गरेर उत्पादन बढाउने विज्ञले भएपनि त्यस्ता विज्ञहरूको पहिचान नै हुन सकेको छैन।
विज्ञ भनेको पढेका मात्र होइनन्, जसले पढेर, परेर गरेर आएको हुन्छ त्यही विज्ञ हो। विज्ञहरू उचित सल्लाह र मार्गनिर्देश गर्न सक्नुपर्छ। धानको उत्पादन घामको प्रयोग गरेर पनि बढाउन सक्छौं। प्राविधिक रुपमा त्यसलाई सोलार रेडियसन भनिन्छ।
वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व प्रति हेक्टर प्रति दिन २० देखि २५ प्रतिशत देखिएको छ। यसैगरी धानको बीउ छान्ने तरिका लगायतबारे विज्ञहरूले सुझाव दिनुपर्छ।
–हामीले किन चामल आयात गरिरहेका छौँ ? यसलाई कसरी घटाएर लैजान सकिएला ?
२०२९ सालमा तराई क्षेत्रमा धान–चामल निर्यातका ६ वटा कम्पनी थिए। २०३८ सालमा सबै कम्पनी बन्द भए। आयात र निर्यातको पछाडि जनसंख्या मुख्य कारक हुन आउँछ। नेपालमा जनसंख्या घट्नेवाला छैन, खेती गर्ने जमिन बढ्नेवाला छैन, माटोको उर्वराशक्ति खस्कँदो छ।
त्यसैले ज्ञान, विज्ञान, अन्वेषण, प्रविधिमा आधारित खेती गरी प्रति इकाई प्रतिदिनको उत्पादकत्व बढाई बढ्दो जनसंख्यालाई घट्दो खेतीयोग्य जमिनबाट खुवाउन परेको, आयआर्जन वृद्धि गर्नु परेको जस्ता चुनौती हामीसामु आइपरेको छ । हामीले खाद्यसुरक्षा, खाद्य सम्प्रभुता, पोषण सुरक्षा, जलसुरक्षा, आयआर्जन वृद्धि र दीगोपनातर्फ विशेष गरी ध्यान दिनु परेको छ।
देशमा भूउपयोग नीति कार्यान्वयन नहुनु, प्लटिङ गरी ऊर्वरा जमिनमा पनि घर बनाउनु, जमिन बाँझो रहने, भौतिक पूर्वाधार आदि बनाउन उपयोग हुँदा ठूलो समस्या देखिएको छ। काठमाडौं उपत्यकाजस्तो राम्रो धान फल्ने जमिनमा हाल आएर घरैघर फलिरहेका छन्।
तराईमा समेत यही हविगत हुँदैछ । यस समस्यालाई गम्भीरताका साथ मनन् गरी समयमै भू–उपयोग नीति कार्यान्वयन गरी हाल्नु बुद्धिमानी ठहरिनेछ।
–कतै सिंचाईको सुविधा नहुँदा रोपाइँ गर्नै कठिन हुने स्थिति छ त कतै धेरै पानी भएर धान उत्पादनमै समस्या छ , यस्तोमा कसरी मिलाएर लैजान सकिन्छ त ?
–जलवायु परिवर्तनको खुब कुरा आएको छ। कहिले डुबान त कहिले खडेरीको समस्या नेपालले भोगिरहेका छन्। खडेरी पर्ने सम्भावना हुँदा सुख्खा ठाँउमा उम्रने खालका सुख्खा धान १, २, ३, ४ लगायत लगाउनुपर्छ। यदि डुबान हुने ठाँउ छ भने सावामसुली सववान, चेयरान सववान लगायतका धान लगाउनुपर्छ। १५ दिन पानीमा डुबे पनि ती धान सप्रिएर आउँछ।
–मकैँ, गहुँ, कोदो, फापर लगायतका खाद्यवस्तु पनि छन्, तर हामी धानमा परनिर्भर छौँ । धानको आयात घटाएर लैजान र देशमा धान उत्पादन बढाउन अन्य खाद्यवालीलाई कसरी लैजानुपर्छ ?
भात मात्रै खाने भाते मानसिकता छोडेर अरु खाद्यान्न पनि खाने बानी बसाल्नुपर्छ। जुन स्थानमा जुन खाद्यान्नको संभावना बढी छ त्यही लगाएर जानुपर्छ।
–धान उत्पादन घट्नुमा मुख्य कारण के होला ?
बीउ, सिंचाइ, प्रविधि र विज्ञको अभाव नै प्रमुख कारण हो। आर्थिक वर्ष २०७४/२०७५ मा नेपालमा १४ लाख ६९ हजार हेक्टरमा धानखेती भई साढे ५१ लाख मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार ५ सय ६ किलोग्राम प्रतिहेक्टर रहेको थियो।
गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन १ दशमलव ४९ प्रतिशतले न्यून देखिएको छ। आर्थिक दृष्टिकोणले भन्ने हो भने नेपालमा धान उत्पादन एक खर्ब रूपैयाभन्दा बढीको उत्पादन हुने गर्छ। आर्थिक वर्ष २०७३/२०७४ मा १५ लाख ५२ हजार हेक्टरमा धानखेती भई ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो।
धानविज्ञ बस्नेतले अन्र्तराष्ट्रिय धान बाली अनुसन्धान संस्थामा अढाई वर्ष फिलिपिन्समा धानकै विषयमा अध्ययन गरेका हुन् । होष्टेलमा बसेका उनले स्नातकोत्तरका क्रममा धानकै सोधकार्य गरेका थिए।
जापानमा दश महिना धानकै विषयमा तालिम लिएका छन्। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा करिब ९ सय रोपनीको फार्ममा ५ वर्ष फार्म म्यानेजर भएर काम गरिसकेका छन्।
धानविज्ञ बस्नेतसँगकाे भिडियाे अन्तर्वार्ता :